 
																			१२ वैशाख, विराटनगर । पछिल्लो समय कोरोनाको संक्रमणको ‘हटस्पट’ बनेको छ उदयपुरको भुल्के । २८ जना संक्रमित भेटिएपछि सुरक्षाकर्मीको घेरामा राखिएको यस गाउँका स्थानीयवासी त्रसित छन् ।
भुल्केको नुरी मस्जिदमा बसेका र आसपासमा ती संक्रमित भेटिएका थिए । लगत्तै गाउँलाई पूर्णरुपमा सिल गरिएको छ । तर, कोरोनाबाट बच्न अत्यावश्यक वस्तुहरुको सहज आपूर्ति हुन सकेको छैन । न मानिसहरु घरबाट बाहिर निस्किन पाएका छन्, न घरसम्म अत्यावश्यक वस्तु आपूर्तिको प्रबन्ध मिलाइएको छ ।
कोरोनाको संक्रमणबाट जोगिन अत्यावश्यक मास्क्समेत भुल्केवासीले पाउन सकेका छैनन् । त्यसैगरी हात धुने साबुन पनि अभाव छ ।
‘चार दिन यताबाट पूरै बस्ती सुरक्षाकर्मीको घेरामा छ,’ मुस्लिम अगुवा महम्मद अनुसारुले भने, ‘संक्रमणको त्रास गाउँलेमा कायम छ ।’ अत्यावश्यक वस्तु आपूर्तिका लागि स्थानीय तह र प्रदेश सरकार दुवैले ध्यान नदिएको अनुसारुले बताए ।
यसैगरी यहाँ दैनिक उपभोग्य वस्तु पनि अभाव भएको छ । दूधदेखि औषधिसम्म उपलब्ध नहुँदा स्थानीवासी सकसमा छन् । ‘बस्तीमा धेरै गर्भवतीदेखि सुत्केरीसँगै दूधे बालक छन्,’ मुस्लिम वस्तीकी नासुका राइनले भनिन्, ‘गर्भवतीका लागि पोसिलो खानेकुरादेखि बच्चालाई पिलाउने दूध पनि बस्तीमा आएको छैन ।’
राइनका अनुसार मुस्लिम वस्तीमा चार गर्भवती, १३ सुत्केरी, दुई अपाङ्ग र सात जना दीर्घरोगी रहेका छन् । दीर्घरोगीहरुले नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । तर, भनेको बेलामा औषधि पाउन सकेका छैनन् ।
४ वैशाखमा उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित भुल्केमा पहिलोपटक ११ भारतीयसहित १२ जनामा कोरोनाको संक्रमण देखिएको थियो । त्यसपछि पुनः सोही बस्तीमा आठ संक्रमित थपिए । बिहीबारसम्म संक्रमितको संख्या २८ पुगेको छ । संक्रमण भेटिएपछि ५७ परिवारका कुल २ सय पाँच जनाको स्वाब परीक्षण भएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो । वस्तीका पाँच वर्ष मुनिका २२ बालबालिकाबाहेक सबैको स्वाब संकलन गरिएको थियो ।
भुल्केमा कुल ३ सय ८५ घरधुरी छन् । बस्तीभित्र नुरी मस्जिद आसपास ५७ मुस्लिम परिवारको बसोबास छ ।
राहत वितरण
त्रियुगा नगरपालिकाले वस्ती सील गरेको चार दिनपछि मुस्लिम समुदायका ५० घरपरिवारलाई राहत वितरण गर्यो । स्थानीय प्रशासनले सिल गरेको भुल्केको नुरी मस्जिद आसपासका ५७ घरपरिवार मध्ये ५० परिवारलाई २० केजी चामल, आधा लिटर खाने तेल, एक पोका नुन, एक केजी दाल वितरण गरिएको मुस्लिम अगुवा महम्मद अनुसारुले बताए ।
झुल्केबासी घर बाहिर निस्किन नपाएको समयमा पालिकाले अति निम्न आर्थिक अवस्था भएका जनतालाई वितरण गरेको राहतले केही हदसम्म सान्त्वना मिलेको उनको भनाइ छ ।
त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीका अनुसार कोरोनाको उच्च जोखिम देखिएको भुल्केमा स्थानीय प्रशासनले सील गरेपछि राहत वितरणको काम अघि बढ्न सकेको थिएन । सिल भएको चार दिनपछि स्थानीय प्रशासनको सहयोगमा उनीहरुलाई राहत वितरण भएको मेयर चौधरीले बताए ।
 
                









 
                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4