+

के नेपालको लागि खतरा हुनसक्छ एचएमपीभी भाइरस ?

२०८१ पुष  २२ गते १८:४५ २०८१ पुष २२ गते १८:४५
के नेपालको लागि खतरा हुनसक्छ एचएमपीभी भाइरस ?

काठमाडौं । चीनमा ह्युमन  मेटाप्युमो भाइरस (एचएमपीभी) नामक नयाँ संक्रमण फैलिएपछि सर्वत्र प्रश्न उठेको छ, ‘कतै यो पनि कोरोना जस्तै भयानक त हुँदैन ?’

स्वास्थ्य सङ्कटकाल नै घोषणा गर्नुपर्ने अवस्था आउन सक्छ ? वा लकडाउनको स्थिति आउँछ होला ? यस्ता प्रश्न पनि उठ्न थालेको छ ।

किनभने चिनियाँ अस्पतालहरुमा बिरामी भरिभराउ भएको फोटो-भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । चिकित्सकहरुका अनुसार यी बिरामीहरुमा ‘फ्लु’ जस्ता लक्षण देखिएका छन् ।

चीनका स्वास्थ्य अधिकारीहरूले यो भाइरससँग लड्न केही प्रोटोकल लागू गरेका छन् । भारतमा पनि संक्रमण देखिएपछि छिमेकी देशहरूमा चिन्ता बढाएको छ ।

यद्यपि नेपालको लागि भने अहिले आएको भाइरस नौलो  नभएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

पुन भन्छन् ‘धेरै वर्ष अगाडि लगभग सन् २०११ देखि २०१४ सम्म भएको अध्ययनले नेपालका बालबालिकामा यो संक्रमण पुष्टि भइसकेको देखाएको छ । तर, चीनमा मान्छेहरूको स्वास्थ्य अवस्था बिग्रनुमा यसलाई कारक मानिएको हो भने यस भाइरसको स्वरूप परिवर्तन भएको हो ? भन्ने प्रश्न उठ्छ ।’

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन

चीनमा वास्तवमा नै यो एचएमपीभी भाइरसले नै अप्ठ्यारो अवस्था सिर्जना गरेको हो ? यदि त्यस्तो भएको हो भने एचएमपीभी भाइरस म्युटेसन भएर साँच्चै घातक भएको भन्ने अर्को प्रश्न उठ्ने उनले बताए । यदि स्वरूप परिवर्तन भएर आएको हो भने मात्र चिन्ताको विषय हुन्छ । अन्यथा, यस भाइरसले स्वास्थ्यमा जटिलता सिर्जना गर्ला कि भनेर डराउनुपर्ने अवस्था नभएको डा. पुन बताउँछन् ।

एचएमपीभी भाइरस के हो ?

यो श्वासप्रश्वासमा संक्रमण गर्ने भाइरस हो । यो मौसमी भाइरस पनि हो । यसको प्रभाव सामान्यतया जाडो र वसन्तमा बढी देखिन्छ । यो फ्लु जस्तै संक्रमण भएको पुन बताउँछन् ।

साइन्स डाइरेक्टमा प्रकाशित एक रिपोर्ट अनुसार यो भाइरस वर्षौं पहिले चराबाट फैलिएको हो । तर त्यसयता यो भाइरसले बारम्बार आफूलाई परिवर्तन गरिरहेको छ। र, अहिले यो भाइरसले चरालाई सङ्क्रमित गर्न सक्दैन ।

अमेरिकी सरकारको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार सन् २००१ मा यो भाइरसको संक्रमण पुष्टि भएको थियो  ।  जसबाट  त्यही बेला नै  यो भाइरसले मानिसमा संक्रमण गर्न सक्ने र सबै उमेरका मानिसलाई सार्न सक्ने अनुमान गरिएको थियो ।

‘बालबालिका सबैभन्दा बढी प्रभावित’ 

यो भाइरसले सबैभन्दा बढी बालबालिका प्रभावित हुन्छन् । साथै, वृद्धवृद्धा, दीर्घरोग भएका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुमा पनि यसको जोखिम बढी हुन्छ ।

लक्षण

उक्त भाइरसले संक्रमण गरेमा नाकबाट पानी बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, थकान, खोकी लाग्ने, ज्वरो आउने वा चिसो लाग्ने र सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन् । संक्रमण जटिल हुँदै गएमा  ब्रोंकाइटिस वा निमोनिया पनि गराउन सक्ने डा. पुन बताउँछन ।

संक्रमण कसरी फैलिन्छ ?

यो भाइरस खोकी र हाच्छियुँ गर्दा निस्कने थुकको कणबाट मानिसमा सर्छ र सङ्क्रमित हुन्छ । हात मिलाएर, अँगालो हालेर वा एक अर्कालाई छुँदा पनि फैलिन सक्ने डा. पुन बताउँछन् ।

उनी भन्छन् ‘यदि खोक्दा वा हाच्छियुँ गर्दा थुकको कण कुनै सतहमा खसेको छ ।  सतहमा छोएपछि त्यो हातले अनुहार, नाक, आँखा वा मुख छोयो भने त्यसले पनि भाइरस सर्न सक्छ ।’

ध्यान दिनुपर्ने कुरा
भाइरसबाट सङ्क्रमित व्यक्ति वा कसैलाई रुघाखोकी लागेमा त्यस्ता व्यक्तिबाट टाढा रहनुपर्छ । खोक्दा वा हाच्छ्युँ गर्दा मुखमा रुमाल वा कपडा राख्नुपर्छ । खोक्दा र हाच्छियुँ गर्दा छुट्टै रुमाल वा तौलिया प्रयोग गर्ने, साबुन र पानीले कम्तीमा २० सेकेन्डसम्म राम्ररी हात धुनु डा. पुनले सुझाए ।

अहिलेसम्म यो भाइरसको लागि न त कुनै विशेष एन्टिभाइरल औषधि बनेको छ न त कुनै खोप नै बनेको छ । यसका लागि सामान्यतया रुघाखोकी र ज्वरोको औषधि दिइने चिकित्सकहरू बताउँछन् ।

तर, यो भाइरसले पहिलेदेखि नै श्वासप्रश्वास सम्बन्धी कुनै पनि रोग भएकाहरूलाई समस्या निम्त्याउन सक्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्ने पुन बताउँछन् ।

चीनबाट यो एचएमपीभी सङ्क्रमणको स्वरूप परिवर्तन भएर आएको हो की हैन भनेर परीक्षण गर्नुपर्छ । कोरोना भाइरसको भेरियन्ट पत्ता लगाए जस्तै नेपालले नै यो स्वरूप परिवर्तन भएको छ कि छैन भनेर पत्ता लगाउन सक्छ । त्यसैले यसबाट आतंकित हुनुभन्दा पनि कति घातक हो भनेर पत्ता लगाउनुपर्ने डा. पुन सुझाउँछन् ।

मेटाप्युमो भाइरस लकडाउन संक्रमण ह्युमन  मेटाप्युमो भाइरस
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय