
२९ असोज, काठमाडौं । मेडागास्करमा जेनजी आन्दोलनपछि सेनाले सत्ता हातमा लिएको छ ।
जेनजी आन्दोलनलाई सेनाको एक विशेष दस्ताले समर्थन जनाएपछि राष्ट्रपति एन्ड्री रजोएलिना देश छाडेर भाग्न बाध्य भएका छन् । उनी कहाँ छन् भन्ने अझै स्पष्ट छैन ।
मेडागास्करको राष्ट्रपतिको कार्यालयले मंगलबार एक विशिष्ट सैनिक इकाइले सत्ता कब्जा गरेको भन्दै निन्दा गरेको छ । केही हप्तादेखि सरकारविरुद्ध चलिरहेको प्रदर्शनबीच आएको यो घटनालाई असंवैधानिक भन्दै राष्ट्रपति एन्ड्री रजोएलिनाले आफू अझै पदमा रहेको दाबी गरेका छन् ।
गत केही हप्तादेखि सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका बेला क्यापसाट नामक विशेष सैनिक समूहले संवैधानिक अदालत, निर्वाचन आयोगसहित प्रमुख लोकतान्त्रिक संस्थाहरूलाई निलम्बनको घोषणा गरेको बीबीसीले जनाएको छ ।
क्यापसाट मेडागास्करको सेनाको एउटा विशेष फौजी इकाइ हो । जसलाई प्रशासनिक र प्राविधिक अधिकृतहरुको समूह मानिन्छ ।
क्यापसाट प्रमुख कर्णेल मिकाएल रान्द्रियनिरिनाले आफ्नो ‘एलिट युनिट’ क्यापसाटले शासन नियन्त्रण लिएको बताएका छन् । र, नयाँ सरकार गठन गरी निर्वाचन गराएर राजनीतिक निकास खोज्ने बताएका छन् ।
रान्द्रियनिरिनाले पत्रकारहरूसँग भनेका छन्, ‘हामी सरकार बनाउँछौं र राष्ट्रिय सहमति कायम गर्छौं ।’
चुनाव हुने/नहुनेबारे सोधिएको प्रश्नमा कर्णेल रान्द्रियनिरिनाले भने, ‘अवश्य हुन्छ । १८ महिनादेखि दुई वर्षभित्र हामी चुनाव गराउँछौं ।’
जनभावना अनुसार सरकारले काम नगरेकाले शासन हातमा लिएको दाबी
जनभावना अनुसार सरकारले काम नगरेकाले सेनाले वर्तमान शासन हटाउन बाध्य भएको उनले बताए । जेनजी आन्दोलनकारीको मागको सम्मान गर्ने उनले बताए ।
‘यहाँ न राष्ट्रपति छ, न सरकार, केही पनि काम गरिरहेको छैन,’ भन्दै उनले सरकारको अक्षम्य असफलताले सेना हस्तक्षेप गर्न बाध्य भएको दाबी गरेका छन् ।
फ्रान्सको पूर्व उपनिवेश मेडागास्कर फेरि एकपटक सैन्य नियन्त्रणमा पुगेको छ र यसको राजनीतिक भविष्य अझै अनिश्चित बनेको छ ।
– एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया 4