
७ वैशाख, काठमाडौं । पैदल हिँडेर गाउँ जान खोज्नेहरु थानकोटस्थित त्रिभुवन पार्कमा रोकिएका छन् । आइतबार घर जाने भन्दै थानकोट क्षेत्रमा पुगेकाहरुलाई प्रहरीले रोकेको हो । उनीहरुलाई आइतबारको रात त्रिभुवन पार्कमै राखिने भएको छ ।
शनिबार पैदल हिँडेर थानकोट पुगेका तीन सय जनालाई चन्द्रागिरि नगरपालिका र नेकपा सांसद अञ्जना विशंखेको अगुवाईमा बस चढाएर घरतर्फ पठाइएको थियो । तर आइतबार जान पाइने आशामा थानकोट क्षेत्रमा पुगेकाहरु रोकिएका हुन् ।
प्रहरीले माथिको आदेश भन्दै आइतबार घरतर्फ जान दिएन ।
आइतबार पनि करिब ३०० जना थानकोटमा रोकिएका छन् । प्रदेशसभा सांसद रमा आलेले भनिन्, ‘त्रिभुवन पार्क जाउ, बस चढेर घर जान पाइन्छ भन्ने अर्थमा बुझेर मानिसहरु आएपछि आज सबैलाई त्यहीँ रोकिएको हो ।’
यसरी रोकिएकामध्ये नजिक कोठा भएकाहरुलाई फर्काइएको छ भने १७६ जनालाई राति त्यहीँ राखिनेछ ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएर जो जहाँ छन्, त्यही रोक्नु र खान नपाएको भए राहत पुर्याउनु भन्ने निर्देशन दिएका थिए ।
प्रतिक्रिया 4