Comments Add Comment

‘आयातीत मजदुर’ले भरिएको फिजीका केही रोचक तथ्य

हामीकहाँ फिजीकरण भन्ने शब्दावली निकै चर्चित छ, खासगरी राजनीतिमा । प्रशान्त महासागरको दक्षिणी भागमा अवस्थित टापु राष्ट्र फिजीले आफ्नो पहिचान गुमाएर कसरी भारतीयकरण भयो भन्ने कुराको बुझाउनका लागि फिजीको उदाहरण दिइन्छ ।

नदिइयोस् पनि किन ? यो मुलुकको पहिचान नै ‘मिनी इण्डिया’मा परिणत भएको छ ।

फिजीमा ३७ प्रतिशत अर्थात् झण्डै ८ लाख ४० हजार मानिस भारतीय मूलका छन् । सन् १९६६ सम्म त फिजीमा आधाभन्दा धेरै जनसंख्या भारतीय मूलका मानिसहरुको थियो र स्थानीय रैथाने मानिसहरु अल्पमतमा थिए ।

त्यहाँको राष्ट्रिय भाषामध्ये एक हिन्दी हो जुन अवधिको रूपमा विकसित भएको छ ।

वन, खनिज तथा जलस्रोतमा धनी देश फिजी प्रशान्त महासागरीय टापु राष्ट्रमा सबैभन्दा धनी देश मानिन्छ ।

बेलायतले सन् १८७४ मा उक्त फिजीमा उपनिवेश कायम गरेको थियो । त्यसपछि बेलायतले नै उखुबारीमा काम गर्नका लागि हजारौं भारतीय मजदुरहरुलाई फिजी पुर्याएको थियो ।
पाँच सालको करार नाम गराएर फिजी पुर्याइएका भारतीय मजदुरहरुलाई ब्रिटिस शासकले एउटा सर्त तेर्साएको थियो । पाँच वर्षपछि उनीहरु भारत फर्किन पाउनेछन् । तर फर्किने खर्च आफैं व्यहोर्नुपर्नेछ । तर यदि थप पाँच वर्ष काम गरेमा बेलायती जहाजले उनीहरुलाई निःशुल्क रूपमा भारत फिर्ता गरिदिनेछ ।

यस्तो शर्तका कारण अधिकांश मजदुरहरुले पाँच वर्षपछि पनि थप पाँच वर्ष फिजीमा काम गर्ने निधो गरे । तर समय बित्दै जाँदा उनीहरु भारत फर्किन पाएनन्/चाहेनन् । फिजीमै बसोबास गर्न थाले । त्यस्तै सन् १९२० देखि १९३० सम्मको अवधिमा थप हजारौँ भारतीयहरु स्वेच्छाले भारतबाट फिजीमा गएर बसेका थिए ।

टापु समूहको रुपमा रहेको फिजीमा कूल ३२२ टापु छन् । जसमध्ये १०६ टापुमा स्थायी रुपमा मानव वस्ती छ । यहाँका दुई प्रमुख टापु भिती लेभु र भनुवा लेभु हुन् । जसमा देशको कूल जनसंख्याको ८७ प्रतिशत मानिस बसोबास गर्दछन् ।

फिजीका अधिकांस टापुको निर्माण १५ करोड वर्षअघि ज्वालामूखी विस्फोटका कारण भएको ठानिन्छ । अहिले पनि कतिपय टापुमा ज्वालामूखी विस्फोट भई नै रहेको छ ।

ठूलो संख्यामा भारतीय मूलका हिन्दु मानिसहरु भएका कारण फिजीमा कैयन् हिन्दु मन्दिर छन् । फिजीको कूल जनसंख्याको २८ प्रतिशत मानिसले हिन्दु धर्म मान्दछन् ।

इतिहासकारहरुका अनुसार प्राचीन फिजीमा निकै खतरनाक नरभक्षी आदीवासीहरु बस्दथे । उनीहरुले युद्धमा मर्ने मानिसहरुको मासु खान्थे ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment