Comments Add Comment

क्वारेन्टाइनमा बसेका ११२ नेपाली स्वदेश आए, १५४ भारतीय गए  

१३ वैशाख, बुटवल । रुपन्देहीको भैरहवा-सुनौली नाकामा भारतीय पक्षले स्थापना गरेकाे क्वारेन्टाइनमा २५ दिन बसेका एक सय १२ जना नेपालीलाई शनिबार स्वदेश ल्याइएको छ । यसअघि शुक्रबार पनि एक सय दुई जनालाई नेपाल ल्याइएको थियो । सीमा क्षेत्रको क्वारेन्टाइनमा तीन सय ३५ नेपाली थिए ।

भारततर्फको क्वारेन्टाइनमा बसेका नेपालीहरूलाई तीन चरणमा स्वदेश फर्काइने प्रदेश ५ का सांसद सन्तोष कुमार पाण्डेयले बताए ।

शनिबार अर्घाखाँची, गुल्मी, पाल्पा लगायत जिल्लाका एक सय १२ जना नेपाल फर्केको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।

आरडीटी परीक्षण गरेर मात्रै उनीहरुलाई मुलुक प्रवेश गराइएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।

भारतको क्वारेन्टाइनमा रुपन्देही, अर्घाखाँची, पाल्पा, चितवन, तनहुँ, बारा, कपिलवस्तु, प्युठान, धादिङ, बागलुङ, स्याङ्जा, जाजरकोट, खोटाङ, बाँके, मोरङ, सुनसरी र पूर्वी नवलपरासी गरी १८ जिल्लाका नागरिक छन् । यसमध्ये धेरै गुल्मी र अर्घाखाँचीका छन् ।

नेपालतर्फको क्वारेन्टाइनमा बसेका एक सय ५४ जना भारतीयलाई शनिबार उनीहरूकै देश पठाइएको छ । उनीहरू भैरहवास्थित प्रतिमान-नीमा स्मृति प्रतिष्ठानको क्वारेन्टाइनमा २५ दिन बसेर भारत फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

…अब त के बाँचुला र ?

Advertisment