Comments Add Comment

बजेटमा प्राथमिकताको सूची पहिल्याउँदै कृषि मन्त्रालय

१४ वैशाख, काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ का लागि पहिलो चरणको बजेट छलफल सम्पन्न गरेको छ ।अर्थमन्त्रालयले पठाएको प्रारम्भिक बजेट सिलिङमा टेकेर मन्त्रालयको सबै आयोजना तथा कार्यक्रमको आगामी प्राथमिकताको सूचीकरण थालिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले बताए ।

मातहतका निकायसँग मन्त्रालयले एक चरणको छलफल सम्पन्न गरेको उनले बताए । ‘पहिलो चरणको छलफल सकेका छौँ, प्राथमिकता तोकेर बजेटको मागचाहिँ अझै भएको छैन,’ उनले भने ।

मन्त्रालयले लकडाउन अघि र त्यसपछि सबै विभाग, कार्यक्रम, परियोजना तथा कार्यालयहरुबाट वाषिर्क योजना माग गरेको थियो । ती योजनाहरुमा भएको प्रारम्भिक छलफलपछि नयाँ कार्यक्रम र आवश्यक बजेट सम्बन्धमा प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ ।

लकडाउनको सुरुआती चरणमा मन्त्रालयमा आउने कर्मचारी संख्या घटाइए पनि बजेट छलफल तथा कार्यक्रमका लागि अहिले जनशक्ति बढाइएको पनि प्रवक्ता केसीले बताए ।

मन्त्रालयको नियमित प्रशासनिक खर्चबाहेक रसायनिक मल, बाली तथा पशुपंक्षी बीमा कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि क्षेत्र विकास आयोजना लगायतका करिब एक दर्जन बढी आयोजना र कार्यक्रमको बजेट र प्राथमिकतामा छलफल गर्दै छ । यसअघि मन्त्रालयले फागुन अन्तिम साता सातै प्रदेशका कृषि मन्त्रीहरुसँग प्रिबजेट छलफल सकेको थियो ।

अर्थ मन्त्रालयले लकडाउन अघि ३३ अर्ब १८ करोडको प्रारम्भिक बजेट सिलिङ पठाएको थियो । कोरोनाका कारण कृषि क्षेत्रको प्राथमिकता फेरिन सक्ने भएकाले कार्यक्रमहरु पनि प्रभावित हुन्छन् भन्नेमा आशंका उत्पन्न भएको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा मन्त्रालयले ३४अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment