Comments Add Comment

उदयपुरमा भेटिएका १३ कोरोना संक्रमितको ट्राभल हिस्ट्री शंकास्पद !

तीन जिल्ला भ्रमण गरेको प्रहरीको प्रारम्भिक रिपोर्ट

फाइल तस्वीर

७ वैशाख, विराटनगर । उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा भेटिएका १३ जना कोरोना संक्रमितको यात्रा विवरण (ट्राभल हिस्ट्री) शंकास्पद देखिएको छ ।

स्थानीय प्रशासनको जानकारीविना उदयपुरको त्रियुगा नगरपालिका-३ पुगेका मुस्लिम धर्मगुरुमा संक्रमण देखिएपछि प्रहरीले ट्राभल हिस्ट्रीको खोजी थालेको छ । तर, तीन दिनयता प्रहरीले हिस्ट्री सार्वजनिक गर्न सकेको छैन । मौखिक रुपमा सार्वजनिक गरिएका ट्राभल हिस्ट्री पनि शंकास्पद छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार उनीहरू २५ मंसिरमा दिल्लीबाट जोगवनीसम्म आएको टिकट भेटिएको छ । तर, उनीहरू विराटनगरको रानीहुँदै सुनसरी, सप्तरी हुँदै उदयपुर पुगेको ठोस प्रमाण छैन ।

प्रहरी उपरीक्षक बुढामगरका अनुसार उनीहरूले १ चैतमा उदयपुर पुगेको बयान दिएका छन् । ठाउँठाउँका मस्जिदमा बस्दै पैदल उदयपुर पुगेको उनीहरूले बताएका छन् । ‘ठेलामा सामान राखेर पैदल उदयपुर आएको देखिन्छ’ उनी भन्छन् ‘१२ चैतमा पहिलोपटक मस्जिद अनुगमन गर्दा १६ जना नै भेटिएका थिए ।’ उनीहरूले प्रयोग गरेको ठेला पनि मस्जिदमा नै भेटिएको छ ।

संक्रमितहरूको बयानअनुसार मोरङका ३, सुनसरीका ४ सप्तरीका ३ मस्जिद हुँदै उदयपुर पुगेका हुन् । उदपुरको एउटा मस्जिदको बसाइँपछि हाल संक्रमण भेटिएको स्थान पुगेका हुन् ।

ट्राभल हिस्टी अनुसन्धान गरिरहेका प्रहरी अधिकृतका अनुसार कहाँ कति दिन बसेको पनि जमातीले स्पष्ट जानकारी गराउन सकेका छैनन् ।

प्रहरीसँगको बयानमा माघ २ गते विराटनगरको बलुवाहीबाट दुहबी गएको बताएका छन् । दुहबीबाट कुसाहा भोक्राहा पुगेका छन् । भोक्राहाबाट भाण्टाबारी र भाण्टबारीबाट ४ फागुनमा सप्तरी गएको बताएका छन् । सप्तरीमा भएको मुस्लिम समुदायको धार्मिक भेलामा सहभागी भएर १३ फागुनमा सप्तरीकै फत्तेपुर पुगेका थिए ।

‘ट्रभल हिस्टी शंकास्पद छ । हामी अध्ययन गर्दैछौँ’ प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी सुमनकुमार तिम्सिनाले अनलाइनखबरसँग भने, ‘पहिले नै आएको भए कोरोना कसरी देखियो ?’

जमातीले यात्रा गरेका जिल्लाहरू प्रहरीले सूक्ष्म रुपमा अध्ययन गरिरहेको उनले बताए । जमातीले ट्राभल हिस्ट्रीका बारेमा प्रहरीलाई स्पष्ट जानकारी नगराएको उनको भनाइ छ । संक्रमितले नै स्पष्ट नभएका कारण प्रहरीले आफैँ अनुसन्धान सुरु गरेको हो ।

जमातमा हिँडेकाहरूलाई कोरोना संक्रमण कसरी ?

१२ भारतीय जमातीले विराटनगर आएको भनेको समयमा भारतमा कोरोना संक्रमण देखिएको थिएन । तर, नेपाल प्रवेश गरेकोहरूलाई चार महिनापछि कोरोना कसरी संक्रमण भयो ? कोसी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ड डा. संगीता मिश्रा कोही संक्रमितसँग भेट भएको हुनसक्ने बताउँछिन् ।

प्रदेश १ सहित तराईका आठ जिल्लामा जमातीको अध्ययन गर्ने रानी मर्कजका सचिव बब्लु मियाँकाअनुसार ६ मंसिरमा विराटनगर आएका जमातीको १४ अप्रिलमा दिल्ली फर्कने टिकट थियो । तर, लकडाउनका कारण उनीहरू उदयपुरमा नै रोकिए।

‘जमातीको काम आफ्नो समुदायको घरमा पुगेर धर्मको ज्ञान बाँड्ने हो’ बब्लु भन्छन्, ‘समुदायका सदस्यहरूको घर जाँदा कोही एकमा संक्रमण भएर मस्जिदमा बस्ने जमातीमा फैलिएको हुनसक्छ ।’

१६ जनाको टोलीमा विराटनगर महानगरपालिका– १७ का चार जना थिए । तर, सरकारी अधिकारीहरूले भने जमातीहरू भारतको दिल्लीस्थित निजामुद्दीनमा भएको धार्मिक सभामा आफैँ सहभागी भएको वा त्यहाँ सहभागीहरूको सम्पर्कमा पुगेको हुन सक्ने आशंका गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सारीमै हट वर्षा

Advertisment