+
+
Shares

लकडाउनको बेला दिनहुँ १८ घण्टा खटिन्छन् प्रहरी

सुत्केरी र किरियाबाहेक अरु विदा कटौती

हरि अधिकारी हरि अधिकारी
२०७७ वैशाख १४ गते १४:४३

१४ वैशाख, विराटनगर । कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि सरकारले लकडाउन आह्वान गरेको एक महिना पूरा भएको छ । लकडाउनमा सर्वसाधारणलाई घरमै राख्नका लागि चोकचोकमा प्रहरी परिचासलित छन् ।

सम्भावित जोखिम नियन्त्रणका लागि प्रहरीले दैनिक १८ घण्टा ड्युटी गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राई बताउँछन् । ‘हाम्रो ड्युटी दैनिक १८ घण्टा गर्नुपर्छ,’ राई भन्छन्, ‘सामान्य अवस्थामा १२ घण्टा हो ।’

सीमित जनशक्ति भएका कारण बिहानदेखि रातिसम्म एउटै प्रहरीले काम गर्नु पर्ने उनी बताउँछन् । मोरङमा १ एक हजार २ सय प्रहरी छन् ।

लकडाउनमा सीमित सुरक्षाका सामाग्री प्रयोग गरी काम गर्नुपर्ने उनी बताउँछन् । मास्क सेनिटाइजरलगायत केही सुरक्षा सामाग्री प्रयोग गरेर ड्युटी गर्ने गरेको उनी बताउँछन् ।

प्रदेशमा ८ हजार जनशक्ति, नाकामा ११ सय

लकडाउनमा प्रदेश १ मा ८ हजार ४ सय बढी प्रहरी जनशक्ति परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी सुमनकुमार तिम्सिनाका अनुसार नाकामा मात्र एक हजार एकसय बढी जनशक्ति खटाइएको छ ।

लकडाउनका कारण प्रहरीलाई दिइने विदा पनि कटौती भएको उनले बताए । ‘सुत्केरी र किरियाबाहेक अन्य विदा पाउँदैनन्,’ उनले भने ।

प्रदेशको जनशक्तिलाई आधार मान्दा एक जना प्रहरीले दैनिक १६ घण्टा भन्दा बढी काम गर्नुपरेको उनको भनाइ छ । ‘नाकामा त चौबीसै घण्टा ड्युटी हुन्छ,’ उनी भन्छन्, ‘लकडाउनले प्रहरीको व्यस्तता बढेको छ ।’

कोरोनाका कारण ज्यान गुमाए ५० लाख

कोरोना नियन्त्रणको फ्रन्टलाइनमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी छन् । कोरोना महामारीसँग जुध्न १ नम्बर प्रदेशमा ६ हजार ३ सय बढी स्वास्थ्यकर्मी परिचालित छन् ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले सबै स्वास्थ्य क्षेत्रका जनशक्ति परिचालन भएको बताए ।

कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएकाहरुको प्रोत्साहन बढाउन प्रदेश सरकारले कोरोनाकै कारण ज्यान गुमाएमा उनीहरुको परिवारलाई ५० लाख राहत दिने घोषणा गरेको छ ।

कोरोनाको उपचारमा खटिने चिकित्सक, सरकारी वा गैर सरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, निजामती कर्मचारी वा अन्य कुनै पदाधिकारीको कोरोना संक्रमणबाट भएर मृत्यु भएमा उनीहरुका परिवारले ५० लाख रुपैयाँ राहत पाउने छन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?