+
+
Shares

सरकारलाई रास्वपा सांसद्को प्रश्न : १ किलो नुन-तेलको भन्सार तिर भन्नु कति न्यायोचित हुन्छ ?

उनले गुजाराका लागि ल्याइएका सामानमा पनि भन्सार भन्न थालिएको प्रति आपत्ति जनाए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १८:०२

२२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद टेक बहादुर शाक्यले केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र पर्सा ४ मा नाकामा जनता र सशस्त्र प्रहरी बीच झडप भएको खबर प्राप्त भएको बताएका छन् ।

‘त्यो झडप झनै बढ्दै जाने जस्तो देखिन्छ’ सोमबार संसद्मा बोल्दै उनले भने, ‘मेरो निर्वाचन क्षेत्रको हन्ड्रेड पर्सेन्ट अर्थात ६८ किलोमिटर छिमेकी मुलुक भारतसँग खुल्ला सिमा छ ।’

जहाँ कुनै छोटी भन्सार सुचारु छैन । भएका पनि बन्द अवस्थामा छन् ।

‘सदियौँदेखि सामान्य घर खेत चुलोमा प्रयोग हुने, खानपान नुन तेल र बिउ बिजन दुई देश दुई देश बीचको हार्दिक सम्बन्ध, बिहेबारी रोटी बेटीको सम्बन्ध अत्यन्तै हृदय स्पर्शी छ, रहने नै छ । तर आज ती सिमाको रक्षा गरेर बसेका जनता त्रसित भएका छन्, आन्दोलित भएका छन्’ उनले भने ।

उनले गुजाराका लागि ल्याइएका सामान भन्सार भन्न थालिएको भनेर यसप्रति प्रश्न उठाए ।

‘दैनिक गुजाराको लागि ल्याइएको १ किलो नुन, १ किलो तेल भन्सार गर्न ६८ किलोमिटर टाढा वीरगञ्ज भन्सारमा जा भन्नु कति न्याय न्यायोचित हुन्छ ?’ उनले प्रश्न गरे ।

साथै उनले भारतीय नम्बर प्लेटका सवारीको विषय पनि उठाए ।

‘पर्सामा हाराहारी ५ हजार मोटरसाइकल र ४ सय जति चार पांग्रे गाडी भारतीय नम्बर प्लेटका छन्, जुन केही खरिद गरेका र अधिकांश बिहेबारीमा प्राप्त भएको तथ्यांक छ’ उनले भने ।

दैनिक रुपमा नेपाल घुम्न आउने पर्यटकका गाडी र बिहेबारी नाता सम्बन्धमा आउने भारतीय प्लेटका साधनहरु आगमनमा अवरोध भएको भनेर पनि उनले सरकारको ध्यानाकर्षण गरे ।

उनले भनेका छन्, ‘म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, पर्यटक रोकेर हामीले दैनिक लाखौँ राजस्व गुमाइरहेका छौँ ।’

भन्सार महसुल ऐन २०८१ को अनुसूची ५ मा अस्थाई पैठारी भएका साधन नजिकको बजार सम्म पुगी प्रवेश गरेकै दिन फर्कने भएमा कुनै शुल्क लाग्ने छैन भनिएको उनले स्मरण गराए । यस निम्ति भन्सार कार्यालयबाट इन्ट्री निसा लिनुपर्ने छ भनिएको सुनाए ।

उनी अगाडि थप्छन्, ‘यसर्थ मेरो क्षेत्रमा बन्द अवस्थामा रहेको ठोडी छोटी भन्सार, जानकी टोला भन्सार र भिस्वा छोटी भन्सार तुरुन्तै खोली कार्य खोल्ने कार्य गरी जनताको दैनिक गुजाराको सहजीकरण र सवारी साधनको इन्ट्री निसा पत्रको व्यवस्थापनको निमित्त सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

यहाँनेर उनले सरकारले मधेसलाई बुझोस् भनेर पनि आग्रह गरेका छन् ।

‘सभामुख महोदय म पर्सेली जनताको साथमा छु, रहन्छु । ३६ वर्ष मधेसले नेता मात्रै बोक्यो, अब यो सरकारले मधेसलाई बुझोस्, बोकोस् ध्यानाकर्षण गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?