Comments Add Comment

सरकारको दोहोरो नीति : थानकोटमा बस, जगातीमा जाऊ !

कोही भन्छन् कन्फ्युजमै बसौँ, कोही भन्छन्- शुभयात्रा

७ वैशाख, काठमाडौं । पैदल हिँडेर सहरबाट गाउँ फर्कन चाहनेहरूलाई लिएर सरकार फेरि अलमलमा परेको छ । आइतबार थानकोट र भक्तपुरको जगातीमा देखिएका दुई फरक-फरक दृश्य सरकार अल्मलिएको प्रमाण हो ।

लकडाउनका बेला घर फर्कन चाहनेहरूलाई सहरमै रोक्ने कि गन्तव्यसम्म पुग्न दिने भन्नेबारे सरकार पटक-पटक अलमलमा पर्दै आइरहेको छ । आइतबार पनि राजधानीमा यस्तै दोधार देखियो ।

सरकारका दुई फरक व्यवहार हेरौँ-

जगातीमा मन्त्री र सीडीओले गाडी चढाए

भक्तपुरको जगातीमा आइतबार उर्जामन्त्री वर्षमान पुन, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र प्रहरी प्रमुखसमेत मिलेर रोल्पा, सल्यान र दाङ हिँडेका करिब ४ सय जनालाई बस चढाएर पठाइयो ।

सीडीओ पाण्डेका अनुसार विभिन्न जिल्लाबाट हिँडेर भक्तपुरसम्म आएका र जिल्लाभित्र अलपत्र परेकाहरुलाई बसमा चढाएर दाङ र रोल्पातिर पठाइएको हो ।

उनीहरूलाई बिदा गर्न सिमसिम पानी परेका बेला उर्जामन्त्री पुन र प्रजिअ पाण्डे छाता ओढेर पुगेका थिए ।

स्थानीय प्रशासन, प्रदेश सरकार सबैको सहयोगमा घर पठाउन सम्भव भएको बताउँदै मन्त्री पुनले भने, ‘यो सरकारकै नीति हो कि अप्ठ्यारो परेका साथीहरूलाई उद्धार गर्ने । सकेसम्म फेरि आफ्नै ठाउँमा सुरक्षित बस्ने नै अहिलेको सरकारको नीति हो ।’

भक्तपुरबाट प्रदेश ५ तर्फ जाने मानिसहरुलाई गाडी चढाएपछि ऊर्जामन्त्री पुनले भने, खासगरी सीडीओ सा’प, एसपी सा’पहरू सबैको मेहनतले यो सम्भव भएको हो । यहाँहरुले अप्ठ्यारोमा परेका साथीहरुको उद्धार गर्नुभो । सीडीओसा’प, एसपी सा’प यहाँको प्रशासनलाई विशेष धन्यवाद दिन चाहन्छु । पत्रकार साथीहरू जसले हामीलाई जानकारी दिने, सेन्सेटाइज गर्ने काम गर्नुभो, उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु ।’

जगातीमा प्रहरीले मानिसहरुलाई रोकिराखेको सूचना पाएपछि त्यहाँ पुगेका मन्त्री पुनले छाता ओढेर भने, ‘म रोल्पा जिल्लाको जनप्रतिनिधि हुँ । सरकारले मलाई प्रदेश ५ को समन्वयनको जिम्मा पनि दिएको छ । रोल्पामात्रै होइन, दाङ, सबैतिरका अप्ठ्यारो पर्ने साथीहरूलाई हामी मैले समन्वय गरिराखेको छु । थप अब पनि समन्वय गरिन्छ ।’

मन्त्री पुनले थपे, ‘अहिले काठमाडौंतिर पनि काभ्रेतिरबाट भिजेर आउनुभएका साथीहरू हुनुहुन्छ, उहाँहरू पनि गइराख्नुभएको छ ।’

स्रोतका अनुसार भक्तपुरका इँटा कारखानामा काम गर्ने रोल्पाली मजदुरहरूलाई एउटा गाडीमा चढाइएको छ । ललितपुरबाट दुईवटा गाडीमा चढाइएको छ भने काभ्रेतिरबाट मजदुरहरूलाई ६ वटा गाडीमा चढाएर प्रदेश ५ तर्फ पठाइएको छ ।

गाडी चढाइसकेपछि मन्त्री र सिडिओले चालकहरूलाई शुभयात्राको शैलीमा भने, ‘सुरक्षित रुपमा लानुहोला ।’

बसहरु अगाडि बढिसकेपछि मन्त्री पुनलेबीचमा पर्ने जिल्लाका सुरक्षा प्रमुखहरूलाई टेलिफोन गरेर आफूले गाडीमा मान्छे पठाएको, उनीहरूलाई गन्तव्यतर्फ जान दिनू भन्ने निर्देशनसमेत दिएका थिए ।

थानकोटमा बेग्लै नीति

आइतबार थानकोटमा भक्तपुरको भन्दा भिन्न दृश्य देखियो ।

घर जान भनेर हिँडेकाहरुलाई थानकोटमा रोकियो । थानकोट आसपास कोठा भएकाहरूलाई कोठोतिरै फर्काइएको भने टाढा भएकालाई त्रिभुवनपार्कमा नै खाने-बस्ने व्यवस्था मिलाइयो ।

बालबच्चासहित घर हिँडेका १७६ जनालाई आइतबार राति त्रिभुवनपार्कमै राखिएको छ ।

चैत ११ देखि जारी लकडाउनका कारण समस्यामा परेपछि ज्याला मजदुरी गर्नेहरू गाउँ  फर्कने क्रम अहिलेसम्म रोकिएको छैन । काठमाडौंमा भएकाहरु मात्र होइन, आसपासका जिल्लाहरुमा काम गर्नेहरू समेत हिँडेर बाँके, बर्दिया, कैलालीलगायतका जिल्लामा पुगेका छन् ।

लगातार हिँड्दा थाकेकाहरू उनीहरू सडकमै रात काट्छन्, भोकभोकै हिँड्छन् । त्यो दृश्य र कथा सञ्चारमाध्यमहरुमा आएपछि सरकारको आलोचना हुँदै आइरहेको छ ।

कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले चैत २७ गते दुई दिनका लागि उपत्यकाबाट बाहिर जान दिने निर्णय पनि गरेको थियो । तर, डेढ घन्टामै निर्णय उल्टियो । त्यसपछि गाउँ फर्किनेहरू झन बढे ।

शुक्रबार यसबारे उच्चस्तरीय समन्वय समितिमा छलफल भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई बालुवाटार बोलाए । र, मानिसहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जान नदिन र खान नपाएको भए बसेकै स्थानमा खाद्यान्न पुर्‍याउन निर्देशन दिए । प्रधानमन्त्रीले लकडाउनलाई कडा बनाउन निर्देशन दिए ।

त्यसअनुसार शनिबारदेखि प्रहरीले गाउँ फर्किन लागेका पैदल यात्रुलाई ठाउँठाउँमा रोक्न थाल्यो ।

तर, शनिबार साँझ थानकोटमा रोकिएका करिब ३०० लाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदहरूको अगुवाइमा गाडी चढाएर घर पठाइयो ।

अघिल्लो दिन ३०० जनालाई गाडी चढाइएको त्यही थानकोटमा आइतबार भने कसैलाई जान नदिई रोक्ने काम गरियो ।

कन्फ्युजनमै बसौँ !

‘प्रधानमन्त्रीको निर्देशन’ भन्दै कतै रोक्ने, कतै  सांसद, मन्त्री र सीडीओले नै बस चढाएर पठाउने भइरहेको छ, सरकारको खास निर्णय चाहिँ के हो ? जवाफमा एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीले निर्देशन दिनुभएको अस्ति नै बाहिर आइसक्यो, अर्को निर्णय भएको छैन ।’

तर, कतै रोक्ने र कतै जान दिने हुँदा कन्फ्युज भयो नि ? यो प्रश्नमा उनले भने, ‘अहिलेलाई कन्फ्युजनमै बसौँ ।’

ती मन्त्रीका अनुसार सरकारले निर्णय गर्दा पनि रोक्न नसक्ने भएपछि जान दिने पनि नभन्ने तर कोही पैदल हिँडेर जान खोज्छ भने निश्चित ठाउँहरूमा पुगेपछि उद्धार गरेर पठाउन खोजेको देखिन्छ ।

‘प्रधानमन्त्रीको निर्देशन र व्यवहारमा ग्याप छैन’

यसैबीच, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने प्रधानमन्त्रीको निर्देशन र व्यवहारमा ‘ग्याप’ नरहेको बताएका छन् ।

मन्त्री ज्ञवाली भन्छन्, ‘प्रधानमन्त्रीज्यूको भनाइ जो सडकमा निस्कनुभएको छ, उहाँहरूलाई एक ढंगले म्यानेज गरौँ, बीचमा अलपत्र पर्न नदिऔं भन्ने हो । सडकमा नआएकाहरु जहाँ छन्, त्यहीँ बस्नुपर्छ भन्ने हो ।’

मन्त्री ज्ञवालीको जस्तै उर्जामन्त्री पुनले पनि बीचमा अप्ठ्यारो परेकाहरूलाई उद्धार गर्ने सरकारको नीति भएको बताए ।

‘सरकारले लकडाउन कडा गर्ने, जहाँ छन्, त्यहीँ नै राख्ने नीति लिएको थियो’ मन्त्री पुनले भने, ‘अहिले असाध्यै अप्ठ्यारो भएपछि, अप्ठ्यारोमा परेका साथीहरूलाई यहाँ बस्नै नसक्ने, काम पनि नहुने साथीहरूलाई पठाइराखेका छौँ।’

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment