Comments Add Comment

कोरोना जितेका युवकले भने – अझै एक हप्ता एक्लै बस्छु

७ वैशाख, कैलाली । कैलालीको पूर्वी दक्षिणी क्षेत्र लम्की घर भएका २१ वर्षीय युवक कोरोना संक्रमणबाट निको भएर आइतबार घर फर्किए । चैत २३ गतेदेखि उनी सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा थिए ।

पहिलो रिपोर्ट पोजेटिभ देखिएपछि अस्पताल आएका उनी दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज भए । अस्पतालबाट बाहिर निस्कदा उनी उत्साहित देखिन्थे । सेती अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डे, प्रवक्ता डा.जगदीश जोशी र वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले उनलाई निको भए पनि घरमा सुरक्षित रहन सुझाव दिए । उनले हुन्छ भन्दै टाउको हल्लाए ।

‘डाक्टरले एक हप्ता घरमै रहे पनि अरुसँग टाढा रहनु भन्नुभएको छ । अहिले घरमा पुगेको छु । सबै छन् तर, अली परै छन्’ आइतबार साँझ उनले अनलाइनखबरसँग भने।

सेती प्रादेशिक अस्पतालको एम्बुलेन्सले उनलाई घरसम्म पु¥याइदिएको थियो । उनी पुग्नुभन्दा पहिले नै घरमा आफन्त, छिमेकी र साथीहरु जम्मा भइसकेका थिए ।

उनलाई देख्नासाथ आमा र बुवा दुबै भाबुक भए । ‘सञ्चै आइस् भन्नुभयो । भावुक हुनुभयो । आँशु पनि झार्नुभयो । सायद सुम्सुम्याउन खोज्नुभएको थियो तर, छुन सक्नुभएन’ उनले भने ।

‘कसै कसैले मृत्युको मुखबाट जोगिएर आयो पनि भन्दै थिए’ उनले अनलाइनखबरसँग फोनमा भने ।

राति अबेरसम्म पनि उनलाई भेट्न आउनेहरुको कमी थिएन । भेट्न आउनेहरुलाई उनले टाढै बस्न आग्रह गरे । ‘परै बस्नुस् भन्छु, हामी सबै सचेत हुनुपर्ने समय छ भनेँ’ उनले सुनाए ।

शनिबार दोस्रो रिपोर्ट नेगेटिभ आउँदा नै उनी उत्साहित भएका थिए । आइतबारको तेस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनी घर फर्किन पाए ।

कोरोनालाई जितेर घर पुगेका उनी आफू संक्रमित हुँदा पनि कहिल्यै चिन्तामा नरहेको बताए । ‘स्वास्थ्यमा ध्यान दिएँ, पोषणयुक्त खाना खाएँ त्यसैले पनि होला चाडै निको भएँ’ उनले भने ।

घरमा बुवाआमा र दाजुभाइका परिवार छन् । अहिले सबै घरमै छन् । उनको लागि छुट्टै कोठा तयार पारिएको छ । ‘म ठीक छु तर एक हप्ता दूरी कायम गर्नु भन्नुभएको छ त्यस्तै गर्छु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment