+
+
Shares

लकडाउनको मौका छोपेर सल्लाघारी फडानी

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ९ गते १३:२५

९ वैशाख, काठमाडौं । कोभिड–१९ महामारी लक्षित लकडाउन काठ तस्करहरूका लागि भने राम्रो अवसर बनेको छ । लकडाउनका बेला देशका विभिन्न स्थानमा वन फडानी भइरहेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ ।

पछिल्लो पटक दोलखाको सैलुङ–८, सैबुमा सल्लाघारी फडानी भएको त्यहाँका स्थानीयवासीले अनलाइनखबरलाई जानकारी दिएका छन् । शारदा उच्च माध्यमिक विद्यालयको खेल मैदान फराकिलो बनाउने नाममा सयौं सल्लाका रुख काटिएको स्थानीयले बताएका छन् ।

फलम सामुदायिक वन समूहका पदाधिकारीसमेत रुख काट्न संलग्न भएको पाइएको सामुदायिक वन उपभोक्ता महासंघका एक केन्द्रीय पदाधिकारीले जानकारी दिए । नाम उल्लेख गर्न नचाहने ती पदाधिकारी भन्छन्, ‘वृक्षारोपण गरेर हुर्काइएको रुखसमेत धमाधम काटेको जानकारी आएको छ ।’

वडाध्यक्ष रामेश्वर उप्रेती सामुदायिक वनकै सहमतिमा मैदान फराकिलो बनाउने काम भइरहेको बताउँछन् । विद्यालयले भोगाधिकार पाएको २० रोपनी क्षेत्रभित्र चउर फराकिलो बनाउने काम भएको उनले जानकारी दिए ।

जिल्ला वन अधिकृत बच्चु पुडासैनी त्यहाँ रुख काट्न कसैले पनि अनुमति नलिएको बताउँछन् । पुडासैनी भन्छन्, ‘लकडाउनले गर्दा कार्यक्षेत्र बाहिर छु, कोरोनापछि छानविन गरेर आवश्यकता अनुसार कारवाही गर्छौ ।’

विद्यालयका प्रिन्सिपल नेत्रप्रसाद थापलिया राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गराउँदा मैदान सानो भएकाले लकडाउनका बेला फराकिलो बनाइएको बताउँछन् । डोजर लगाएर मैदान बनाइएको उनको भनाइ छ ।

शैलुङ गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलाल भने प्रदेश सरकारले दिएको १० लाख रुपैयाँ अनुदानबाट मैदान बनाउने काम भइरहेको बताउँछन् । ८–१० मात्रै सल्लाको रुख काटिएको उनको भनाइ छ ।

अध्यक्ष दुलाल भन्छन्, ‘स्थानीयले दाबी गरेजस्तो दुई सय सल्ला काटिएको छैन, लकडाउनका बेला बेकामे भएर बसेकाहरूले विरोध गरेका हुन् ।’

दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा लकडाउनका बेला रुख काटेको जानकारी आएको बताउँछन् । उनी भन्छन्, ‘त्यस विषयमा बुझ्न दुई जनालाई पास दिएर पठाएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?