Comments Add Comment

मुस्लिम आयोगले माग्यो विदेशी जमातीको विवरण

केन्द्रीय अनुगमन समिति बन्यो, जिल्लामा पनि समिति बनाइने

७ वैशाख, काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगले नेपालमा रहेका विदेशी ‘जमाती’हरुको सम्पूर्ण विवरण दुई दिनभित्र बुझाउन नेपालस्थित जमाती प्रमुखलाई निर्देशन दिएको छ ।

उदयपुरको मस्जिदमा रहेका १२ र पर्सामा ३ जना जमातीमा कोरोना संक्रमण पुष्टि भएपछि आयोगले जमातीहरुको विवरण मागेको हो ।

मुस्लिम आयोगमा आइतबार बसेको बैठकले कुनै पनि मस्जिद र मदरसाहरुमा जमातीलाई नलुकाइएको प्रष्ट पारेको छ । जो मस्जिदमा छन्, उनीहरु स्थानीय प्रशासन र प्रहरीको निगरानीमा क्वारेन्टाइन्मा रहेको आयोगका अध्यक्ष समिम मिया अन्सारीले बताए ।

मुस्लिम धर्म प्रचारक जमातीहरुले कोरोना भाइरस संक्रमण फैलाएको भन्दै कतिपय ठाउँमा समुदायमाथि नै लान्छित गर्ने प्रयास भएपछि आयोगले आइतबार मुस्लिम सांसद र सबै दल आवद्ध मुस्लिम संगठनका नेताहरुसहितको सर्वपक्षीय बैठक राखेको अन्सारीले बताए ।

अन्सारीका अनुसार नेपालमा करीव एक सयको संख्यामा विदेशी जमातीहरु लकडाउनका कारण विभिन्न मस्जिदमा अड्किएका छन् । काठमाडौंको जोरपाटी र नयाँ बजारमा समेत केही जमातीहरु छन् । तर, उनीहरु कोही पनि लुकीछिपी नबसेको र प्रशासनको जानकारी रहेको अन्सारीको दाबी छ ।

समन्वय समिति गठन

बैठकले देशभरका मस्जिद र मदर्साहरुको अनुगमन तथा लडकाउन पूर्ण पालना गराउन सरकारलाई सघाउनका लागि अन्सारीकै संयोजकत्वमा ७ सदस्यीय केन्द्रीय समन्वय समिति समेत गठन गरेको छ ।

समितिमा पूर्वमन्त्री जाकिर हुसैन, सांसद शेख चाँदतारा, मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी, मुस्लिम संघका अध्यक्ष अब्दुल सतार र धर्म गुरुहरु मौलाना खुर्सिद इस्लाही र खालिद सिद्धिकी सदस्य रहेका छन् ।

यस्ता समिति जिल्लामा पनि बन्ने र जिल्ला प्रशासन तथा प्रहरीसँग मिलेर लकडाउन पालना गर्न मस्जिद तथा मदरसाहरुमा पुग्ने उनले बताए ।

मुस्लिम समुदायकोे महान पर्व रमजान चार/पाँच दिनपछि नै आउन लागेकाले त्यसबेला नमाज पढ्ने ठाउँहरुमा भिडभाड हुन नदिनका लागि अपील गरिने भएको छ ।

समिति गठनका बारेमा गृहमन्त्रालयमा जानकारी गराइएको र सबै जिल्ला प्रशासनमा समन्वय गरी मुस्लिम समुदायलाई लकडाउन पूर्ण पालना गराउन आह्वान गरिने अन्सारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सारीमै हट वर्षा

Advertisment