Comments Add Comment

सुकुम्बासी बस्तीमा नपुग्दै राहत हरायो !

१५ वैशाख, पोखरा । ‘काम गरेर खाने मान्छे हौँ हजुर, राहतका लागि भनेर पटक पटक नाम टिपाउन आएँ,’ पोखरा ९ बसपार्क कृष्ण टोलका नरबहादुर मल्ल गेट अगाडि चिच्याउँदै थिए, ‘नाम टिपाउँदा र फोटोकपी गर्दा २० रुप्पे खर्च भइसक्यो ख्वै त राहत ?’

मल्ल दैनिक मजदुरी गरेर परिवारको भोक मेट्दै आएका थिए । तर, लकडाउनले गर्दा अहिले उनको काम ठप्प छ, उनी कोठामै बन्द छन् । कोठामा भएका रासन सकिँदै जान थालेपछि वडासँग राहत माग गरेको र पाउने आश्वासन पनि पाएकोे सुनाए । ‘दिन्छौँ भनेर पटकपटक फर्म भर्न लगाए । सहीछाप पनि गर्‍यौं । तर, खै राहत बाटैबाट कता हरायो ?’

आइतबार वडा कार्यालयमा राहत माग्न गएको तर नपाएपछि सोमबार महानगर नै आउनु परेको हेम बुढाथोकीले बताए । उनले पटक–पटक राहतका लागि गुहार्दासमेत सुनुवाइ नभएको सुनाए । ‘कहिले पानी परिरा’छ, कहिले घाम लागिरा’छ । यसरी उभ्भिने त हाम्रो नि रहर छैन होला नि,’ उनले भने, ‘आज पनि बिहानदेखि ह्यैँ छौँ । कसैले सुन्दैनन् ।’

पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले भने लक्षित वर्ग सबैलाई राहत पुगिसकेको दाबी गरेका छन्

महानगरको गेटअघि करिब साढे दुई सय जनाको संख्यामा ठूलो भिड लागेको छ । उनीहरू सबैले आफूहरूले कुनै पनि राहत नपाएको र राहत गलत व्यक्तिलाई दिइएको दाबी गर्दै त्यहाँ आइपुगेका हुन् । ‘हाम्रै टोलका कसैले ३/४ चोटी पाइसके । हामी देलान् र खाउँला भनेर बसेको भोकैले मरिने भैयो,’ सोही ठाउँकै सम्झना घिमिरेले भनिन्, ‘बन्द भएको पनि एक महिना बढी भइसक्यो । कतैबाट हामीलाई नहेरेपछि मिलेर ह्याँ आएका हौँ ।’

उक्त टोलबाट राहतका लागि एक सय ९४ जनाको नाम गएको थियो । जसमा ५१ परिवारले मात्रै राहत पाएको स्थानीयले बताएका छन् । उनीहरूले राहत फर्म भर्न १० रुपैयाँ र नागरिकता फोटोकपीबाट १० रुपैयाँ गरी २० रुपैयाँ टोल विकास संस्थाले उठाएको समेत बताए ।

यता, पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले भने लक्षित वर्ग सबैलाई राहत पुगिसकेको दाबी गरेका छन् । उनले बसपार्क सुकुम्बासी बस्तीमा एक सय ९४ नै घर रहेको र सबैमा विभिन्न माध्यमबाट राहत पुगिसकेको दाबी गरे ।

‘उक्त टोलमा एक घर पनि नछुटाई यहाँबाट राहत गएको छ । तर, कसैको घरमा ३/४ जनासम्म परिवार बस्दा रहेछन्,’ लामिछानेले भने, ‘कोही साँच्चिकै छुटेका छन्, कोही ३/४ चोटि पनि पाइसके ।’ उनले महानगरले मंगलबार पुनः बैठक बसी छानबिन गर्ने र थप प्रक्रिया अघि बढाउने निर्णय भएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment