Comments Add Comment

कोरोनाको महामारीपछि बढ्छ राष्ट्रवाद, निगरानी र तानाशाह

१३ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पछि विश्वभर अमेरिकाको सट्टामा चीनको प्रभाव बढ्ने विश्लेषण हुन थालेको छ । केहीले भने चीनको नेतृत्व पनि कमजोर हुने बताइरहेका छन् भने कतिपयले यो महामारीपछि विश्वव्यापीकरणको अन्त्य हुने बताइसकेका छन् ।

केही विश्लेषकले विश्वभर यो महामारीपछि नयाँ किसिमको सहयोग आउन सक्ने बताइरहेका छन् । केहीले भने विश्वभर नयाँ राष्ट्रवादलाई यो महामारीले बढावा दिने र निःशुल्क व्यापार पनि कठिन हुन सक्ने बताइएको छ । मनोमानी तरिकाले शासन गर्ने नेताले कोरोना भाइरसको फाइदा उठाएर आफू बलियो बन्नेछन् र उनीहरुको निरंकुशता बढ्नेछ । साथै जनतामाथि विभिन्न किसिमको प्रतिबन्ध र निगरानी थपिन सक्छ ।

यहाँ विश्वभरका विश्लेषक, अर्थशास्त्री र दर्शनिकहरुको विचार यहाँ उल्लेख गरिएको छ –

श्लोमो बेन– एमी

इजरायलका पूर्वविदेशमन्त्री तथा टोलेडो इन्टरनेशनल सेन्टर फर पीसका उपाध्यक्ष श्लोमो बेन–एमीले ‘स्कार्स अफ वार’ र ‘वुन्ड अफ द पीसःल इजरायल अरब ट्र्याजिडी’नामको दुई किताब पनि लेखेका छन् ।

उनी भन्छन्, ‘मानिस र सामानको आवागमन यो विश्वभर सधैंभरी रहँदै आएको छ । महामारीको पनि मानव सभ्यतामा अनिवार्यता रहँदै आएको छ । इतिहास हेर्ने हो भने एउटा महामारी वा त्रासदीपछि एक पुरानो मान्यता टुट्छ र नयाँ कुरा देखिनेछ । समग्र व्यवस्था नै सिफ्ट हुन्छ ।’

उनका अनुसार यस किसिमको महामारीमा सरकारको तयारीको पोल खुल्छ । यसअघिका महामारीमा पनि विभिन्न सरकारहरु महामारी नियन्त्रणको लागि असफल देखिएका थिए र अहिले पनि त्यो क्रम चलिरहेको छ । नेताहरुमा दूरदर्शिताको अभावले महामारीमा मानिसहरुको बच्ने कुनै विकल्प बाँकी रहँदैन । बध्यतामा भौतिक दूरी कायम राख्नुलाई एकमात्र विकल्पको रुपमा हेरिन्छ । श्लोमो महामारीको समयमा विभिन्न किसिमको अफवाह फैलिनुलाई सामान्य मान्छन् । यसअघिका महामारीमा पनि उल्लेख्य मात्रामा अफवाहहरु फैलिएका थिए ।

उनका अनुसार अहिलेको जस्तै यसअघिका महामारीमा पनि विश्वभर उल्लेख्य मात्रामा आर्थिक क्षति भएको थियो । उनका अनुसार महामारीले अर्थतन्त्र मात्र नभई समग्र सामाजिक विषमता पनि बढ्छ । महामारीले धनी र गरिब त भन्दैन तर महामारीमा बचेका गरिबहरुलाई जीवन धान्न निकै कठिन हुन्छ ।

महामारीको दोष एउटाले अर्कोलाई लगाउने चलन पनि यसअघिका महामारीमा हुँदै आएको श्लोमको भनाइ छ । अहिले पनि फाइभजी प्रविधि, अमेरिकी सेना, चिनियाँ सेना र यहुदीसम्मलाई यो महामारीको कारण बनाइएको छ ।

महामारीपछि आउन सक्ने परिवर्तनको विषयमा भने श्लोम निकै रोचक उदाहरण दिन्छन् । यसअघि मसलन, एन्टोनाइन र जस्टिनियन महामारीपछि युरोपमा इशाई धर्मको प्रचार भएको थियो । ब्ल्याक डेथ महामारीपछि मानिसहरुमा धर्मप्रति आस्था कम भएको थियो भने मानवताको दृष्टि भने बढेको थियो । त्यस्तै स्पेनिश फ्लुपछि मजदूर आन्दोलन सुरु भएको थियो । भारतमा महामारीपछि मानिसहरु स्वतन्त्रताको आन्दोलनमा होमिएका थिए । दुई विश्वयुद्धपछि संकीर्ण राष्ट्रवादले विश्वमा शान्ति र स्थिरता कायम हुन नसक्ने साबित भएको थियो । श्लोमकाअनुसार अहिले कोरोना भाइरसको महामारीले सबैको मुलुक, राज्य र अन्तर्राष्ट्रिय संस्थाको बीचमा सन्तुलन आवश्यक रहेको संकेत दिएको छ ।

युवाल नोओ हरारी, इतिहासकार तथा दर्शनशास्त्री

इतिहासकार तथा दर्शनशास्त्री हरारी यो महामारीपछि गुप्तचरको राज हुन सक्ने बताउँछन् । उनले फाइनान्सियल टाइम्सको एक आलेखमा महामारीपछि सरकारका ठूला कम्पनीहरु मानिसलाई ट्र्याक गर्ने, नियमन गर्नेलगायतका काम सुरु गर्ने बताउँछन् । त्यसका लागि उनीहरुले अत्याधुनिक प्रविधिको प्रयोग गर्ने हरारीको ठम्याइ छ । उनले त्यसका लागि सबै मानिस सचेत हुनुपर्ने बताउँछन् । उनका अनुसार महामारीपछि अहिलेसम्म मानिसहरुले अस्वीकार गर्दै आएको व्यवस्था लागू गर्न सरकारलाई सहयोग पुग्नेछ । यतिमात्र होइन, अहिले हुने गरेको ‘ओभर द स्किन’को सट्टामा अन्डर द स्किनको माध्यमबाट मानिसको निगरानी हुनेछ ।

उनका अनुसार अहिलेसम्म मानिसको औंलाले एकम क्लिको आधारमा इन्टरनेटको सबै गतिविधि सरकारले थाहा पाउने गर्थ्यो । तर, अब भने सरकारले मानिसको औंलाको तापमान र ब्लड प्रेशर पनि मापन गर्न सुरु गर्नेछ ।

मानिसको गोप्य विवरण पनि सरकारले राख्ने काम यो महामारीपछि बढ्न सक्छ । महामारीपछि मानिसको सबै स्वास्थ्य अवस्थाको जानकारी दिने प्रविधिको सहयोगमा उनीहरुको भावनामाथि खेलवाड हुने खतरा बढी हुन्छ । यस किसिमको प्रविधि कुनै पनि महामारी नियन्त्रणको लागि भनेर अहिले अघि सारिए पनि आगामी दिनमा सोही प्रयोजनका लागि नभई यसको दुरुपयोग हुने खतरा रहेको हरारीको भनाइ छ ।

हरारीका अनुसार यो महामारी मानिसको अधिकार र कर्तव्यबीचको लडाइँ हो । हामीले यो अवस्थामा सही निर्णय गर्न सकेनौँ भने हाम्रो सबैभन्दा मूल्यवान् वस्तु स्वतन्त्रता गुम्ने खतरा हुनेछ ।

अमर्त्य सेन

अर्थशास्त्रमा नोबेल पुरस्कार जितेका अमर्त्य सेनले फाइनान्सियल टाइम्समा लेखेअनुसार महामारीभन्दा पहिला पनि विश्वभर समस्या कम भने थिएन । चरम विषमता देखिँदै आएको थियो । यो विषमता सबैजसो मुलुकमा छ । अहिले विश्वको सबैभन्दा धनी मुलुक अमेरिकामा लाखौँ मानिसहरु मेडिकल सुविधाबाट बञ्चित छन् । लोकतन्त्रविरोधी राजनीति ब्राजिलदेखि बोलिभियासम्म र पोल्याण्डदेखि हंगेरीसम्म बलियो हुँदै गएको छ ।

सेन यो महामारीपछि सबैको साझा अनुभवले मानिसहरुलाई यसअघिको समस्याको समाधान खोज्न सहयोग पुग्ने बताउँछन् । तर, त्यसका लागि सबै मिलेर यो महामारीको सामना गर्नुपर्ने उनको भनाइ छ । संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको जन्म दोस्रो विश्वयुद्धपछि भएको उनले बताए ।

यो युद्धको क्रममा बेलायतमा खाद्य संकट गहिरिएको थियो । साथै कुपोषणले पनि विकराल रुप लिएको थियो तर युद्ध सकिएपछि बेलायतले निकै खाद्य संकटलाई निकै राम्रो तरिकाले व्यवस्थापन गर्‍यो । यस्तोमा यो महामारीपछि पनि चाहेको खण्डमा अहिले देखिएका समस्याबाट पार पाउने अवसर समग्र विश्वलाई रहेको उनको भनाइ छ ।

यो महामारीपछिको आशाबारे सेन भन्छन्, ‘कुनै पनि संकटबाट पार पाउन हामीले कुन तरिका अपनाउँछौं भन्ने कुराले हामीले के पाउँछौं भन्ने निर्धारण गर्छ ।’ सेन समानतामा बढी ध्यान दिनुपर्नेमा जोड दिन्छन् । उनका अनुसार बढी विषमता भएको मुलुकमा महामारीको जोखिम बढी छ ।

स्टिफन एम वाल्ट

हार्वर्ड युनिभर्सिटीका इन्टरनेशनल रिलेशनका प्राध्यापक वाल्टका अनुसार सरकार अझै बलियो हुने र समग्र विश्वभर राष्ट्रवादलाई बढावा मिल्नेछ । सरकार यसबाट पार पाउन आपतकालीन अवस्थाको नियम लगाउनेछ र माहामारी सकिएपछि पनि यी कानूनको प्रयोग आफ्नो फाइदाको लागि कायम राख्नेछ ।

वाल्ट भविष्यवाणी गर्दै पश्चिमी मुलुकको क्षमता पूर्वतर्फ सर्ने बताउँछन् । दक्षिण कोरिया र सिंगापुरले यो महामारीलाई निकै राम्रो तरिकाले सामना गरेका छन् । चीनले पनि सुरुवातमा गरेको गल्तीलाई सच्याउँदै सम्हालिने प्रयास गर्दा अमेरिका र युरोप भने यो महामारीमा निकै कमजोर देखिए । यस्तोमा महामारीपछि विश्वको नेतृत्व पनि पश्चिमा मुलुकको हातबाट गुम्न सक्ने उनको भनाइ छ । यो महामारीपछि विश्व कम खुला, कम सम्पन्न र कम स्वतन्त्रता भएको हुने उनको ठम्याइ छ ।

रिचर्ड एन हास

काउन्सिल अन फरेन रिलेशनका प्रमुख रिचर्ड एन हासले फरेन पोलिसी म्यागाजिनमा अमेरिकी मोडल महामारी आउनुभन्दा पहिला नै असफल भइसकेको बताउँछन् । उनका अनुसार अमेरिकी मोडलको असफलता सन् २००८ को आर्थिक संकटमा पनि देखिएको थियो । सोही क्रम अहिले पनि देखिएको छ । उनले कोरोना भाइरसको महामारी विश्वभर फैलिएसँगै विश्वभरका मुलुकको शक्ति परीक्षण पनि भएको बताए । उनका अनुसार यो परिस्थितिलाई विश्वभरका सबै मुलुक मिलेर सामना गर्नुपर्नेमा एकले अर्कोको आलोचनामा नै समय बिताएको उनको भनाइ छ । उनका अनुसार अहिले अमेरिका र चीन यो महामारीमा नतिजा आफ्नो पक्षमा पार्ने प्रयासमा छन् ।

फ्रेडरिका मोगेरिनी

युरोपेली युनियनकी विदेशी मामिला तथा सुरक्षा नीतिकी प्रतिनिधि बनिसकेकी फ्रेडरिका मोगेरिनीले प्रोजेक्ट सिण्डिकेटमा लेखेको एक आलेखमा यो महामारीले केही स्पष्ट संकेत दिइसकेको बताउँछिन् । कुनै एक मुलुकबाट सुरु भएको यो महामारी विश्वभर फैलिसकेको कारण अब राष्ट्रियता, नश्ल, लिंग र धर्मले कुनै अर्थ नराख्ने बताउँछिन् । उनका अनुसार छिमेकीको अवस्थाअनुसार तपाईंको भविष्य निर्धारण हुन्छ । यदि तपाइँको छिमेकी समस्यामा छ भने तपाइँको पनि समस्या पनि बढ्छ । त्यसैले अन्तर्राष्ट्रिय संगठनमा लगानी बढाउनु जरुरी रहेको उनको भनाइ छ । त्यसका लागि सबै एकजुट हुनुपर्ने उनको बुझाइ छ ।

कोरी शेक्स

इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्र्याटेजिक स्टडिजकी उपमहानिर्देशक कोरी शेक्स यो महामारीपछि अमेरिकाले विश्वको नेतृत्व गर्न नसक्ने बताउँछिन् । उनका अनुसार अमेरिकाले अहिले महामारीलाई सही तरिकाले सम्हाल्न सकिरहेको छैन । त्यसैले अबको विश्वव्यापीकरण चीन केन्द्रित हुने उनले बताइन् । यसको सुरुवात अमेरिकामा राष्ट्रपतिको रुपमा ट्रम्प आएपछि सुरु भएको थियो । अहिले तीव्र गतिमा बढिरहेको छ । अहिले अमेरिकामा विश्वव्यापीकरण र अन्तर्राष्ट्रिय व्यापारबाट भरोसा उडिसकेको उनले बताइन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment