+
+
Shares

अध्यादेश अनावश्यक र संविधानको भावना विपरीत : राप्रपा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ९ गते ११:००

९ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले सोमबार ल्याएको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्‍ सम्बन्धी अध्यादेश अनुपयुक्त, अनावश्यक र संविधानको भावना विपरीत भएको बताएको छ ।

राप्रपाका अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले विज्ञप्ति जारी गरी कोभिड-१९ महामारीविरुद्ध मुलुक एकजुट हुनुपर्ने बेलामा अध्यादेश ल्याउनु अनावश्यक र संविधानको भावना विपरीत भएको बताएका हुन् ।

राजनीतिक दल सम्बन्धी अध्यादेशले दल विभाजनलाई प्रोत्साहित गर्ने, राजनीतिक अस्थिरता बढ्ने र अन्ततः प्रजातन्त्रलाई धरापमा पार्ने राप्रपाले बताएको छ ।

यसैगरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले प्रजातन्त्रको मूलभूत मान्यताको रुपमा रहेको शक्ति पृथकीकरण र शक्ति सन्तुलनलाई कमजोर बनाउने र देशमा स्वेच्छाचारी शासन कायम हुनसक्ने खतरा देखिएको पनि राप्रपाले बताएको छ ।

‘सम्भावित राजनीतिक अस्थिरता र प्रजातन्त्रको भविष्यमाथि आइपर्न सक्ने गम्भीर संकटलाई दृष्टिगत गर्दै उक्त दुई अध्यादेशहरू फिर्ता लिन राप्रपा सरकार र सत्तारुढ दल नेकपालाई आग्रह गर्दछ’ राप्रपाले भनेको छ ।

मुलुकले कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने कठिन चुनौती सामना गरिरहेका बेला अस्थिरता र अराजकता बढाउने कुनै गतिविधि नगर्न राप्रपाले सरकार र नेकपालाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?