Comments Add Comment

सेनाले चीनबाट ३४० टन स्वास्थ्य सामग्री ल्याउने, पठाइयो सम्झौता पत्र

७ वैशाख, काठमाडौं । नेपाली सेनाले चीनबाट तीन सय ४० टन स्वास्थ्य सामग्री ल्याउने भएको छ । नेपाली सेनाको जंगीअड्डाले आइतबार दिउँसो नेपालस्थित चिनियाँ दूतावासमार्फत सम्झौतापत्र हस्ताक्षर गरेर चीनलाई पठाएको हो ।

पत्रमा चीनको तर्फबाट हस्ताक्षर हुन बाँकी छ ।

‘चीनबाट हस्ताक्षर भएर आएपछि सोमबार रकम पठाउँछौँ’, सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरसँग भने, ‘कति रकम पठाउने र कुन विधिबाट पठाउने भन्ने भोलि नै टुंगो लाग्नेछ ।’

सरकारले स्वास्थ्य सामग्री खरिदका लागि सेनालाई बजेट सिलिङ दिएको थिएन । मन्त्रिपरिषद्ले स्वीकृत गरेको सामग्रीलाई सोही अनुरुप भुक्तानी दिने भनिएको थियो ।

चीनसँग दुईपक्षीय सम्झौता र भुक्तानीपछि चीनको गोन्जाओबाट सेनाले पीपीई, मास्क, ग्लोब्ससहित अन्य आवश्यक स्वास्थ्य सामग्री ल्याउनेछ ।

ओम्नी विजनेस कर्पोरेसन इन्टरनेसनलसँग भएको सम्झौता विवादमा आएपछि १६ चैतमा नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको थियो । मन्त्रिपरिषद् बैठकले सेनालाई जीटूजी (सरकार–सरकार) प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिद गर्न भनेको थियो ।

त्यसलगत्तै जंगीअड्डाले चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई स्वास्थ्य उपकरण र औषधि बिक्री गर्न प्रस्ताव राखेको थियो । तीमध्ये चीन र भारतले मात्र स्वीकृति जनाएका थिए । इजरायल र सिंगापुरबाट कुनै जवाफ आएको थिएन ।

नेपाली सेनाले खरिदको जिम्मा पाएको सात दिनपछि पत्रकारहरुसँग भिडियो कन्फ्रेन्स गर्दै यथाशीघ्र विवादरहित रुपमा स्वास्थ्य सामग्री ल्याउने घोषणा गरेको थियो ।

भारतबाट ५३ प्रकारका औषधि आउने

जंगीअड्डाको खरिद ईकाईले चीनबाट स्वास्थ्य सामग्री र भारतबाट औषधि ल्याउने गरी प्रक्रिया अघि बढाएको थियो । जसअनुसार भारतले दिल्लीस्थित नेपाली दूतावासमा ती औषधि जम्मा गरिदिनेछ । र, त्यहाँबाट नेपालमा औषधि ल्याइनेछ ।

हालसम्म दूतावासमा औषधि जम्मा भइसकेको छैन । ‘अहिले पहिलो प्राथमिकतामा स्वास्थ्य सामग्री परेको छ, त्यसपछि भारतबाट औषधिका लागि थप फलोअप गर्छौँ’, एक सैनिक अधिकृतले भने, ‘हालसम्म ५३ प्रकारका स्वास्थ्य सामग्री पठाउने भन्ने टुंगो लागेको छ ।’

यसअघि भारतले चैत दोस्रो साता कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्न प्रस्ताव गरेको थियो । भारतको सशस्त्र बल चित्किसा सेवा (एफएमएस) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अनुप बेनर्जीले सहयोगका लागि र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) नेपालमा पठाउन तयार भएको बताएका थिए ।

तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उपचारभन्दा पनि स्वास्थ्य उपकरण आवश्यक भएको जवाफ फर्काएका थिए ।

यो पनि पढ्नुहोस औषधि खरिदमा सरकारको दोधारे नीति, सेनालाई मुछेर ठेकदारसँगै धन्दा

स्वास्थ्य विभागले पनि ल्याउँदैछ औषधि

सेनालाई खरिदको जिम्मा दिने निर्णय पनि विवादमा तानिएपछि स्वास्थ्य सेवा विभागबाट पनि छुट्टै खरिद प्रक्रिया अघि बढिरहेको छ । जसका लागि विभागले तीन वटा कम्पनीसँग सम्झौता गरिसकेको छ ।

शुक्रबार विभागले ओम सर्जिकल, हाम्रो मेडी कन्सर्न र लुम्बिनी हेल्थ केयरसँग २९ देखि ३० करोड रुपैयाँ बराबरको सामान ल्याउने गरी सम्झौता गरेको थियो । सम्झौताको पहिलो साता आंशिक र दोस्रो सातासम्ममा सबै सामग्री ल्याउने गरी सहमति भएको थियो ।

विभागले प्रयोगशालाका लागि चाहिने सामान, सेनिटाइजर र थर्मोमिटर खरिदका लागि भने छुट्टै सम्झौता गर्ने जनाएको थियो । यो सम्झौतामा मुख्यतः पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment