Comments Add Comment
अन्तरवार्ता :

‘संकटका लागि पहिल्यै तयार थियौं, जोखिम बहनको क्षमता छ’

१० बैशाख, काठमाडौं । कोरोना संक्रमण फैलिन नदिन सरकारले देशलाई लामो लकडाउनमा राखिरहेको छ । यो सकसपुर्ण अवस्थामा वाणिज्य बैंकहरुले आफ्नो सेवा आंशिकरुपमा सुचारु राखेका छन् ।

मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकहरुमध्येको एक स्टान्डर्ड चार्टर्ड बैंकले पनि लकडाउन झेल्दै सेवा दिइरहेको छ । सो बैंकका सीईओ अनिर्वान घोष दस्तिरको भनाइमा संकटको सामना गर्न बैंक पहिल्यै तयारी अवस्थामा थियो । यद्यपि, अझै पनि चुनौतीहरु धेरै रहेको उनी बताउँछन् ।

१६० वर्षको इतिहास भएको अग्रणी अन्तर्राष्ट्रिय बैकिङ्ग समूहबाट सञ्चालित स्टान्डर्ड चार्टड बैंक नेपालमा सन् १९८७ देखि सञ्चालनमा छ । कोरोना भाइरस (कोभिड-१९) को त्रासका बेला यस बैंकले कसरी सेवा प्रदान गरिरहेको छ ? कोरोनाले बैंकिङ क्षेत्रमा देखिएको चुनौती, सुरक्षा सावधानी लगायतका विषयमा सीईओ अनिर्वान घोष दस्तिदारसँग गरिएको कुराकानी :

कोरोना संक्रमण र लकडाउनका कारण नेपालको बैंकिङ्ग क्षेत्रले कस्तो चुनौतीको सामना गर्नुपरेको छ ?

नियामक निकायहरुको सहयोग र समन्वयका कारण नेपालको बैंकिङ्ग क्षेत्रले भोगेका कार्य सञ्चालन सम्वन्धि चुनौती धेरै हदसम्म न्यूनिकरण भएको छ । तर ग्राहकहरुको नगद प्रवाह तथा बैंकको बहिखातामा पर्ने आर्थिक प्रभावको किटान हुन भने बाँकी छ । यस प्रभावको गहिराई हामीले कोभिड-१९ को बिस्तारलाई कति छिटो नियन्त्रणमा लिनसक्छाैं भन्नेमा निर्भर गर्दछ ।

पुनर्विचार भइरहेका केही नियमहरुका साथसाथै नियामकहरुको सहयोगद्वारा हामीले यस्ता चुनौतीहरुबाट पार पाउन सक्नेछौं । तर मानिसको स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण कुरा हो । हालको समयमा जिवनरक्षाको लागि बन्दाबन्दी पूर्वशर्त हो । मानिसको स्वास्थ्यपछि मात्रै अन्य विषयहरुलाई महत्व दिइनुपर्छ ।

लकडाउनका बेला स्टाण्डर्ड चार्टर्ड बैंकले आफ्नो सेवालाई कसरी सुचारु गरिरहेको छ ?

हाम्रो बैंकको कुरा गर्ने हो भने हामी ग्राहकहरुको सेवामा अनवरत खटिइरहेका छौं । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकाको अधिनमा रही हामी बैंकिङ्ग सेवा प्रदान गरिरहेका छौं । सेवालाई निरन्तरता दिनको लागि हामीसँग अत्यन्तै गतिशील एवं परिक्षित संकट ब्यवस्थापनको योजना छ ।

हामीले यस योजनालाई नेपालमा राष्ट्रब्यापी लकडाउन घोषणा हुनुपूर्व नै लागू गराइसकेका थियाैं । अन्तर्राष्ट्रिय बैंकको रुपमा कोभिड-१९ द्वारा सबैभन्दा बढी प्रभावित मुलुकहरुमा पनि हाम्रो उपस्थिति रहेको छ । हालको विश्वब्यापी संकट अनपेक्षित भएता पनि हाम्रो अन्तर्राष्ट्रिय पहुँच एवं उपस्थितिको कारण हामी समयअगावै तयारी अवस्थामा रहन सक्याैं । यसका साथसाथै आफ्ना कर्मचारी तथा ग्राहकहरुको सुरक्षाका लागि हामीसँग पहिले नै स्थापित शसक्त प्रणाली (प्रोटोकल) को व्यवस्था छ ।

हाम्रा कर्मचारीले सिफारिस गरिएका सुरक्षाका उपायहरु (सामाजिक दूरी, मास्क तथा स्यानिटाइजरलगायत) अवलम्बन गरेका छन् । शाखामा प्रवेश गर्नुपूर्व ग्राहकहरुको शरिरको तापक्रमको जाँच गर्ने गरिएको छ ।

हामीले अत्यावश्यक विभाग तथा सिमित शाखाहरुलाई सञ्चालनमा ल्याएका छौं । प्रधान कार्यालय अन्तर्गतका केदि्रकृत विभागहरुमा थोरै कर्मचारी राखेर तथा बाँकी कर्मचारीलाई घरबाट काम (वर्क फर्म होम) गर्ने सुविधा दिएका छौं । आजसम्म पनि कार्यालय सञ्चालनको समयावधिलाई कम गरी हामीले आफ्ना ५० प्रतिशतजति शाखाहरुलाई नियमित सञ्चालनमा ल्याएका छौं ।

हामीसँग उपलब्ध गतिशील प्राविधिक पूर्वाधारले हाम्रा कर्मचारीहरुलाई आ-आफ्नै घरबाट कार्यालयको कार्यसम्पादन गर्न सक्षम बनाएको छ । उन्नत प्रविधिको प्रयोगद्वारा हामी कुनै पनि अवरोधविना हाम्रो सेवालाई निरन्तर सुचारु राख्न सक्षम छौं ।

यसको अलावा हामीसँग ग्राहकहरुको सक्रिय विद्युतीय तथ्यांक छ, जसले हाम्रो डिजिटल (विद्युतीय) क्षमताको पूर्ण मान्यता प्राप्त गरेको छ । हामीले समयभन्दा पहिल्यै हाम्रो मोबाइल बैंकिङ्ग एपलाई थप सुधार एवं सुदृढ गर्‍यौं । यसै एपमार्फत ग्राहकले अनलाईनमार्फत हाम्रा विभिन्न सेवाहरुमाथि पहुँच हासिल गर्न सक्छन् ।

भाटभटिनी, बिग मार्ट र मेरो किरानाजस्तो प्रसिद्ध किनमेल स्टोरहरुसँग सहकार्य गरी ग्राहकहरुलाई डेबिट वा क्रेडिट कार्डको प्रयोगमा आकर्षक छुट प्रदान गर्ने योजनालाई कार्यान्वयनमा ल्याएका छौं । हाम्रा सबै एटिएम बुथहरु सामान्य अवस्थामा जस्तै क्रियाशील रहेका छन् । हामीले ग्राहकबर्गबाट ब्यापक सकारात्मक प्रतिक्रियाहरु हासिल गरेका छौं जसले हामीलाई ठूलो हौसला दिएको छ ।

बैंकहरुले सुविधा दिइरहेता पनि यति बेलाको सबैभन्दा महत्वपूर्ण विषय भनेको कोरोनाबाट सुरक्षा नै हो । यसमा कसरी सावधानी अपनाइएको छ ?

हाम्रा कर्मचारीको स्वास्थ्य र सुरक्षालाई हामीले पहिलो प्राथमिकतामा राखेका छौं । जोखिमप्रति सचेत हुँदै ग्राहकहरुको सेवाको लागि प्रक्रियाहरुलाई थप सरल एवं बनाइएको छ ।

हाम्रो साइबर तथा ठगी अनुगमन केन्द्रहरुले सम्भाव्य साइबर उल्लंघन तथा ठगीका घटनाहरुको निगरानीलाई तीव्र बनाएका छन् । यस्ता घटनाहरुको निवारणको लागि हाम्रो कर्मचारीहरुसँग पर्याप्त चेतना एवं विज्ञता छ । कार्यालय बाहिरबाट काम गर्ने सम्बन्धमा विशेष निर्देशका जारी गरेका छौं ।

अहिले जिम्मेवारीको प्रदर्शन र सतर्कताको अभ्यास गर्ने समय हो । हाम्रो कर्मचारी, ग्राहकबर्ग तथा समुदायहरुको सुरक्षाको लागि हामीले आवश्यक सबै सुरक्षा प्रणाली अवलम्बन गरिरहेका छौं ।

कोभिड-१९ ले सबैजसो क्षेत्रहरुलाई असर गरेको छ । यसले भविष्यमा नेपालको बैंकिङ क्षेत्रलाई नै धरासायी बनाउने खतरा कति देख्नुहुन्छ ?

मैले बैंकिङ क्षेत्रमाथि त्यत्ति ठूलो बिपद् आउने कल्पना गरेको छैन । तर भविष्यमा हामीले केही चुनौतिहरुको सामना भने पक्कै पनि गर्नुपर्नेछ । सुझबुझ र समन्वयका साथसाथै हाम्रा ग्राहकवर्गले हामीमाथि देखाउनुभएको विश्वास र सद्भावसहित हामीले संयुक्तरुपमा यस विश्व महामारीमाथि विजय हासिल गर्नेछौं ।

आफ्नो बैंकलाई कति क्षति पुग्ने अनुमान लगाउनुभएको छ ?

नेपाल सरकार र केन्द्रीय बंैकसँगको सहकार्यमा हामीले हालको परिस्थितिलाई कसरी नियन्त्रणमा लिन सक्छांै भन्नेमा यो कुरा निर्भर रहन्छ । तत्कालका केही महिनाहरुसम्म ब्यापारमा सुस्तता देखिने पक्का छ । तर सो समयमा हासिल गर्न चुकेका कुराहरुलाई पुर्नप्राप्ति गर्न हामी निश्चितरुपमा सफल हुनेछौं ।

गत वर्षको चैत ११ देखि बन्दाबन्दी लागू भएयता आर्थिक क्रियाकलामा संकुचन आएको छ भने ग्राहकहरुको नगदप्रवाहमा असर देखिएको छ । तर यो राष्ट्रिय मात्रै नभइ अन्तराष्ट्रिय समस्या हो । हामो आँकलनअनुसार कोभिड-१९ को नियन्त्रणपछि पनि सबै कुरा सामान्य अवस्थामा र्फकन थप दुई-तीन महिनाको समय लाग्नेछ । यस परिस्थितलाई मध्यनजर गर्दै उपयुक्त नीतिनियमको तर्जुमा भएमा त्यो सबैका लागि सहयोगी साबित हुनेछ ।

अहिलेको परिस्थितिमा बैंकिङ्ग क्षेत्रले ध्यान दिनुपर्ने कुराहरु के-के हुनसक्छन् ?

हाम्रो ब्राण्ड प्रतिवद्धता अनुसार हाम्रा कर्मचारी, ग्राहक तथा समग्र समुदायको सुरक्षा हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । हामीले यसैकारण हाम्रो स्वास्थ्य र सुरक्षाको प्रणालीलाई कडाका साथ कार्यान्वयमा ल्याएका छौं । सबै क्षेत्र तथा पक्षहरुको असरलाई कम गर्न नेपाल सरकारले गरेका हर प्रयासहरुमा हाम्रो साथ र सहयोग सदैव रहने छ ।

स्टाण्डर्ड चार्टड बंैकले महामारीका कारण कुनै पनि कर्मचारीलाई रोजगारीबाट बर्खास्त नगर्ने घोषणा गरिसकेको छ । कर्मचारीको उत्साह नै हाम्रो सफलताको प्रमुख कारक हो । यसैगरी यस संकटको समयमा कर्मचारीको मानसिक स्वास्थ्यको महत्वलाई हामीले राम्रोसँग मनन गरेका छौं ।

सबै तह र तप्काका कर्मचारीहरुसँग भर्चुअल बैठक, अद्यावधिक जानकारी सहितको नियमित सञ्चार सम्प्रेषण तथा आवश्यकतामा उपलब्ध हुने उपायसहित हामी हाम्रा कर्मचारीहरुसँग निरन्तररुपमा आबद्ध भइरहेका छौं ।

हामी नियमितरुपमा ग्राहककेन्द्रि त भइरहने छौं । ग्राहकहरुको आवश्यकता बुझेर सोलाई प्रभावकारी ढंगले सम्बोधन गर्न बैंकहरुले उनीहरुसँग नजिकको सम्पर्क कायम गर्नुपर्दछ । दिगोपनाको पक्षलाई ध्यान दिँदै आफू अवस्थित वा  कार्यसंचालन गरेको समुदायलाई सघाउन स्टाण्डर्ड चार्टड बैंक सँधै तत्पर रहेको छ ।

यसै क्रममा कोभिड-१९ प्रभावितहरुका लागि हामीले पाँच करोड अमेरिकी डलर बराबराको अन्तराष्ट्रिय सहायताको घोषणा गरिसकेका छौं । यसका अरितक्त कोभिड-१९ सँग लड्नका लागि आवश्यक बस्तु तथा सेवाहरु उपलब्ध गराउने कम्पनीहरुका लागि सुविधायुक्त दरमा एक अर्ब अेमेरिकी डलर बराबरको ऋण लगानीको प्रतिबद्धता गरिएको छ । भने राष्ट्रस्तरमा पनि सहयोगको कार्यलाई अगाडी बढाउन हामी दिगो तथा प्रभावकारी कार्यक्रमहरुको मूल्यांकन गरिरहेका छौं ।

हामी आशावादी छौं र अर्थतन्त्रलाई प्रतिरोधात्मक बनाउँदै सहयोग प्रदान गर्ने कार्यलाई निरन्तरता दिइरहने छौं ।

राष्ट्र बैंकले केही दिनअघि ल्याएको सहुलियत प्याकेजलाई कसरी लिनुभएको छ ?

राष्ट्र बैंकको नौ बुँदे परिपत्र बैंक तथा वित्तिय संस्था र ग्राहकहरु दुबैको रक्षा गर्न र दुबैलाई अत्यावश्यक राहत प्रदान गर्नतर्फ केन्दि्रत छ । पुँजी, तरलता, कर्जा ब्यवस्था, नियामक अनुपात र नियामक रिपोटिको प्रावधान लगायतले बैंकहरुलाई केही राहत दिएको छ । हालको तनावयुक्त वातावरणमा प्रति-चक्रीय बफरको खारेजी तथा पुनलगानीको क्षमतामा बृद्धिले बैंकिङ क्षेत्रलाई बजारमा कर्जाप्रवाह कायम राख्न बल दिने अपेक्षा गरिएको छ ।

हाम्रो पुस्ताले यस प्रकृतिको विश्वमहामारीको सामना पहिलोपटक गरेकोले हामी अझै पनि सिकाईकै क्रममा छौं । आफूले हासिल गरेको तथ्य र प्रतिक्रियाको आधारमा नेपाल राष्ट्र बैंकले सहयोगीको भूमिका निभाइरहेको छ । बैंक तथा ग्राहकवर्ग दुवैका लागि आवश्यक अतिरिक्त सहायताबारे राष्ट्र बैंकले विचार गरिरहेको छ भन्नेमो ढुक्क छौं ।

अहिले सबैको ध्यान भौतिक बैंकिङबाट हटेर विद्युतीय बैंकिङतर्फ छ । यसले बैंकहरुलाई दिर्घकालसम्म आफ्नो खर्च ब्यवस्थापन गर्न र ग्राहकहरुलाई सुविधायुक्त बैंकिङको अवसर प्रदान गर्न (जुन हाम्रो बैंकको पहिल्यैदेखिको दृष्टिकोण हो) मा सहजीकरण गर्ने अपेक्षा गरिएको छ । वर्क फर्म होम (घरबाट काम गर्ने) आजको दिनमा प्रचलित शब्दावलीको रुपमा स्थापित भएको छ । यस अवधारणाले बैंकहरुलाई प्रणालीगत संयोजन, विद्युतीय जानकारी तथा ब्यापार निरन्तरताको ब्यवस्थापन लगायतको विद्यमान पूर्वाधारमाथि चिन्तनमनन गर्न ढोका खोलीदिएको छ ।

अहिले नेपाल सरकार र राष्ट्र बैंकले बैंकिङ क्षेत्रका लागि चाल्नुपर्ने कदमहरु के-के हुन् ?

कोभिड-१९ को प्रभाव हरेक दिन बढिरहेको छ । हालसम्म अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले चालेका कदमहरु सकारात्मक दिशातर्फ लक्षित छन् । यस अवस्थामा हामीले बिस्तारित वित्तीय नीति र सबैको समस्या सम्वोधन गर्ने खालको मौदि्रक नीतिको आशा राखेका छौं । बजारमा तरलता र लगानी अवस्थाप्रति ध्यान यथावत राख्नुपर्छ । वर्क फर्म होम, कार्यालय समयको विभाजनमा आधारित ब्यवस्था र यस्तो ब्यवस्थाको दिर्घकालीन असर लगायत काम गर्ने नविन तरिकाहरुबारे नयाँ नीतिगत निर्देशिकाको खाका तयार गरिनु पर्दछ ।

बैंकहरुको ब्यापार निरन्तरता ब्यवस्थापनको पर्याप्तता तथा प्रभावकारीताको समिक्षा गरिनु पर्दछ । नियामक लेखापरिक्षणप्रतिको उदासिनता वा लेखापरिक्षण प्रतिबेदन बुझाउनमा ढिलाइ वा कम बिस्तृत प्रतिबेदन लगायतबारे जाँचपड्ताल गरिनु पर्दछ । विशेषगरी घरबाट काम गर्ने सवालमा साइबर सुरक्षाको विषयलाई गम्भिररुपमा ध्यान दिइनु पर्दछ ।

अन्तमा, स्टाण्डर्ड चार्टडको हालको वित्तीय अवस्था कस्तो रहेको छ ?

स्टाण्डर्ड चार्टड उच्च तरलता र बलियो पुँजीगत अवस्थामा रहेको बैंक हो । हामीसँग स्पष्टरुपमा तोकिएको कर्जा जोखिम बहन क्षमता छ र यसै क्षमताभित्र आधारित भएर हामी सञ्चालित छौं । अहिले हामी कोभिड-१९ को प्रभावबाट चाँडै नै पार पाउने अवस्थामा छौं ।

हामी ब्यवसाय सञ्चालनमा खुल्ला छौं । हाम्रा सबै प्रमुख सूचकहरु स्वस्थ र बैंकिङ क्षेत्रको मापदण्डभित्रै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment