Comments Add Comment

बनेपामा लागेको भिड : जनप्रतिनिधिले उद्धार गरे, प्रशासनले रोक्यो

९ वैशाख, बनेपा । लकडाउनका कारण काठमाडौंमा रोकिएका सिन्धुलीका सात सयभन्दा बढी मानिसहरू मंगलबार गाउँ गएका छन् । काठमाडौंका विभिन्न ठाउँबाट हिँड्दै भक्तपुरको जगाती र काभ्रेको बनेपा पुगेकाहरूलाई गाडी चढाइएको हो ।

स्थानीय जनप्रतिनिधिले बनेपामा सिन्धुलीको स्थानीय तहसम्म पुग्ने गाडीको बन्दोबस्त गरेका थिए । एउटै गाउँ जाने मानिसहरू छुट्याएर गाडीको बन्दोबस्त गरी पठाएको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहराले जानकारी दिइन् ।

स्थानीय जनप्रतिनिधिको सहयोगमा गाउँ फर्किने व्यवस्था भएपछि उनीहरू खुसी पनि थिए ।

तर, भक्तपुरको जगातीबाट बिहान साढे ९ बजे छुटेका कतिपय गाडीलाई बनेपामा स्थानीय प्रशासनले रोक्यो । दिउँसोको समयमा गाडी लैजान नपाइनेभन्दै स्थानीय प्रशासनले रोकेपछि बनेपाका सडक र बसपार्क क्षेत्रमा भिड नै लाग्यो ।

गाडी रोकिएको समय पारेर सबैलाई एक पार्टी प्यालेसमा खाजा र खाना खुवाइएको थियो । ‘सबैलाई खाना खुवाउने भनेका थियौँ तर पुगेन, धेरै जनाले चाउचाउ र चिउरा खानुभयो’ अध्यक्ष बोहराले अनलाइनखबरसँग भनिन् ।

स्थानीय जनप्रतिनिधिले भने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग छलफल गरे । स्थानीय प्रशासनले रातिको समयमा पठाउने भने पनि आफूहरूले सडक अप्ठ्यारो भएकाले दिउँसो नै पठाउन जोड गरेको अध्यक्ष बोहराले बताइन् । ‘उहाँहरूले बेलुका लैजान ठिक हुन्छ भन्नुभएको थियो। तर, सिन्धुली जाने सडक अप्ठ्यारो भएकाले हामीले दिउँसो नै लैजाने जोड गर्‍यौँ’ उनले भनिन् ।

त्यसपछि आधा घण्टाको फरकमा गाडी छुटाउने गरी सहमति गरेको अध्यक्ष बोहराले जानकारी दिइन् ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले पनि दिउँसोभन्दा रातिको समयमा सहज हुन्छ भनेर रोकेको तर धेरै मानिस व्यवस्थापन गर्न कठिन हुने भएपछि सिन्धुलीतर्फ जानेहरूलाई पठाएको बताए ।

‘लकडाउनको समयमा दिउँसोमा मान्छे घटाएकै छौँ, बरु साँझ वा राति सहजीकरण गर्न सकिन्छ’ उनले अनलाइनखबरसँग भने, ‘तर, मान्छे धेरै भएपछि सोसल डिस्ट्यान्स मेन्टेन गर्न पनि गाह्रो हुने देखिएपछि पठाएका हौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment