Comments Add Comment

त्रिभुवन विमानस्थलमा बन्यो नयाँ प्रस्थान कक्ष, पुरानो भत्काइँदै

धावनमार्ग विस्तारको काम पनि जारी

१५ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा नयाँ प्रस्थान कक्ष तयार भएको छ । नयाँ कक्ष बनेकाले अब पुरानोलाई भत्काइने छ ।

लकडाउनमा यात्रु नभएको मौका पारी विमानस्थलभित्र मर्मत सम्भार तथा संरचना निर्माणको काम जारी छ । सोही क्रममा नयाँ प्रस्थान कक्ष तयार पारिएको हो । यो प्रस्थान कक्ष नेपाल एयरलाइन्सले  अष्ट्रेलिया उडान थालेको दिनबाटै प्रयोगमा आएको थियो ।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार पार्किङ-वे नजिकै रहको यात्रु प्रतीक्षालय हल भने अहिले भत्काउन लागिएको छ । पुरानो टर्मिनल भवनको पार्किङ-वे नजिकैको हल भत्काएर त्यो स्थानलाई फराकिलो बनाउन लागिएको छ ।

भविष्यमा पार्किङ विस्तार तथा अन्य सेवामा यो स्थानको उपयोग गर्न सकिने सम्भावना छ । ‘पुरानो हल भत्काउने काम धमाधम भइरहेको छ,’ महाप्रवन्धक केसीले भने, ‘लकडाउनको समयलाई हामीले सकभर उपयोग गर्न खोजिरहेका छौँ ।’

विमानस्थलभित्र अहिले तीन सय मिटर धावनमार्ग विस्तारको कामसमेत धमाधम जारी छ । त्रिभुवन विमानस्थलको आफ्नै लगानीमा एयरबस ३३० स्तरको दुई वटा जहाज अट्ने पार्किङको काम समेत द्रूतगतिमा भइरहेको छ । यसबाट विमानस्थलको सेवा सुरु हुनासाथ हुने उच्च चाप व्यवस्थापनमा केही सहयोग पुग्ने अपेक्षा विमानस्थलको छ ।

सरकारले २ जेठसम्म राष्ट्रिय-अन्तर्राष्ट्रिय व्यवसायिक उडान-अवतरणमा प्रतिबन्ध लगाएको छ । तर, लाखौं हवाई यात्रु तत्काल यात्राका लागि तयार भएर बसेका छन् । यसले प्रतिबन्ध खुलेको केही दिन उच्च दबाबमा यात्रु र जहाजको व्यवस्थापन गर्नुपर्ने चुनौती छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment