Comments Add Comment

राहत वितरणस्थलमा ढुंगा हानाहान, २ जना घाइते

५ वैशाख, वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकामा राहत वितरणका क्रममा असन्तुष्ट पक्षको ढुंगा प्रहारबाट दुई जना घाइते भएका छन् ।

गाउँपालिकाको वडा नं ३ को झलमैया टोलमा राहत वितरणको क्रममा ढुंगा प्रहार भएको हो । विपन्नलाई राहत वितरणमा छोडेको भन्दै भएको ढुंगा प्रहारबाट स्थानीय विनोद साह र चन्द्रिका साह घाइते भएका हुन् ।

विनोदको गर्धन र चन्द्रिकाको टाउकोमा चोट लागेको छ । उनीहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

राहत वितरणका क्रममा असन्तुष्ट मानिसहरुले लुकेर ढु्ंगा प्रहार गर्दा उनीहरुलाई चोट लागेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।

‘छनोटमा परेकाहरुलाई गाउँपालिकाले राहत वितरण गरेको रहेछ’ उनले भने ‘झडप भएको त होइन, असन्तुष्ट मानिसहरुले ढुंगाले हान्दा दुई जना घाइते भएका हुन् ।’

अति विपन्न र विपन्न परिवारका कोही राहत वितरणमा छुटेको भए नाम पेश गर्न आग्रह गरेपछि स्थिति बिग्रन नपाएको उनी बताउँछन् ।

पाँच वटा वडामा सर्वदलीय समितिबाट नामावली संकलन गरेर झण्डै १७ सय परिवारलाई राहत वितरण गर्ने गाउँपालिकाको तयारी छ । शुक्रबार वडा नं ३ को झलमैयामा एक सय ३० जना ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने विपन्न परिवारलाई राहत वितरण गर्न लागिएको थियो ।

राहत वितरणकै क्रममा विरोधीहरुले बिथोल्ने उद्देश्यले ढुंगा प्रहार गरेको गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले बताए

‘खानै नपाउने अवस्था थियो भने आएर भन्नुपर्छ, लुकेर ढुंगा हान्ने कार्य निन्दनीय छ’ अध्यक्ष गुप्ताले भने ‘गाउँपालिकाले दुईवटा हेल्पलाइन नम्बर दिएको छ । प्रहरी चौकीमा जानकारी गराउँदा हुन्छ । तर यहाँ राजनीतिक स्वार्थ पूरा गर्नका लागि ढुंगा हान्ने षड्यन्त्र भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment