Comments Add Comment

‘धौलागिरिका स्वास्थ्यकर्मीले हिम्मत देखाए, धेरैधेरै धन्यवाद’

Photo Credit : ऋषिराम गोतामे
शुक्रबार राति डिस्चार्ज भएकी अंशु सापकोटाको साथमा धवलागिरि अञ्चल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको टोली ।

१३ वैशाख, पोखरा । फ्रान्सबाट फर्किएकी बागलुङ नगरपालिका-४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि गण्डकी प्रदेशमा खैलाबैला मच्चियो । उपचारका लागि पोखरा लैजाने कि टेकु (शुक्रराज ट्राफिकल तथा सरुवा रोग अस्पताल) लैजाने भन्ने छलफल चल्यो ।

तर, धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र बिके पोखरेलले बागलुङमै उपचार गर्ने हिम्मत देखाए । उनको उपचार भइरहँदा उनीसँगै आएकी ६५ वर्षीया मनकुमारी पौडेलमा पनि कोरोना संक्रमण देखियो । उनको पनि त्यही उपचार भयो ।

दुवै निको भएर घर फर्किएका छन् । मनकुमारी ६ गते र अंशु शुक्रबार डिस्चार्ज भएका हुन् ।

‘बागलुङका डाक्टर गोदबाको दाबेदार’

प्रदेशकै ठूला अस्पताल र राम्रा भनेका डाक्टर पनि उनीहरूको उपचार गर्न अत्तालिएका बेला धौलागिरि अस्पतालका डाक्टरकै आत्मविश्वासका कारण उपचार सम्भव भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

मेसु शैलेन्द्र बिके पोखरेल

शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बागलुङका डाक्टर, नर्सलाई पटकपटक धन्यवाद दिए । ‘धौलागिरि अस्पतालका डाक्टरहरूलाई धन्यवाद दिन चाहन्छु । शैलेन्द्र पोखरेलजी त्यहाँको मेसु हुनुहुन्छ । प्रदीप श्रेष्ठजी आईसीयु र बिरामी धेरै हेर्ने डाक्टर हो । नर्स दिदीबहिनी र चिकित्सक सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘उहाँहरूको हिम्मतकै कारण यो सम्भव भएको हो ।’

अंशु सापकोटा संक्रमित भएको पुष्टि भएपछि उपचारमा कोही पनि तयार नभएको अवस्थामा बागलुङका डाक्टरले हिम्मत देखाएको मुख्यमन्त्रीको भनाइ थियो । ‘टेकु लाने कि, पोखरा ल्याउने कि, बागलुङमै उपचार गर्ने भनेर कुराकानी गर्दा शैलेन्द्रजीले बागलुङमै राख्नुस्, म उपचार गराउन सक्छु भनेर हिम्मत गर्नुभयो । अहिले गोदबा (गोरखा दक्षिण बाहु) पाउने स्थिति भएको भए त गोदबा प्रथम पाउने मान्छे हो उहाँ चाहिँ,’ मुख्यमन्त्री गुरुङले भने, ‘अस्पतालका डाक्टरहरु, नर्सहरू, म्यानेजिङ कमिटीका केबी राना, शालिकराम शर्मालगायतका सबै साथीको एकदमै ठूलो भूमिका छ । म धन्यवाद दिन चाहन्छु ।’

मुख्यमन्त्री गुरुङले कोरोनालाई जितेर डिस्चार्ज भएका अंशु र मनकुमारीलाई शुभकामना दिए ।

अंशु र मनकुमारी निको भएर घर गएसँगै गण्डकी प्रदेश कोरोनाको ग्रिन जोनमा पुगेको उनको दाबी छ । तर, मान्छे ओसार्ने होडबाजीले फेरि जोखिम बढाएको भन्दै उनले भने, ‘गण्डकी प्रदेशको स्थितिलाई एकदमै कन्ट्रोलमा ल्यायौँ भन्न नपाउँदै विभिन्न जिल्लाबाट मान्छे ल्याउने क्रम चलिरहेको छ । कोरोनाको संवेदनशीलतालाई नेपालीले अझै बुझेको छैन जस्तो लाग्छ । संक्रमित देखिएको जिल्लाबाटै मान्छे आउने क्रम जारी छ, जसले जोखिम बढायो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment