Comments Add Comment

तल सेती सुसाउँछ, माथि काकाभतिजको मन

घरबेटीले कोठाबाट निकालिदिएपछि १५ दिनदेखि सडकमै

७ वैशाख, पोखरा । गहिरो गल्छी छिचोलेर सेती सुसाउँदै बगिरहेको छ। सुसाउँदै बगिरहेको नदी हेर्दै नवीन र उनका काका श्री गुरुङको दिन बितिरहेको छ । नदी आफ्नो बेगमा दौडिरहेको छ । तर, उनीहरू त्यहीँ छन्, आफ्ना भोक दबाएर बसेका छन् ।

नदीमाथि एउटा पौवा छ । ओतमात्र लाग्न मिल्ने त्यो पौवामा काकाभतिज बस्न थालेको तीन दिन भयो । भोकले च्यापेपछि बेलाबेला गुरुङ, काकासामु आग्रह भाव प्रकट गर्छन्, ‘जाऔँ काका आफ्नै गाउँ हिँडेर, यहाँ भोकले मरिएलाजस्तो छ ।’

अधबैँशे काका श्री गुरुङलाई पनि झोंक त नचल्ने होइन । तर, अभिभावक हुनुको नाताले सम्हालिन्छन् । भतिजलाई सम्झाउँछन्, ‘यहाँभन्दा बाटामा धेरै भोक लाग्छ । के खाने त ? बरु यतै बसे लकडाउन खुल्यो भने कही उपाय निकालौँला ।’

दुवैको आँखामा आँसु छचल्किन्छ । तर, दुवैले एकले अर्कालाई नदेखाउने कोसिस गर्छन् । सेती पो बगेर सागर पुग्ला ? आँखाबाट झरेर आँसु कहाँ पुग्ला ? उनीहरू आफूलाई सम्हाल्छन् । लकडाउनको अवधि बढिरहेको छ । भोको पेट भर्ने उपाय छैन ।

०००

ठिक १५ दिन भयो, गुरुङ काका भतिज पोखरा सेती किनारै-किनार बस्न थालेको । १५ दिनअघिसम्म उनीहरू वीरेन्द्रचोक स्थित एक केसी थरका घरबेटीको घरमा कोठा भाडामा लिएर बसेका थिए । तर, कोठा भाडा तिर्ने ‘पैसा’समेत आफूहरूसँग नभएपछि घरबेटीले कोठाबाटै गलहत्त्याएर निकालिदिए ।

त्यसपछि सडकमै छन्, कहिले पृथ्वीचोक, कहिले शान्तिघाट, कहिले रामघाट त कहिले बगर… ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन घोषणा गरिएको लकडाउनकै बेला कोठाबाट निकालिएपछि न गाउँ फर्किन पाए, न खानसुत्न बन्दोबस्त भयो । दुई महिनाको कोठाभाडा तिर्न बाँकी रहेको र त्यही निहुँमा घरबेटीले आफूहरूलाई निकालिदिएको उनीहरू सुनाउँछन् ।

स्याङ्जा अर्जुनचौपारी गाउँपालिका हो उनीहरूको घर । लकडाउन हुनु केही दिन अगाडिसम्म नवीन गुरुङ गाउँमै थिए । ‘काका यता कोठामै हुनुहुन्थ्यो । म गाउँमै थिएँ । लकडाउन हुँदैछ भन्ने थाहा थिएन । आएको अर्को दिन सबै बन्द भयो,’ नवीन बोल्छन्, ‘लकडाउन भएको केही दिन घरबेटी पैसा माग्न आइरह्यो । पैसा नभएपछि कहाँबाट ल्याएर दिनु ? अनि घरबाट निकालिदिए ।’

भतिजले यत्ति भनिनसक्दै अघिसम्म कठोर दिल बनाएर रोकिराखेको काका श्री गुरुङको आँखा रसाए । ‘काम गरेर खाने मान्छे हौँ । बन्दले खान लाउनै मुस्किल भा’छ, खुलेपछि दिउँला भनेका थियौँ । मानेनन्,’ उनको आवाजमा पीडा सुनिन्छ ।

‘जेब्रा ब्याग’मा केही कपडा थियो । खाना पकाउँदै आएको केही भाँडाकुँडा थियो । तर, अहिले उनीहरूसँग केही छैन । ‘हाम्रा कपडा, भाँडाहरू सबै घरबेटीलाई नै भाडामा मिलाउनु भनेर बुझाएर आयौँ,’ नवीन भन्छन्, ‘सबै भाँडा दिएपछि हामीसँग अहिले केही पनि बाँकी रहेन । फेर्ने लुगा पनि छैन ।’

केहीदिन भोकभोकै बसेपछि मनकारीले केही भाँडाकुँडा, चामल र केही रकम दिएका छन् । ‘त्यसैले खाना पकाएर खान पायौँ । नत्र भाकै बस्न पनि गाह्रो हुँदोरहेछ,’ तीन वटा मझौला आकारका ढुंगा जोडेर बनाएको चुल्हो देखाउँदै श्री गुरुङ सुनाउँछन् ।

‘पोखरा महानगरपालिकाले राहत बाँडेको थियो त पाउनुभएन ?’ हामीले सोध्यौँ । जवाफमा गुरुङले राहत लिन गएको तर, नागरिकता लगायतको कागजपत्र माग गरेपछि आफूहरू रित्तो हात फर्किएको बताए । ‘मजदुरी गर्न हिँडेको मान्छे कहाँबाट आफ्ना कागजपत्र बोकेर हिँड्ने ? उतै गाउँमा छ नागरिकता,’ नवीनले भने, ‘उनीहरूले कागज मागेपछि हामी रित्तै फर्कियौँ।’

उनीहरूले काम गर्ने ठाउँकै ठेकेदार पनि आफ्नै गाउँले मान्छे रहेछन् । तर, उनी पनि समस्यामै भएकाले ‘हेर्नसक्ने स्थितिमा’ नरहेको बताए । ‘बिचरा उहाँलाई पनि घरधनीले पैसा दिएका छैनन् । अहिले त उहाँ पनि मागेर खाने बेलामा पुग्नुभयो । कसरी पैसा माग्न जाने हामीले पनि ?’ श्रीले उल्टै प्रश्न राखे, ‘हिँडेरै घर जाम् भने पनि गोजीमा एक रुप्पे छैन । झन् बाटोमा भोकै मरियो भने के गर्ने ?’

स्थानीयवासीले महानगरपालिकामा खबर गरेपछि आइतबार केही खाद्यान्न पाएका छन् । तर, बासस्थानको जिम्मा लिन मानेन । राहत च्यापेर फेरि त्यही पौवामनमा फर्किएका काका भतिज भन्छन्, ‘खान त मागेर पनि जसोतसो पाइया छ । घरमालिकले घरबाट निकाल्दिए । यो मनको पीडा कसलाई सुनाउन जाने सर …?’ यसो भन्दैगर्दा काका श्री गुरुङका आँखा फेरि रसाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment