
यसअघिका विभिन्नखाले संकटमा अन्य पेसा व्यवसायका मानिसहरूलाई समस्या पर्ने गरेता पनि एउटा पेसाचाहिँ तुलनात्मक रूपमा राम्रो विकल्पको रूपमा रह्यो । त्यो पेसा हो, यौन ।
तर अहिले जारी कोरोना भाइरसको महामारीका कारण सबैभन्दा संकटमा परेको पेसा नै यौन बनेको छ । कोरोना महामारीका कारण यौनकर्मीहरू पूर्ण रूपमा बेरोजगार बन्नु परेको छ ।
अमेरिकामा मात्रै झण्डै १० लाख पेशेवर यौनकर्मी छन् । पछिल्लो एक महिनादेखि अमेरिकी यौनकर्मीहरूले ग्राहक पाएका छैनन् । यौन व्यवसाय ठप्प छ । सामाजिक दूरीको पालना तथा संक्रमणको डरका कारण अनौपचारिक रूपमा हुने कामधन्दा पनि रोकिएको छ ।
अमेरिकामा यसरी बेरोजगार बन्ने यौनकर्मीहरूमा केवल महिला यौनकर्मी मात्र होइनन् ठूलो संख्यामा पुरुष यौनकर्मीहरू पनि छन् ।
अमेरिकामा मात्र होइन बेलायतमा पनि हजारौँ यौनकर्मीहरू बेखर्ची हुने अवस्था आएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् । बेलायतमा यौनकर्मीहरूले आफूहरू बेरोजगार बनेको भन्दै सरकारसँग आर्थिक सहयोगको माग गरेका छन् ।
यौन व्यवसायमा संलग्न व्यक्तिहरू ठूलो संख्यामा रहेका युरोपेली मुलुकहरू फ्रान्स, जर्मनी तथा स्पेनमा समेत वेश्यालयहरू बन्द हुँदा लाखौं यौनकर्मीहरू कामविहीन बनेका छन् ।
विश्लेषकहरूका अनुसार विश्वको सबैभन्दा पुरानो पेसा मानिने यौन पेसालाई तथा यौन पेसा अँगाल्ने मान्छेहरूलाई कोरोना भाइरसको महामारीले ठूलो संकटमा पारिदिएको छ ।
कोरोना भाइरसको महामारी अन्त्य हुन अझै लामो समय लाग्ने र महामारी निर्मूल नभएसम्म यो यौन व्यवसाय पूर्ववत् रूपमा सञ्चालन नहुने भएकाले विश्वका करोडौं यौनकर्मीहरू पेसाबाटै पलायन हुने अवस्था आउनेछ । त्यस्तै अर्बौं डलर आर्थिक योगदान गर्ने यौन व्यवसाय थला परेसँगै यो क्षेत्रबाट ठूलो आम्दानी गर्ने देशहरूको अर्थतन्त्रमा समेत उल्लेख्य असर पर्ने बताइएको छ ।
एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया 4