Comments Add Comment

न्युकासल युनाइटेडमा साउदी अरेबियन लगानी

८ वैशाख, काठमाडौं । साउदी अरेबियन पब्लिक इन्भेस्टमेन्ट फण्ड (पीआईएफ) ले प्रिमियर लिग क्लब न्युकासल युनाइटेडलाई खरिद गर्ने भएको छ । साउदी राजपरिवारको स्वामित्व रहेको पीआईएफले तीन सय मिलियन पाउण्डमा न्युकासल खरिद गर्न लागेको हो ।

पीआईएफले रकम डिपोजिट गरिसकेको र कागजी प्रकिया समेत पूरा भइसकेको बेलायती अनलाइन डेली मेलले उल्लेख गरेको छ । तर, न्युकासलको खरिद प्रक्रियामा प्रिमियर लिगले स्वीकृत गर्न बाँकी छ । अबको केही साताभित्र प्रिमियर लिगले यसबारे औपचारिक निर्णय गर्ने जनाइएको छ ।

सबै कागजी सम्झौता समेत पूरा भइसकेको र बाँकी प्रक्रिया पूरा हुन तीनदेखि चार हप्ता लाग्नेछ ।

योजना अनुसार खरिद प्रक्रिया पूर्ण भएमा साउदी पीआईएफको स्वामित्व सेन्ट जेम्स पार्का धेरै हुनेछ । पीआईएफको स्वामित्व ८० प्रतिशत हुनेछ भने बाँकी २० प्रतिशत भने आमान्डा स्टेभेले र डेभिड र सिमोन रुबेन परिवारको नाममा हुनेछ ।

यस्तै सम्पूर्ण डिल पूरा भएपछि यासिर अल रुमायन क्लबको नयाँ अध्यक्ष बन्नेछन् । रुमायन पीआईएफका गभर्नरसमेत हुन् ।

विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी साउदी आराम्कोका अध्यक्ष समेत रहेका अल रुमायन ट्याक्सी सेवा प्रदायक उबरको पनि सञ्चालक समिति सदस्य हुन् । साउदी राजकुमार मोहम्मद बिन सलमानको साथ पाएका अल रुमायन इंग्लिसमा पोख्त छन् भने गल्फसमेत खेल्छन् ।

यसअघि न्युकासलका मालिक रहेका माइक एस्लीले १३ वर्षपछि क्लब छाड्दै छन् । क्लब टेकओभरसम्बन्धी तीन सय ५० पृष्ठको पत्र प्रिमियर लिगमा पेश गरिएको छ जहाँ युरोपियन च्याम्पियन्स लिग खेल्नेदेखि नयाँ स्पोन्सर समेत ल्याउने उल्लेख गरिएको छ।

अहिले विश्वभर कोभिड-१९को महामारीले गर्दा एस्लेले समेत क्लबको बिक्री मूल्यमा केही लचकता अपनाएका छन् । उनले आफूले भन्दै आएको रककम ४० मिलियन पाउण्ड घटाएरै बेच्न लागेका हुन् ।

साउदी अरेबियन पीआईएफले क्लब किनेपछि न्युकासलले प्रिमियर लिगमा ट्रान्सफर मार्केटमा ठूलो हलचल ल्याउने सम्भावना बढेको छ । यसअघि शेख मन्सुरले क्लब किनेपछि म्यानचेष्टर सिटीले प्रिमियर लिगमा सफलता हात पार्न थालेको हो ।

अब साउदी अरेबियन पीआईएफले न्युकासल खरिद गरेपछि प्रिमियर लिगमा सबैभन्दा धनी मालिक बन्नेछ । पीआईएफको सम्पत्ति तीन सय २० मिलियन पाउण्ड रहेको छ । यसअघिका धनी मालिक शेख मन्सुरको सम्पत्ति २३.३ बिलियन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment