Comments Add Comment

हामी पाण्डे दाजुभाइको शरीरमा कोरोना परीक्षण गरियोस्

कोरोना भाइरसका कारण विश्व त्रसित भएको योबेला हामी दुई भाइ विश्व समुदाय र जीव वैज्ञानिकहरुलाई हाम्रो शरीरमा कोरोना भाइरसको प्रभाव परीक्षण गराउन स्वेच्छिक आह्वान गर्दछौं ।

यो केवल हाम्रो शरीरभित्र हुने जीवाणु र विषाणुबीचको एउटा युद्धमात्रै हो । यस प्रयोगमा हाम्रा शरीरभित्र रहेका जीवाणुले कोरोना, कोभिड १९ लाई जित्न सफल हुनेमा हामी दुवैलाई कुनै दुविधा र आशंका छैन । र, हामी मरेमा कसैले पनि हाम्रो परिवारलाई कुनै क्षतिपूर्ति दिनुपर्ने छैन ।

साथसाथै योबेला हामी आफूलाई कुनै कोरोना प्रभावित रोगीको सेवामा लगाउन पनि चाहन्छौं । यातायातको साधन पाए नेपालको जुनसुकै ठाउँमा गएर कोरोना संक्रमितको सक्दो सेवा गर्न तयार छौं । कोरोनाले मृत्यु भएका व्यक्तिको जाति, लिङ्ग, वर्ण, धर्मभेदविना सद्गत र क्रियाकर्म गरिदिन तयार छौं । कसैलाई खाने वस्तु र आवश्यक औषधिको अभाव भए हामी आफूले सकेको आर्थिक सहयोग गर्न पनि तत्पर छौं ।

विश्वका कहलिएका योगी, धर्मगुरु भनिएकाहरु पनि त्राहीमाम् भएर ‘दुला’ पसेका बेला यस्तो आह्वान गर्दा हामीलाई धेरैले ‘हावा, मुर्ख, घमण्डी, सस्तो प्रचारवाज’ का रुपमा लिएर खिसिट्युरी गर्न सक्नुुहुन्छ । हाम्रो यस्तो चाहना स्वेच्छिक मृत्युवरणको अधिकार नभएको देशमा अपराध पनि ठानिन सक्छ । तर, हाम्रो यो आह्वान अपराध पनि हैन, यो ‘आत्महत्या प्रयास’ पनि हैन ।

योबेला हामी दुई भाइले विगत ५० वर्षदेखि गरेको साधना र दृढ आध्यात्मिक अभिमुखीकरणबाट आर्जन गरेको ज्ञान अनि हाम्रो आन्तरिक र बाह्य शारीरिक संरचना र सामथ्र्यलाई प्रयोग गरी अहिले हाम्रा नेपाली दाजुभाइ र समस्त मानव जातिले भोगिरहेको त्रास र कोलाहललाई बन्द गर्न आफ्नो ठाउँबाट प्रयास गर्न चाहेका मात्रै हौं ।

हाम्रा आह्वानका आधारहरु

विगत ५० वर्षको योग, ब्रह्मचर्य, फलाहार, जुत्ता चप्पल वीना माटोसँगको निरन्तर संसर्ग र नुनविनाको वैकल्पिक शाकाहारको अभ्यासले विकास भएको हाम्रो रासायनिक सम्पदा र आध्यात्मिक अभिमूखीकरणले निर्माण भएको दृढ आत्मविश्वासका आधारमा हामीले यो आह्वान गरेका हौं ।

नदेखिने ब्रह्म, ईश्वर, माया, भगवान, भगवती आदि अवैज्ञानिक र अन्धविश्वास मानिने दृष्य–अदृष्य शक्तिहरूको अस्तित्व स्वीकार्ने हामी कोरोनाको अस्तित्व नस्वीकार्ने हैन । तर, उसलाई आफ्नो शत्रु ठान्दैनौं बरु आफ्नै अस्तित्वको आधार र विकासमा सहायक ठान्छौं र डराउँदैनौं ।

हामी दुबैले उपलब्ध र सम्भव भएसम्म सर्वोत्तम सात्विक भोजन गर्ने, पवित्र कमाइले खाने र सबैप्रति मनमा सद्भाव राख्ने अभ्यास सानैदेखि गर्न पायौं । यिनै अभ्यासको प्रतिफल आजको हाम्रो शरीर, मन, बुद्धि र साहस हो ।

सन्तुलित आहार–विहारले जीवाणु सक्षम बनेर विषाणुलाई परास्त गर्दै जीव विकसित हुन्छन् । विषाणु र जीवाणुको संघर्षले नै सृष्टिचक्र चलिरहने हो । विषाणु र जीवाणु बाइनरी अपोजिशन हुन्, एउटा स्थिर अर्को क्रियाशील ।

अति सूक्ष्म लेउलाई झ्याऊ (एल्जी) हुँदै विशाल वटवृक्षसम्म विकसित गराउने, अमीवालाई गड्यौला आदि हुँदै हर परिवर्तनमा एक पाइला अघि बढाएर बुद्धसम्म पुर्‍याउने यिनै दुई तत्वको संघर्षले हो । आफ्नै कोकुनमा बन्दी रेशम कीरालाई सुन्दर पुतली बनाउने, कडा बोक्रामा कैद चल्लालाई चारो ठुङ्न सिकाउने, सुकेको बीऊलाई अंकुरित गराउने र सामान्य महिलालाई महान आमा र शाल–नालले बाँधिएको नीरीह प्राणीलाई सक्षम शिशु बनाउने तिनैको संघर्षले हो । संघर्षमा प्रतिपक्ष सहायक हुन्छ, शत्रु हुँदैन ।

घाँसको रसबाट रक्त, माष, मेद अस्थि, मज्जा, वीर्य र शुक्राणु बनाउने प्रक्रियाको प्रत्येक पाइलामा यिनै विषाणुले सघाउने हुन् । भोजनले भन्दा उपवास, आकास, अवकासले दिने लाभ यही आन्तरिक ऊर्जा हो ।

बाहिरी धातु सुनजस्तै भित्री धातु वीर्य हो । वीर्यलाई विन्दू अथवा वज्र पनि भनिन्छ । विन्दू हलचल हुँदा, स्वास र मुटु दुबैमा हलचल पैदा हुन्छ । सक्षम जीवाणुको फौज पुनर्जन्मका लागि होमिन तत्पर हुन्छन् । तन्त्र बुझेकाले वा स्वयंलाई चिनेकाले मात्र ओशोको भाव, गान्धीको प्रयोग बुझ्छन् । यन्त्रका आधारमा पाएको ज्ञानले बुझ्न सम्भव हुन्न ।

जीवाणुलाई शक्तिशाली बनाउने भोजन फलाहार हो । मांशाहारले प्रदूषित बनेका रगत, मन र बुद्धिले कोरोना देख्दा भेडीगोठमा बाघ पसे झैं भएको हो । मधुकैटभलाई जितेर विष्णु, रावणलाई जितेर राम, कंशलाई जितेर कृष्ण बनेझैं आ–आफ्ना विषाणुलाई जितेर नै जीवन अघि बढ्दै जाने हो । पूराणहरूले दानव र देव भनेकोलाई यान्त्रिक आँखाले वीषाणु र जीवाणु नामाकरण गरे । जीवाणु साकार हुन्छ विषाणु ब्रह्म जस्तै निकार हुन्छ ।

औषधी विज्ञानका सीमाहरू

ढुङ्गो–माटोका सूक्ष्माणुहरू, रसायनका क्रिया–प्रतिक्रियाहरू एवं जीवबाट अलग्याइएका जीवांशहरूलाई यन्त्र र पूर्व अनुभवका आधारमा मात्र पाएको ज्ञानलाई जस्ताको तस्तै जीवित प्राणीमा लागू गर्नु यान्त्रिक ज्ञानको बाध्यता हो । शत्रुलाई मारेर समाधान खोज्ने पूर्व अनुभवको आधारमा नै एलोपैथीको एण्टिबडी पद्दतिको विकास भएको थियो । नाम नयाँ दिए पनि भाइरस पूरानै हो केवल पहिला नदेखेकोलाई नयाँ भनिएको हो ।

विनियोजनले, विभाजनले देखाउने वृद्धि र योगले दिने समृद्धिका उपलब्धि फरक हुन्छन्, एकले आयतन बढाउँछ, अर्कोले घनत्व । यान्त्रिक आँखाले वीर्य र खकार, मासिक स्राव र अन्य रक्तस्राव, दूध र रक्तलाई समान देखायो । मशीनले नदेखाउने या छामेर नभेटिने भिन्नताको अस्तित्व स्वीकारेन । आस्थामा अडेको आन्तरिक सम्बन्धको पनि यान्त्रिक प्रमाण खोजियो । आफ्नै शरीरका एउटा अङ्गले अर्कोलाई नछुने अभ्यास अमानवीय अपराध मात्र देखियो । राम र रहीम समान देख्ने यान्त्रिक आँखाले प्रकृतिको कुनै उत्पादन समान नभएको देखेन ।

गीताको अद्वेतको झझल्कोले नै आइन्सटाइनको ‘एमसी स्वायर’ सिद्धान्त जन्म्यो । यान्त्रिक आँखाद्वारा हिग्स बोसनले देखेको ‘गडपार्टिकल’लाई पूराणले प्रेत भन्छ । शूक्ष्म शरीर निर्माण गर्न श्राद्ध कर्म गरिन्छ । त्यो भन्दा धेरै पर ‘कारण शरीर’ छ । त्यसलाई पनि गीताले भौतिक शरीर नै मान्छ । त्यहाँसम्म यान्त्रिक आँखा पुग्लान् तर त्यो भन्दा पनि परको सुशुप्तिमा रमाउने देहीको आनन्दमय गुफासम्म यान्त्रिक आँखाको पहुँच पुग्दैन । आत्मा त्यो भन्दा पर छ । बुद्धिद्वारा अग्राह्य छ । अनुभूति मात्र हुन्छ, वर्णन या व्याख्या संभव छैन ।

हाम्रो निष्कर्ष

हामी दुवैले यो जीवनको उत्तराद्र्धसम्म आउँदा नेपाली समाजलाई आफ्नो क्षेत्रबाट सकेको योगदान गर्दै आएका छौं । कोरोना भाईरसले नेपाली समाज आक्रान्त भएको यो घडीमा हामी आफ्नै शरीरमा कोरोना भाइरसको प्रभाव परीक्षण गराउन इच्छुक छौं । उपयुक्त सात्विक आहार विहार योग ध्यानको अभ्यासले हाम्रा शरीर र मन दुबै सबल छन् । त्यसमाथि कोरोना र हाम्रा शरीर शत्रु हैनन् बरु सहकर्मी हुन् । ‘बाइनरी अपोजिशन’ हुन् । एक अर्काका पूरक हुन् । अज्ञानताले शत्रु ठान्दा भयभीत भएका मात्र हौं । भयले नेपाली समुदायलाई झन कमजोर बनायो भन्ने बुझाइका आधारमा हामी यो परीक्षणका लागि प्रस्तुत भएको हौं ।

प्रतिस्पर्धीलाई मार्ने एण्टिबायोटिक पद्धतिले समाज र स्वास्थ्यको समस्या समाधान गरेन । जीवनी शक्ति बढाउने पद्धति अपनाऔं । कि इश्वरप्रति कि आफैप्रति विश्वास गरौं, मशीनलाई नै ज्ञानको आधार नमानौं । बोट बढ्नमा बीऊ र जराको पनि महत्व नबिर्सौं । पृथ्वी जस्तै जीवनको यात्रा पनि गोल छ । दौडेर उछिनेर पुगिने ठाउँ कतै छैन । बाहिरी सहकार्य र भित्री प्रतिस्पर्धाले जीवन सुख शान्ति र आनन्दले पूर्ण हुन्छ । पूर्णत्व उपलब्धी हुन्छ ।

एण्टिबायोटिकको सहारा न्यूनतम लिएका कारण हामी नेपालीका जीवाणुहरू विषाणु परास्त गर्न सक्षम छन् । केही दशकयता पश्चिमले विकास गरेका खोपहरू मार्फत हामीमा भित्र्याइएका विजातीय वीषाणुहरूसँगको संघर्षमा पनि हाम्रा जीवाणुहरू अहिलेसम्म हारेका छैनन् । यी आधारहरुबाट हेर्दा हाम्रो जीवनी शक्ति आफ्ना भाइरससँग लड्न अझै पनि सक्षम छन् । हाम्रा आफ्नै अद्वितीय जडीबुटी, योग, शुद्ध आहार विहारमा रहन हामीलाई अझै पनि सम्भव छ ।

यो परीक्षणमा लाभ मात्रै छ, घाटा कसैलाई छैन । सबभन्दा अधिक लाभ हामी दुई भाइलाई छ । यो परीक्षणबाट कोरोनाको काल्पनिक भयबाट कमसेकम हाम्रा नेपाली जनतालाई थोरै भए पनि ढाढस मिल्नेछ, आत्मवल विकास हुनेछ ।

हाम्रो शरीरमा कोरोना भाइरसको प्रभाव परीक्षण गर्ने अवसर उपलब्ध गराउन यस आह्वानपत्रका सबै पाठकहरुले आफ्नो ठाउँबाट पहल गरिदिनुभएमा हामी दुबै धेरै आभारी हुनेछौं ।

(लेखकद्वयमध्ये खाली खुट्टा हिँड्ने पूर्वसांसद शंकरप्रसाद पाण्डेय नेपाली कांग्रेस पार्टीमा विगत ५० वर्षदेखि क्रियाशील छन् । अर्का लेखक पदमप्रसाद पाण्डेय सेवानिवृत्त शिक्षक हुन् । लेखकद्वय हाल स्याङ्जा जिल्लाको विर्घा–वलथुम्कोमा साधनारत छन् । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment