+
+

सर्वेन्द्र भन्छन्– सुरेन्द्रलाई उनकै सहमतिमा काठमाडौं ल्याइएको हो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते १५:२८

११ वैशाख, काठमाडौं । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई उनकै सहमतिमा जनकपुरबाट काठमाडौं ल्याइएको पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले बताएका छन् । यादवलाई अपहरण गरिएको भन्ने भनाइ सत्य नभएको खनालको प्रतिक्रिया छ ।

सांसद यादवले विहीबार होटलमा सबै सांसदसँग भेट हुने लागेको अवस्थामा मुड चेञ्ज गर्नू उनको गल्ती भएको खनालको भनाइ छ ।

‘अस्ति हामी (खनाल, महेश बस्नेत र किसान श्रेष्ठ) भक्तपुरमा बसेका थियौं, डा. सुरेन्द्र यादव आउन खोजेको तर अझै डराइरहेको भन्ने कुरा बुझियो’, खनालले अनलाइनखबरसँग भने, ‘अनि, उहाँलाई परामर्शका लागि काठमाडौं नै आउनू भन्ने कुरा भयो ।’

यादवले नै सहमति जनाएपछि बुधबार ९ बजे उनको घरमा पुगेको पूर्वआईजीपी खनालले बताए ।

‘घरमा पुगेपछि गफ भयो, खाजा खुवाए । खाना पनि खाएर जानू भने’, खनालले थपे, ‘बिहान ९ बजेतिर पुग्यौं । गफसफ भयो । खाजा खुवाए । खाना पनि खाएर जानू भन्ने कुरा आयो घरबाट ।’

त्यहीँबाट डा. यादवले विभिन्न व्यक्तिसँग परामर्श पनि लिएको खनालले बताए । ‘उहाँले जनकपुर गएर डा. सूर्य भन्नेसँग पनि भेट गर्नुभयो’, उनले भने, ‘त्यसपछि नै उहाँ आउन तयार हुनुभएको हो ।’

खनालले आफू विगतमा प्रहरी भए पनि अहिले सामान्य नागरिक भएको बताउँदै भने, ‘मैले हिँजो पुलिस भएर काम गरेँ । अहिले नागरिक भएर गरिरहेको छु । कुरा गर्नै नहुने, साथी भाइ नै नहुने भन्ने त होइन नि !’

चर्चा गरिएजस्तो ‘अपहरण’ नभई आफ्नै ईच्छामा डा. यादव काठमाडौंसम्म आएको खनालले बताए ।

‘सिन्धुलीमा खाजा खाइयो, काभ्रेमा खाना खाइयो । साँझ उहाँ होटलमा बस्नुभयो । भोलिपल्ट सबै सांसद त्यहीँ भेट हुने कुरा थियो’, पूर्वप्रहरी प्रमुख खनालले अगाडि भने, ‘बरु उहाँको पो दोष भयो, काठमाडौं आएर मुड चेञ्ज गर्नुभयो । नत्र, उहाँकै ईच्छाअनुरुप काठमाडौं आउनुभएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?