Comments Add Comment

प्रधानमन्त्रीले भने-भारतसँगको सिमाना खुल्दैन, अध्यादेशबारे आशंका गर्नु पर्दैन

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग जोडिएको नेपालको सीमा नाका तत्काल नखुल्ने संकेत गरेका छन् । भारतमा कोरोना संक्रमणको अवस्था अन्त्य नभएसम्म सिमाना नखुल्ने प्रधानमन्त्रीले बताएका हुन् ।

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका संघीय सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्रीले लकडाउनको मोडल परिवर्तन हुनसक्ने बताए । प्रधानमन्त्रीले संक्रमण नदेखिएका ठाउँमा लकडाउन खुकुलो हुने संकेत गरेको छलफलमा सहभागी एक सांसदले अनलाइनखबरलाई बताए ।

भारतसँगको सिमाना भने अहिले नखुल्ने र जो जहाँ छन् त्यहीँ रहनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्रीले हालै जारी दुई अध्यादेशबारे पनि सांसदहरूलाई अन्यौल र भ्रममा नरहन आग्रह गरेको छलफलमा सहभागी डोटीका सांसद प्रेम आलेले बताए ।

अध्यादेश आवश्यकता परेरै जारी भएको र यसमा अरू कुनै आशंका गरिरहनु नपर्ने प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीसँग केही सांसदले पछिल्ला अवस्थाको बारेमा जिज्ञासा राखेका थिए ।

‘प्रचण्ड बोलेनन्’

सरकारले यही वैशाख ८ गते राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी दुईवटा अध्यादेश जारी गरेको छ । राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्नसक्ने सम्बन्धी व्यवस्था गरिएको छ । यी अध्यादेशलाई लिएर नेकपाभित्रै र बाहिर पनि सरकारको आलोचना भइरहेको छ ।

छलफलमा नेकपा अध्यक्ष प्रचण्ड पनि सहभागी थिए । तर, प्रचण्ड केही ढिला पुगेकाले ओली आफैँले प्रचण्डलाई आफूले सांसदहरूसँग बताएका कुराको जानकारी दिएका थिए । प्रचण्डले केही नबोलेको सांसदहरूले बताए ।

सांसदहरूको छलफलमा उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक देव गुरुङ पनि सहभागी छन् । प्रदेशगत रुपमा सांसदहरूसँग छलफल आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment