Comments Add Comment

उपत्यका नगरपालिका फोरमले भन्यो-खानाको समस्या भए ११८० र ११३१ मा फोन गर्नुस्

५ वैशाख, काठमाडौं । लकडाउनका कारण समस्यामा परेपछि मजदुरहरु लामो दूरीका गन्तब्यसम्म पनि हिँडेरै जाने क्रम बढेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समस्या समाधानका लागि पहल थालेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयस त्रिपाठीले शुक्रबार काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीलाई बोलाएर खान नपाएर बाहरिन बाध्यहरुलाई रोक्ने गरी कदम चाल्न निर्देशन दिए । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट पनि सहभागी थिए ।

सो बैठकपछि उपत्यका नगरपालिका फोरम काठमाडौँले उपत्यका नछाड्न आग्रह गरेको छ । उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुख, उप-प्रमुखहरु संलग्न नगरपालिका फोरमले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

‘कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन जारी राखेको छ । हामी यो लकडाउनको पूर्ण समर्थन गर्दछौँँ,’ नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘लकडाउनका बेला एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान समेत प्रतिवद्ध गरेको अवस्थामा तपाईँहरु जो जहाँ रहनु भएको छ, त्यहि सुरक्षित बस्नुहोला ।’

प्रमुख शाक्यले उपत्यकामा रहेका अतिविपन्न, असाहय र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई भोकै पर्न नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।

‘अहिले दैनिक दर्जनौँ मानिस भोकभोकै पर्न थालेपछि उपत्यका छाड्न थालेको भन्ने समाचार विभिन्न सञ्चार माध्ययमबाट सम्प्रेषित भइरहेका छन् । ती समाचारप्रति हाम्रो ध्यान पुगेको छ,’ प्रमुख शाक्यले भने, ‘नगरपालिका फोरमको अध्यक्ष र काठमाडौँ महानगरपालिकाको प्रमुखको हैसियतले उपत्यकावासीलाई भन्न चाहन्छु । तपाईँहरुलाई केही समस्या छ भने उपत्यकाका सबै नगरपालिकाहरुको वडा कार्यालयमा सम्पर्क गर्नुहोला । ‘

मेयर शाक्यले राहतको व्यवस्था गर्न तयार रहेको र कतै भोकै परेको जानकारी छ भने टोल फ्रि  नं. ११८० र ११३१ मा जानकारी दिए समाधान गरिने बताए ।

उनले उपत्यकाबाहिर रहेकाहरुलाई पनि लकडाउन अवधिभर उपत्यकाभित्र प्रवेश नगरिदिनुहुन आग्रह पनि गरे । ‘तपाईँहरु जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित रहनुहुन अनुरोध छ,’ उनले भने, ‘हामी सबै मिलेर लकडाउनको पूर्ण पालना गर्न सक्यौँ भनेर मात्रै कोरोना नियन्त्रण र रोकथाम गर्न सक्छौँ ।’

मध्यपुर थिमी नगरका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले पनि विज्ञप्ति जारी गर्दै सबैलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।

‘यस्तो प्रतिकुल अवस्थामा पनि काठमाडौँ उपत्यका छाडी सयौँ किलोमिटर पैदलयात्रा गरी आˆनो घर जाने र बाटोमा दुःखकष्ट भोगिरहेका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका कारण सिर्जना भएको जटिल परिस्थितिमा स्थानीय सरकारहरुले आ-आफ्नो क्षमताले भ्याएसम्म परिचालित भई रासन वितरण तथा अन्य प्रयास गरिरहेका छन् उपत्यकामा रहेका असाहय, अतिविपन्न र बेरोजगारले खानाको अभावमा बस्नु नपरोस भनेर राहत वितरण गरेको विदितै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

पूजाको आक्रोश

Advertisment