Comments Add Comment

भावविभोर बनाउने भारतीय प्रहरी अधिकारीको त्यो अन्त्येष्टि

९ वैशाख, मध्यप्रदेश । यो फोटो कथा हो । यस्तो कथा निकै भावुक छ । यति भावुक बनिन्छ कि यसलाई शव्दमा व्यक्त गर्न सकिँदैन ।

१९ अप्रिल आइतबारको दिन । स्थान भारतको मध्यप्रदेशस्थित इन्दौरको एक अन्त्येष्टि स्थल । प्रहरी अधिकारी देवेन्द्र चन्द्रवंशीको अन्तिम संस्कार हुँदै थियो । ट्राफिक प्रहरी इन्सपेक्टर चन्द्रवंशीको कोरोनाविरुद्ध लड्दालड्दै देहान्त भयो ।

दैनिक भास्करका फोटो पत्रकार सन्दीप पनि त्यहाँ थिए । उनले हिम्मतका साथ केही फोटो खिचे र आफूले देखेका कुरा यसरी जानकारी दिए….

आइतबार बिहान देवेन्द्र चन्द्रवंशीको शव अरविन्दो अस्पतालबाट रामबागस्थित मुक्तिधाम ल्याएर आउन लागेको जानकारी मलाई अफिसको एक जना रिपोर्टरले खबर दिए । म त्यहाँ पुग्दा शव ल्याइसकिएको थियो ।

देवेन्द्र चन्द्रवंशीकी पत्नी, दुई छोरी र परिवारका सदस्यहरुलाई गेटमै पीपीई लगाउन दिइयो । त्यसपछि उनीहरुलाई मुक्तिधाममा लग्यो । भित्र सलामी दिन खटिएका प्रहरीहरुले पनि पीपीई लगाएका थिए ।

बाहिर पत्रकार साथीहरु थिए । मैले ती साथीहरुलाई भित्र किन नगएको भनेर सोधें । उनीहरुले तँ आफैं जा न भने । मेरो बोली बन्द भयो । फेरि सोचें मैले हिम्मत हार्नु हुँदैन । मैले पीपीई किट लगाएको थिएँ ।

भित्रबाट पुलिसले बिगुल बजाएको आवाज आयो । म दौडिँदै भित्र गएँ । त्यतिबेला मेरो एउटा खुट्टामा मात्रै प्लास्टिकवाला मोजा थियो । म दौडिदै त्यहाँ पुग्दा मेरो ठीक पछाडि नै देवेन्द्र चन्द्रवंशीको शव राखिएको रहेछ । केबल तीन फिट टाढा थियो होला । म तुरुन्तै त्यहाँबाट अलि टाढा गएँ ।

पछाडि शिव भगवानको फोटो थियो भने अगाडि देवेन्द्र चन्द्रवंशीको पार्थिव शरीर । त्यही बेला गार्ड अफ अनर दिइयो । सलामी अर्पण गर्दै फायरिङ गरियो । शोक धुन बज्यो ।

प्रहरीका उच्च अधिकारीहरु चक्र लिएर अगाडि बढे । उनीहरु सबैले पीपीई लगाएका थिए । इन्दौरमा प्रहरीले पीपीई किट लगाएर आफ्नो साथीलाई सलामी दिएको पहिलो पटक हो ।

परिवारका सदस्यहरु कुर्सीमा बसेका थिए । देवेन्द्र चन्द्रवंशीकी श्रीमती उभिएर रोइरहेकी थिइन् । त्यहाँ उनका दुई छोरीहरु पनि थिए । परिवारका अरु दुई जना सदस्यहरुले देवेन्द्रकी पत्नीलाई समातेर तस्वीरसम्म लगेर गए । देवेन्द्रको तस्वीर शवभन्दा टाढै राखिएको थियो । उनले केहीबेर शवतिर हेरिरहिन् र तस्वीरलाई मुसार्दै बेस्सरी रुन थालिन् ।

शव नजिकै एक जना प्रहरी पहिल्यैदेखि नै उभिरहेका थिए । सायद यो अवस्थामा उनकी पत्नी र छोरीलाई शव नजिक आउन नदिनका लागि होला ।

पत्नीपछि तस्वीर नजिक दुई छोरीहरु आए । एक छोरीले आफ्नो बुवाको शवलाई धेरैबेरसम्म हेरिरहिन् । र, स्यालुट गरिन् ।

एक जना पाका व्यक्ति त्यहीबेला बेहास भएर भुइँमा लडे । सायद उनी देवेन्द्रका बुवा होलान् । पीपीई किटले पूरै शरीर ढाकेकाले सबैलाई चिन्न गाह्रो थियो । सोध्ने हिम्मत पनि मसँग थिएन । म उनीहरुभन्दा एक सय फिट टाढा उँभिएर हेरिरहेको थिएँ र अरुहरु रोइरहेको सुनिरहेको थिएँ । दुई तारे र तीन तारे फुली लगाएका प्रहरी अधिकारीहरु पनि रोइरहेका थिए । एकछिनपछि तिनै प्रहरीहरुले देवेन्द्रका शवलाई शवदाह गृहभित्र लगेर गए ।

शवदाह गृहभित्र जाने हिम्मत भने मलाई आएन । सायद उनीहरुले मलाई त्यहाँसम्म जान पनि दिँदैनथे होला । अन्तत मैले त्यही तस्वीरलाई नै स्यालुट गरेर बाहिर निस्किएँ । म पसिनाले भिजेको थिएँ । किटलाई च्यातेर डस्टबिनमा फ्याँकें ।

त्यहीबेला एक अधिकारीले देवेन्द्र चन्द्रवंशीको तस्वीर लिएर बाहिर आए । परिवारका सदस्यहरु पनि बाहिर आए । सबैले पीपीई च्यातेर फाले र त्यसमा आगो बालेर जलाइयो ।

जुनी थानका इन्सपेक्टर ४५ वर्षीय देवेन्द्र चन्द्रवंशी कोरोना भाइरस संक्रमित थिए । अरविन्दो अस्पतालमा १९ दिनदेखि उनको उपचार चलिरहेको थियो । उनको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने तयारी थियो । तर अकस्मात उनको निधन भयो ।

अस्पतालका डा. विनोद भण्डारीले चन्द्रवंशीको मृत्युको मुख्य कारण पल्मोनरी एम्बोलिज्म हो । यद्यपि कोरोनाको संक्रमण पुष्टि भएकाले कोरोनाबाट मृत्यु भएकाहरुको सूचीमा उनको पनि नाम राखिएको छ ।

मध्यप्रदेशको सबैभन्दा बढी प्रभावित क्षेत्र इन्दौर हो । इन्दौरमा कोरोनाका कारण ५० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

स्रोत : दैनिक भास्कर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment