Comments Add Comment

महेश बस्नेत भन्छन्– अपहरणको आरोप लगाउनेविरुद्ध कानुनी कारबाहीमा जान्छौँ

११ वैशाख, काठमाडौं । नेकपा सांसद महेश बस्नेतले आफूहरूमाथि अपहरणको आरोप लगाउनेविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी दिएका छन् । समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई आफूहरूले नभई डा.बाबुराम भट्टराईका मान्छेले अपहरण गरेको बस्नेतको प्रत्याआरोप छ ।

डा.यादवकै इच्छा र समाजवादी पार्टीका प्रमुख सचेतकको आग्रहमा आफूहरू यादवलाई लिन महोत्तरी गएको बस्नेतले अनलाइनखबरलाई बताए । यादवले अपहरण भएको नभनेको भन्दै बस्नेतले बिहीबार बिहान आङकाजी शेर्पासहितका बाबुरामका मान्छेले यादवलाई होटलबाट लिएर गएको बताए ।

आफूहरू समाजवादी पार्टीका नेतासँगै महोत्तरी गएको र सांसद यादव उनका भिनाजु तथा समाजवादी पार्टीका नेतासँग एउटै गाडीमा काठमाडौं आएको बस्नेतको स्वीकारोक्ति छ । समाजवादी पार्टी विभाजन हुन लागेको भन्ने जानकारी आफूहरूलाई रहेको र राजनीतिक दलका नेताहरूसँग छलफल गर्न जहाँ पनि जान सकिने बस्नेतको तर्क छ ।

समाजवादी र राजपाका नेताहरूसँग छलफल गर्ने क्रममा उनीहरूका कतिपय नेता पार्टी विभाजन गर्ने र नेकपामा प्रवेश गर्ने तहमा पाइएकाले आफूहरू छलफलमा संलग्न रहेको उनले बताए ।

बस्नेतले पछिल्लो प्रकरणबारे यसो भने-

मधेसवादी दलहरूमा असन्तुष्टि बढिरहेको छ । मुख्य नेतृत्वले राजनीतिक व्यवहार नगर्ने, अवसरहरू आसेपासे र नातेदारलाई दिने भन्ने गुनासो बढ्दै जाँदा विद्रोहको अवस्था थियो । हामीले उनीहरूभित्रको विवादलाई हेरिरहेका थियौँ ।

कतिपय साथीहरू विद्रोह गरेर नेकपामा प्रवेश गर्ने, अलग दल बनाएर पार्टी एकता गर्ने खालका प्रस्ताव लिएर आइरहेका थिए । हामी राजनीतिक पार्टी भएकाले छलफलहरू हुने नै भए ।

मंगलबार समाजवादी पार्टीका उमाशंकर अरगरियाजीले पनि कुरा गर्नुभयो । डा.सुरेन्द्र यादव महोत्तरीमा घरमै हुनुहुँदो रहेछ । उहाँले काठमाडौं आउन चाहेको भनेपछि हामी उतै आउछौँ नि त भन्यौँ । जगातीमा थियौँ हामी, यात्रुहरूको व्यवस्थापन गर्ने कुरा थियो । डा.यादवको साथी भनेपछि पूर्वआइजीपी सर्वेन्द्र खनाल पनि जाने हुनुभयो । यसरी हामी विनाप्लान गएका हौँ ।

यो पनि पढ्नुहोस सर्वेन्द्र भन्छन्– सुरेन्द्रलाई उनकै सहमतिमा काठमाडौं ल्याइएको हो

घरमा उहाँले हामीलाई खाना खुवाउनुभयो, राजनीतिक कुरा भए । पार्टीभित्रको असन्तुष्टि विभाजनको तहमा पुगेको रहेछ । हामीले पनि उहाँहरूलाई साथ दिने कुरा स्वभाविक भयो । दुई वर्षअघि मधेसमा जागरण अभियान लिएर हामी जाँदा बाँचेर फर्किने अवस्था थिएन । अहिले उहाँकै घर देहातमा गएर उहाँको भान्सामा खाना खाएर आइयो ।

डा.सूर्यनारायण यादव पनि आउने कुरा थियो, उहाँले तपाईं पहिले गएर कुरा गर्नुस् मेरो समर्थन छ, पछि आउँछु भन्नुभएछ । हामी सँगै सिन्धुलीको बाटोबाट फर्किएका हौँ। आएर होटलमा बसेको हो । बिहान उहाँ कता जानुभयो, हामीलाई चासो भएन । हामीले उहाँलाई ल्याउन सघाएको हो, अरगरियाजी पनि हुनुहुन्थ्यो । उहाँले भनेर ल्याएको हो ।

यो विषयलाई विशेषगरी बाबुरामजीका पीए विश्वदीप पाण्डेजीले अराजनीतिक ढंगले फण्डा र प्रोपोगाण्डा मच्चाउने प्रयास गरेका हुन् । आफ्ना दलका सांसदहरूलाई मिलाएर राख्न नसक्ने, अनि हामीप्रति कुण्ठा पोख्ने कुराको कुनै अर्थ छैन । गाडीमा अरगरियाजी र उहाँका भिनाजु चालक सबै थिए । यस्तो कुरालाई अपहरण भनेर हाम्रो चरित्रहत्या गर्न खोजिएको छ, हामी कानुनी कारबाहीमा जानुपर्ने हुन्छ ।

डा.यादवलाई हामीले होइन, बाबुरामका मान्छेले होटलबाट अपहरण गरेका हुन् । उहाँले अहिले पनि बाबुरामकै कब्जामा रहँदा पनि म अपहरणमा परेको होइन, भनिरहनुभएको छ । यस्ता फण्डा नगर्दा राम्रो । आफ्नो पार्टी मिलाएर राख्नु, हामीलाई के मतलब । उनीहरूभित्र चरम विवाद छ, अहिले रातारात जुटेको नाटक गरे पनि झन् ठूलो विद्रोह हुन्छ, हेर्दै जानुहोला ।

महेश बस्नेतको दावी– समाजबादी फुटाएर नेकपामा ल्याउन खोज्दैथियौ, यो कोसिस जारी राख्छौं, छिटै ठूलो पहिरो जान्छ ।

यो पनि पढ्नुहोस ‘सचेतकले जाऔँ भनेपछि महेश बस्नेत, म र सर्वेन्द्र महोत्तरी गएका हौँ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment