+
+
Shares

खाने तेलको मूल्य लिटरमै २० रुपैयाँ बढ्यो

नवीन ढुंगाना नवीन ढुंगाना
२०७७ वैशाख ५ गते १४:४८

५ वैशाख, काठमाडौं । देशव्यापी लकडाउन चौथो हप्तामा चलिरहँदा दैनिक उपभोग्य वस्तुहरूको खासै अभाव सिर्जना भएको छैन । एकाध वस्तुमा सामान्य मूल्यवृद्धि भएको छ । जसमध्ये एक हो खाने तेल ।

केही दिनयता विभिन्न ब्राण्डका खानेतेलको मूल्य लिटरमा १० देखि २० रुपैयाँसम्म बढेको खुद्रा विक्रेताहरूले बताएका छन् । फ्याक्ट्रीबाटै मूल्य बढेर आएको उनीहरूको भनाइ छ भने उद्योगहरूले चाहिँ ढुवानी खर्चमा भएको वृद्धिलाई कारण देखाएका छन् ।

सनफ्लावर रेगुलरको एक कार्टुनको मूल्य चैत १० गतेसम्म १४ सय ५० रुपैयाँ थियो । एक लिटरको तेललाई खुद्रा व्यापारीले प्रतिलिटर एक सय ४५ रुपैयाँमा होलसेलबाट किनेर एक सय ५० रुपैयाँमा ग्राहकलाई बिक्री गर्थे । तर, अहिले उक्त तेलको मूल्य एक लिटरमा १० देखि १५ रुपैयाँ बढेर आएको खुद्रा व्यापारी ध्रुव अधिकारीले बताए ।

उनका अनुसार चैत्र १० सम्म एक सय ५० रुपैयाँमा बिक्री गरेको तेलको मूल्य अहिले एक सय ७० रुपैयाँ पर्छ ।

अर्का खुद्रा व्यापारी सुमन सिटौलाका अनुसार तोरी र सोयाबिनको तेलमा पनि मूल्यवृद्धि भएको छ । लकडाउन सुरु हुनुअघि एक सय ४५ रुपैयाँ लिटरमा पाइने तेलको होलसेल मूल्य अहिले एक सय ६० रुपैयाँ पुर्‍याइएको सिटौलाले बताए ।

यस्तै, तोरीको तेलमा पनि प्रतिलिटर १५ रुपैयाँ मूल्य बढेको छ । प्रतिलिटर दुई सय १० रुपैयाँमा पाइने तेलको अहिले होलसेलले दुई सय २५ रुपैयाँ पुर्‍याएको उनले बताए ।

किन बढ्यो मूल्य ?

काठमाडौं लगायतका सहरमा तेल लगायत खाद्य वस्तुमा विनाकारण मूल्य बढेको भन्दै नेपाल चामल तेल दाल उद्योग संघले आपत्ति जनाएको छ । संघका अध्यक्ष सुवोध गुप्ताले भने, ‘किलोमा वा लिटरमा एक दुई रुपैयाँको अन्तर हुन सक्छ तर १० वा १५ रुपैयाँको मूल्यवृद्धि अस्वभाविक छ ।’

खाद्यान्नको मौज्दात प्रशस्त रहेको भन्दै उनले अस्वभाविक मूल्यवृद्धि गर्नेलाई संघले छानबिन गर्ने र सरकारले पनि अनुगमन बढाउनु पर्ने सुझाव दिए ।

खुद्रा बिक्रेतालाई खाद्य वस्तु उपलब्ध गराउने होलसेल व्यवसायीले भने तेल लगायतका वस्तुमा मूल्य बढ्नुको कारण ढुवानी भाडालाई देखाएका छन् । लकडाउनका बेला काठमाडौंसम्म आउन ट्रक लगायतका ढुवानीकर्ताहरूले बढी भाडा लिने गरेको त्यो रकम वस्तुमा जोडिने गरेको होलसेल व्यापारीहरूको संगठन खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले बताए ।

‘सामान ढुवानीका लागि ट्रक नै पाइन्न, पाइहाले पनि काठमाडौंबाट रित्तै फर्कनु पर्ने भन्दै बढी भाडा माग्छन्,’ अध्यक्ष श्रेष्ठले थपे, ‘नाफाखोरी गर्न मूल्य बढाइएको नभइ ढुवानी बढेर थोरै मूल्य तलमाथि मात्रै भएको हो ।’

लोडर श्रमिकहरू पाइन छोडेको, पाइएका श्रमिकले पनि बढी पैसा लिएको तथा उपत्यकामा सामान ढुवानी गर्ने साना गाडीले पनि बढी पैसा लिने गरेको उनको भनाइ छ ।

खुद्रा व्यापारीको गुनासो

खुद्रा व्यवसायीहरू भने माथिबाटै मूल्यवृद्धि भएर आउँदा उपभोक्ताले भने आफूहरूलाई दोष दिने गरेको गुनासो गरेका छन् ।

काठमाडौं महानगरपालिका १६ वनस्थलीमा पसल गरिरहेका सुमन सिटौलाले भने, ‘तोरी, सोयाबिन तथा सनफ्लावरको तेलमा मैले नै मूल्य बढाएको भनेर उपभोक्ताले चोरलाईझैं नाक खुम्च्याएर हेर्छन् ।’

बालाजु क्षेत्रमा व्यापार गर्ने ध्रुव अधिकारीको पनि गुनासो उस्तै छ । खुद्रा व्यापार गर्ने उनको पसलमा पछिल्लो १० दिनमा खानेतेलको बढेको मूल्य होलसेलले पठाएको छ ।

नेपाल खुद्रा व्यापार संघका कार्यसमिति सदस्यसमेत रहेका अधिकारी भन्छन् ‘बजारमा ठूलो माग पनि छैन र अभाव पनि छैन । तर, होलसेलले मूल्य बढाएर पठाएको छ । किन मूल्य बढ्यो भनेर उपभोक्तालाई जवाफ दिन सकिएको छैन ।’

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?