Comments Add Comment

निको भएकाहरुलाई पनि हुनसक्छ कोरोना संक्रमण ?

६ वैशाख, काठमाडौं । दक्षिण कोरियाका स्वास्थ्यकर्मीहरु अहिले एक रहस्य समाधान गर्ने प्रयासमा छन् । कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) काअनुसार निको भइसकेका १६३ जनामा पुनः कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस्तै तथ्यांक चीनमा पनि देखिएको छ । केही कोरोना भाइरसका निको भएका केहीमा पुनः संक्रमण देखिएको छ । यद्यपि आधिकारिक रुपमा भने चीनले यसको तथ्यांक सार्वजनिक गरेको छैन ।

त्यसो भए के कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएर निको भइसकेकाहरुमा फेरि संक्रमण देखिन सक्छ ? अहिले यो प्रश्न धेरैको चासोको विषय बन्न पुगेको छ ।

दक्षिण कोरियामा पुनः संक्रमित हुनेको संख्या निकै कम छ । अहिलेसम्म सात हजार ८२९ जना संक्रमित निको भएकोमा दुई दशमलव १ प्रतिशतमा पुनः संक्रमण देखिएको छ । र, यसरी संक्रमित भउका ४४ प्रतिशतमा सामान्य संक्रमण देखिएको छ ।

केसीडीसीका निर्देशक क्वोन जून वूक अहिलेसम्म यसरी निको भएर पुनः संक्रमण देखिएका मानिसमा कसरी संक्रमण देखिएको हो भन्ने कुरा स्पष्ट नभएको बताउँछन् । अझै पनि वैज्ञानिकहरुले कोरोना भाइरसको विषयमा प्रतिरोधी क्षमतासँग सम्बन्धित लगायतका धेरै विषय पत्ता लगाउन सकेका छैनन् ।

भाइरसको अवशेष ?

निको भइसकेकाहरुमा अहिले पुनः संक्रमण भेटिनुको एक कारण उनीहरुमा भाइरसको अवशेष केही मात्रामा बाँकी रहेको हुनसक्ने देखिन्छ । अहिले केसीडीसी निको भइसकेपछि पनि पुनः संक्रमण देखिएका एउटै परिवारका तीन जनामा अध्ययन गरिरहेको छ ।

चिनियाँ श्वासप्रश्वास विशेषज्ञ झोङ नान्शाङ कोरोना भाइरसबाट निको भइसकेपछि पनि शरीरमा देखिने अवशेषको कारण पुनः संक्रमण देखिएको हुन सक्ने बताउँछन् । ‘म यो विषयमा त्यति धेरै चिन्तित छैन’, उनले भने ।

अन्य कारण के छन् ?

निको भइसकेका मानिसमा पुनः संक्रमण देखिने विषयमा विभिन्न किसिमका तर्कहरु छन् । त्यसमध्ये केहीले परीक्षणको मेसिनमा खराबी आएको हुन सक्ने बताएका छन् भने केहीले शरीरमा रहेको कोरोना भाइरस पुनः सक्रिय बनेको हुनसक्ने बताएका छन् ।

तर विशेषज्ञहरु परीक्षण किटको खराबीमा धेरै विश्वास गर्दैनन् । र, थप अध्ययनमा जुटेका छन् ।

पुनः संक्रमित भेटिएका बिरामीले रोग सार्न सक्छन् ?

केसीडीसीका निर्देशन क्वोन अहिलेसम्म पुनः संक्रमित भेटिएका मानिसबाट अर्को मानिसमा संक्रमण सरेको प्रमाण नभेटिएको बताउँछन् । अहिलेको अवस्थामा पुनः संक्रमित भेटिएका बिरामी रोग सार्ने मामिलामा त्यति जोखिमपूर्ण नरहेको उनको भनाइ छ ।

तर आवश्यक सतर्कता भने अपनाउन जरुरी रहेको विशेषज्ञहरु बताउँछन् । केसीडीसीले निको भएर घर फर्किने मानिसलाई १४ दिन क्वारेन्टाइनमा बस्न सुझाव दिएको छ ।

एन्टिबडीको अर्थ के हो ?

कुनै पनि संक्रमित निको हुँदै गर्दा उसको शरीरले त्यसको एन्टिबडी उत्पादन गर्छ । यो भाइरसविरुद्ध लड्न सक्ने प्रतिरोधी क्षमता हो । यसले पुनः भाइरसको संक्रमण हुनबाट बचाउँछ । तर निको भइसकेका मानिसमा पुनः कोरोना भाइरसको संक्रमण देखिनुले भने यसले कसरी काम गर्छ भन्ने विषयमा आशंका जन्मिएको छ ।

यस विषयमा अनुसन्धान गर्न केसीडीसीले चार सय निको भएर घर फर्किएका बिरामीमा अनुसन्धान गरिरहेको छ ।

यो अनुसन्धान पूरा हुन केही साता लाग्ने बताइएको छ । यो अनुसन्धान पूरा भएपछि कोरोना भाइरस कोभिड–१९ बारे थाहा नभएका धेरै कुरा थाहा हुन सक्ने बताइएको छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment