Comments Add Comment

‘प्रवासीको भोट र नोट काम लाग्ने, आफू जोगिन छोरालाई पारि राख्ने ?’

१२ वैशाख, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले कोरोना भाइरस (कोभिड-१९) संक्रमणविरुद्ध लड्ने बेला गुट र फुटमा नलाग्न सरकारको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार बिहान बसेको समितिको बैठकमा कोभिड-१९ ले नेपालमा परेको प्रभाव र यसको प्रभावकारी समाधानको विषयमा छलफल भएको थियो । छलफलमा सहभागी सांसदहरूले सरकारको कार्यशैलीको आलोचना गरे । खासगरी भारतीय भूमिमा रहेकालाई स्वदेश फर्किन नदिएको, कोरोना परीक्षणको दायरा कम भएको लगायतका विषयमा सांसदहरूको असन्तुष्टि थियो ।

राष्ट्रिय सभामा नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले भारतीय सीमामा रोकिएकालाई स्वदेश ल्याउन, सहरी मजदुरलाई खाने बस्ने प्रवन्ध मिलाउन र कोरोना संक्रमित फेला परेका क्षेत्रमा परीक्षणको दायरा बढाउनुपर्ने बताए ।

उनले भने, ‘महाकालीपारि रहेकालाई वारि ल्याएर राखौँ । वारि सीमामै उपचार गरौँ। निको भएपछि घर पठाऔँ । निको नभए अस्पताल पठाऔँ । म सुरक्षित रहन छोरोलाई पारि राख्ने ? यो ठिक भएन ।’

भारतको नक्कल गर्न खोजिएको भन्दै उनले नेपाल सरकार गैरजिम्मेवार बन्न नहुने बताए । शर्माले भने, ‘जो जहाँ हो त्यहीँ बसौँ सरकार भन्छ, भारतमा मोदीले भने भनेर हामीले पनि त्यही भन्ने ? यो व्यक्तिगत रुपमाभन्दा मलाई ठिक लागिरहेको छैन । उनीहरूको भोट काम लाग्ने, रेमिट्यान्स नोट काम लाग्ने, अहिले संकटमा गैरजिम्मेवार बन्नु हुँदैन ।’

कोरोना प्रभावित क्षेत्रमा चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री अभाव भएको भन्दै उनले तत्काल पर्याप्त व्यवस्था गर्न सरकारलाई सुझाव दिए ।

बैठकमा सहभागी कांग्रेस सांसद रमेशजंग रायमाझीले कोरोनाको संकटको बेला अध्यादेश ल्याएर सरकारले अन्यत्रै ध्यान मोड्न खोजेको आरोप लगाए । उनले भने, ‘कोरोनाविरुद्ध लडाइँ लड्ने बेला सरकार सांसद अपहरण गर्ने, पार्टी फुटाउन लाग्ने, विभिन्न आयोग गठन गरेर कार्यकर्तालाई जागिर खुवाउन तिर लाग्यो, यो ठिक भएन ।’

बैठकमा सांसदहरूले कोरोना रोकथाम तथा नियन्त्रणमा तीन तहबीच तालमेल नमिलेको र कोरोनाको जोखिम क्षेत्र निर्धारण गरेर काहीँ खुकुलो तथा काहीँ कसिलो बनाउनुपर्ने बताए ।

बैठकमा समिति सभापति तारादेवी भट्टसहित दिनानाथ शर्मा, रमेशजंग रायमाझी, महेश कुमार महरा, विमला राई पौड्याल, गंगाकुमारी बेल्बासे र शारदादेवी भट्ट सहभागी थिए ।

बैठकको अन्तमा समिति सभापति भट्टले, सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्, ‘यो विषम परिस्थितिमा गुट र फुटतर्फ ध्यान गर्न हुँदैन । म सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु । संविधान विपरीत जाने छुट कसैलाई छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment