Comments Add Comment

मनकारी मन्डेकाजी, दुःखमा परेकालाई सहयोग गर्दै

१२ वैशाख, काठमाडौं । कराँते खेलाडी मन्डेकाजी श्रेष्ठ खेलमा मात्र पोख्त छैनन् समाजसेवामा पनि अगाडि छन् । आफूले खेलमा सफलता हासिल गर्न जति उनले दुःख गरेका छन्, अरुको दुःख पनि त्यति नै बुझ्छन् ।

नेपालमा गत मंसिरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा दोहोरो स्वर्णपदक जितेका मन्डेकाजीले अहिले लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गरिरहेका छन् ।

सहयोग गर्ने क्रममा सागमा दुई स्वर्ण जितेवापत पाएको पुरस्कारको केही रकम पनि खर्च गरेको उनी बताउँछन् । एक हप्ताअघि मात्रै मन्डेले १३औं सागमा जितेको दुई स्वर्ण वापत सरकारबाट २२ लाख पुरस्कार पाएका थिए ।

विश्वरभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न नेपाल एक महिनादेखि लकडाउनमा छ । यस्तो अवस्थामा दुःखमा परेका मानिसहरुलाई कराते खेलाडी मन्डेकाजीले विभिन्न स्थानीय संस्थाहरुसँग मिलेर सहयोग गरिरहेका छन् । मुख्य गरी खान नपाएकाहरुलाई खाना खुवाउने व्यवस्था गर्ने र अन्य आवश्यक सामाग्रीहरु वितरण गर्ने काम उनको टिमले गरिरहेको छ ।

‘जोन्ता क्लब काठमाडौं र रोटरी क्लब काठमाडौं मिडटाउनसँग मिलेर हामीले सहयोग गरिरहेका छौं । ५-६ दिनदेखि कठिन अवस्थामा रहेकाहरुलाई खानादेखि विभिन्न सामाग्रीहरु सहयोग गरेका छौं,’ मन्डेकाजीले अनलाइनखबरसँग भने । उनले व्यक्तिगत रुपमा पनि आफ्नो रकम खर्च गरेको सुनाए ।

‘अरुको दुःख देख्न नसकेपछि म र मेरै साथी रामहरी श्रेष्ठको नेतृत्वमा युवाहरु परिचालन गरेका छौं,’ उनले भने, ‘हामीले मात्र खान पाएर भएन, अरुले खान नपाएको विभिन्न सञ्चारमाध्यममा देखिराछौं । सहयोग गर्ने यस्तै बेला त हो भनेर मैले नै प्रस्ताव राखेको थिएँ ।’

मन्डेको टिमले विशेषगरी बाटोमा हिँड्ने मानिसहरुलाई खाजा र खाली खुट्टा हिँड्नेहरुलाई जुत्ताको व्यवस्था गरेको छ । ‘कोही खाली खुट्टा हिँडेका छन्, जुत्ता छैन, घाउ भएको छ । कसैको चप्पल मात्र छ । त्यस्ता व्यक्तिहरुलाई खाजाको साथै नयाँ स्पोर्ट्स सुज नै दिएका छौँ ।’ मन्डेले भने । यस्तै विभिन्न वृद्ध आश्रममा समेत सहयोग गरिरहेको उनले बताए ।

भोलिदेखि अर्को एउटा संस्थाले पनि सहयोग गर्न लागेको मन्डेले बताए । ‘उहाँहरुले ६-७ सय प्याकेट खाजा पठाउँदै हुनुहुन्छ । सबैले साथ दिइरहनुभएको छ ।’

कराते खेलाडी मन्डेकाजीले आफ्नै खर्चमा मास्कसमेत काठमाडौं उपत्यका बाहिर पठाएको बताए । ‘तराईमा मैले आफ्नै खर्चमा मास्कहरु पठाइरहेको छु । सर्लाहीमा एक हजार थान पठाएँ, धनगढीमा पाँच सय थान पठाएँ,’ उनले भने । यसका लागि फ्याक्ट्री र विभिन्न मेडिकलहरुसँग सहकार्य गरेको उनले सुनाए ।

कराँते खेलाडी मन्डेकाजीले २०७२ को भूकम्पको बेला पनि सहयोग गरेका थिए । उनले कठिन अवस्थामा रहेको खेलाडीहरुलाई समेत सहयोग गरेका छन् । कुनै ठाउँमा कसैलाई गाह्रो परे खबर गर्न पनि उनले भनेका छन् । ‘यदि कसैलाई गाह्रो परेको छ भने भन्नुहोला म सहयोग गर्न तयार छु,’ उनले भने ।

एक हप्ताअघि मात्र मन्डेले १३औं सागमा जितेका दुई स्वर्णवापत २२ लाख रुपैयाँ पुरस्कार सरकारबाट पाएका थिए । यस्तो कठिन अवस्थामा पनि खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले खेलाडीको बैंक खातामा पैसा हालिदिएको भन्दै मन्डेले धन्यवाद दिए ।

मन्डेकाजीले भने, ‘यस्तो अवस्थामा पनि उहाँहरुले खेलाडीहरुको बैंक खातामा पैसा हाल्दिनुभएको छ । ढिलो भए पनि, राम्रो काम भएको छ । खेलाडीहरु पनि खुशी भएका छन् । केही खेलाडीको अझै बाँकी छ । उनीहरुको पनि बैक खातामा पनि चाँडै जम्मा हुन्छ भन्ने आशा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment