Comments Add Comment

व्यवसायी सुलभ अग्रवालको मुद्दा अदालतले हेर्ने

१६ वैशाख, काठमाडौं । महामारीका वेला थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका शुलभ अग्रवालको कसूर अदालतले हेर्ने भएको छ ।

कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा २ (क), ३ (१) तथा ५ मा उल्लेखित कसूरमा एक वर्ष कैद सजायको व्यवस्था भएकाले यो जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकारभित्र पर्छ ।

तर, सार्वजनिक पद धारण गरेको व्यक्तिलाई थप डेढी सजाय हुने व्यवस्था अनुरुप अग्रवालविरुको मुद्दा जिल्ला अदालत, काठमाडौंको क्षेत्राधिकारमा पुगेको हो ।

‘एक वर्षसम्म सजाय भएका कसूर प्रशासनले हेर्ने हो’, जिल्ला अदालत, काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठले भने, ‘यसमा सरकारी वकिलको कार्यालयले डेढी सजायको पनि माग दाबी गरेकाले अदालतमा मुद्दा दर्ता भएको छ ।’

अग्रवाल कीर्गिस्तानका अवैतानिक दूत थिए । उनको कसूरमा बुधबार थुनछेक बहस हुने श्रेष्ठले अनलाइनखबरलाई बताए ।

आइतबार काठमाडौं प्रहरी परिसर, टेकुले अग्रवालविरुद्ध अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, बबरमहलमा बुझाएको थियो ।

सबै कसूरमा गरेर अग्रवाललाई अधिकतम साढे ४ वर्षसम्म जेल सजाय हुनसक्छ । यस्तै उनको साथबाट बरामद भएको स्वास्थ्य सामग्री जफत गरी १५ लाख ७८ हजार ९ सय १३ रुपैयाँ जरिवाना भराउन प्रहरीले सिफारिस गरेको थियो ।

अग्रवाललाई २५ चैतमा महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले नक्सालबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment