Comments Add Comment

शक्तिराष्ट्रबीच दोषारोपण : कोरोना जनावरले सार्‍यो कि मान्छेले ?

१४ वैशाख, काठमाडौं । नेपालमा यतिबेला कोरोना भाइरसको भन्दा ‘राजनीतिक भाइरस’ को चर्चा बढी छ । तर, चीन र पश्चिमी राष्ट्रका वीचमा चाहिँ कोरोना भाइरसकै विषयमा दोषारोपण चलिरहेको छ । अमेरिका र चीनले मिलेर काम गर्नुपर्ने बेलामा झगडा गरिरहेका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस चमेरोबाट मानिसमा सरेको चीनले दाबी गर्दै आइरहेको छ । तर, कतिपय पश्चिमा मिडियाले चाहिँ वुहानमा रहेको एक ल्याबबाट यो भाइरस फैलिएको दाबी गर्दै आएका छन् । कतिपयले सालकबाट मानिसमा यो भाइरस सरेको बताइरहेका छन् ।

वुहानको ल्याबमा ‘इन्टर्न’ गर्ने गर्ने एक युवतीबाट यो भाइरस फैलिएको अमेरिकी अधिकारीहरुको दाबी छ । तर, चीनले यो दाबीलाई अस्वीकार गर्दै आएको छ ।

सन् २०१९ को अन्तिममा चीनको वुहानमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को महामारी अहिले विश्वभर देखिएको छ । महामारीको कारण अहिले विश्वभर करिब २५ लाख मानिस संक्रमित भइसकेका छन् । अहिलेसम्म एक लाख ८० हजारभन्दा बढी मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।

यस्तोमा विश्वका सबै शक्तिशाली मुलुकहरुले आपसमा मिलेर महामारी नियन्त्रणमा नेतृत्वदायी भूमिका खेल्ने विश्वास धेरैमा थियो । तर, त्यसको ठिक विपरीत अहिले यी मुलुकहरु एक अर्कालाई यो भाइरसको दोष थुपार्ने दिशामा अघि बढिरहेका छन् । विशेष गरी यो भाइरस उत्पत्तिको विषयमा चीन र अमेरिकाको बीचमा दोषारोपण भइरहेको छ ।

यसअघि मार्च १२ मा एक वरिष्ठ चिनियाँ अधिकारीले अमेरिकी सेनाले यो भाइरस चीनको वुहानमा भित्र्याएको आरोप लगाएका थिए । चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकाले वुहानमा यो महामारी ल्याएर छाडेको बताएका थिए । यससँगै चीनमा कोरोना भाइरसबारे अफवाह फैलाउने काम शुरु भएको थियो ।

त्यतिबेला अमेरिकामा संक्रमित र मृत्यु हुनेको संख्या निकै कम थियो । यसै बीच अमेरिकाले चिनियाँ राजदूतसँग स्पष्टीकरण पनि मागेको थियो । त्यतिबेला चीन सबैभन्दा प्रभावित मुलुक थियो । चीनले भने यो अभिव्यक्तिको बचाउ गर्‍यो ।

बिस्तारै यो महामारी युरोप र अमेरिकातर्फ फैलियो र चीनमा तुलनात्मक रुपमा भाइरस नियन्त्रणमा देखियो । त्यससँगै अहिले यो भाइरस चीनमा नै निस्किएको अफवाहहरु फैलिएका छन् ।

यसैबीच अमेरिकी गुप्तचर संस्थाले केही दिनअघि मात्र यो भाइरस बजारमा नभई चीनको प्रयोगशालामा निर्माण गरिएको हुन सक्ने सम्भावना देखिएको बताएको छ । सीएनएनले प्रकाशित गरेको समाचारमा यो भाइरस प्रयोगशालामा राम्रोसँग व्यवस्थापन गर्न नसक्दा मानिसमा सरेको र तिनै मानिसबाट अरुमा सरेको हुन सक्ने उल्लेख छ ।

तर, यस विषयमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भने यो भाइरस मानव निर्मित नभएको बताइसकेको छ । डब्ल्यूएचओका अनुसार यो भाइरस चमेराबाट मानिसमा आएको पाइएको छ । तर, चमेराबाट मानिसमा ल्याउने जनावरबारे भने अझै पनि अनुसन्धान भइरहेको छ ।

अहिलेसम्म प्राप्त भएका प्रमाणहरुले पनि यो भाइरस मानव नर्मित नभएको पाइएको छ । गत मार्चमा प्रकाशित एक अनुसन्धानको प्रतिवेदनमा यो भाइरस मानव निर्मित नभएको उल्लेख थियो । यो अनुसन्धानमा सहभागी एक शोधकर्ताले यो भाइरस प्राकृतिक रुपमा नै निस्किएको दाबी गरेका थिए । उक्त अध्ययनमा यो भाइरसको प्रकृति यसअघि नै थाहा भएका भाइरससँग तुलना गरिएको थियो । जसमा यो भाइरस मानव निर्मित नभएको पाइएको थियो ।

विशेष गरी यो भाइरसबारे धेरै हल्ला आउनुको कारण यो भाइरस कसरी मानिसमा आयो भन्ने कुरा स्पष्ट हुन नसक्नु हो । यो भाइरस चमेराबाट मानिसमा आएको बताइएको छ । तर, मानिसमा आउने माध्यम भने अझै स्पष्ट हुन सकेको छैन । केही अध्ययनले यो माध्यम सालक हुन सक्ने देखाएका छन् । यसको पुष्टि हुन भने बाँकी छ । त्यसैले विश्वका शक्तिशाली मुलुकहरु एकअर्कालाई दोषारोपणमा उत्रिएका छन् ।

स्रोत– विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment