१२ वैशाख, विराटनगर । कोशी अस्पताल विराटनगरको कोरोना विशेष अस्पताल ५० शय्याको छ । तीमध्ये आधा पछिल्लो एकसातामा भरिएको छ । १२ भारतीय र १६ जना नेपाली कोरोना भाइरस संक्रमित उपचाररत छन् । भोजपुरका एक युवक पनि शुक्रबार यहीँ भर्ना हुँदैछन् ।
संक्रमित थपिँदै गर्दा चिकित्सकसहित स्वास्थ्यकर्मीको टिम दह्रो मनोबलका साथ खटेको छ । संक्रमितलाई ‘रिसिभ’ गर्न मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्र आफैँ पुग्छिन् । उनी एक साताअघि राति १ बजे १२ जना र मंगलबार राति ८ जनालाई अस्पतालमा भर्ना गराएर घर गइन् । ‘असाध्य राम्रो ‘टिमवर्क’मा छौँ’ डा. मिश्र भन्छिन्, ‘सबैको साथ पाएका छौँ ।’
कोरोना अस्पताल तयार रहेकाले शुक्रबार एकैपटक १२ संक्रमितलाई सम्हाल्न गाह्रो नभए पनि त्यहाँ खटिने पाँच डाक्टरसहित २६ जनाको टिममा मनोवैज्ञानिक त्रास थियो । तर, अहिले सबै सहज भइसकेको डा. मिश्रले बताइन् ।
अस्पतालमा फिजिसियन दीपक सिग्देलको नेतृत्वमा नर्सिङ स्टाफ, पारामेडिक्स र प्राविधिक टोली खटिएको छ । डा. सिग्देलको टिममा डा. भुपेशमान राजभण्डारी, डा. हरि खनाल, डा. त्रिनेत्र कर्ण र डा. प्रमोद साह छन् ।

चार जना ‘अनडिउटी’ (छ घन्टा) मा हुन्छन् भने एकजना ‘डाक्टर अन कल’मा हुन्छन् । पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) सेट लगाएर छ घण्टाभन्दा बढी ड्युटी गर्न नसकिने डा. मिश्र बताउँछिन् ।
उनकाअनुसार यसरी उपचारमा खटिने डाक्टरसहित २६ जनाको टिमलाई एक हप्तामा अर्को टिमले पालो दिन्छ । पालो पाएको टिमलाई २१ दिन क्वारेन्टाइनमा राखेर कोरोना संक्रमण भए/नभएको परीक्षण गरिन्छ । नतिजा नेगेटिभ आए फेरि ड्युटीमा फर्कन्छन् ।
‘फ्रन्टलाइन’मा काम गर्ने टिमका सदस्यहरू अहिले पनि ड्युटी सकेर परिवारबाट टाढा होटलमा बस्छन् । टिमका डा. भुपेश राजभण्डारी भन्छन्, ‘अहिले पनि नियमित ड्युटी जस्तै हो, तर सतर्कता बढी अपनाउनु परेको छ ।’
ड्युटी सकेर होटल गएपछि फोनमा परिवारसँग कुरा गर्ने गरेको उनले सुनाए ।
कोरोना संक्रमणको सम्भावित जोखिम आकलन गर्दै प्रदेश १ सरकारले गत चैतमा १० वटा भेन्टिलेटरसहित कोरोना विशेष अस्पताल बनाएको थियो । नभन्दै नेपालमा कोरोना तेस्रो चरण (समुदाय स्तरमा) प्रवेश गर्दा यही प्रदेशको उदयपुर कोरोनाको ‘हटस्पट’ बनेको छ ।
उदयपुरको भुल्केमा भेटिएका सबै संक्रमितको उपचार विराटनगरको यही अस्पतालमा गरिँदैछ ।