Comments Add Comment

महाकालीपारिबाट उद्धार गर्न सीडीओ फकाउँदै जनप्रतिनिधि

१८ वैशाख कैलाली । बझाङको बुंगल नगरपालिका मेयर धनबहादुर बिष्ट बिगत पाँच दिनदेखि दार्चुलामा छन् । उनीसँगै हुन्छन् बैतडीको पुर्चौडी नगरपालिकाका तीन जना वडाध्यक्ष र डिलासैनी गाउँपालिकाका अध्यक्ष । उनीहरु चारै जना प्रत्येक दिन जिल्ला प्रशासन कार्यालय धाउँछन् । प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई भेट्ने र सीमापारि अलपत्र परेका नेपाली नागरिकलाई ल्याउन आग्रह गर्ने उनीहरुको दैनिकी भएको छ ।

बिगत एक महिनादेखि दार्चुलापारि भारतको धार्चुलामा हजार बढी नेपाली अलपत्र परेका छन् । उनीहरुको उद्धारका लागि सिडिओमार्फत संघीय सरकारलाई फकाउने प्रयासमा छन् जनप्रतिनिधिहरु । ‘हामी प्रत्येक दिन सिडिओ कार्यालय गएर महाकालीपारिका नेपालीलाई ल्याउन पहल गर्न आग्रह गर्छौं,’ मेयर विष्टले अनलाइनखबरसँग भने, ‘सीडीओ साबले पनि पहल भइरहेको छ भन्नुहुन्छ ।’

उनले बुंगल नगरपालिकाका मात्रै ४ सयको हाराहारीमा त्यहाँ अलपत्र परेको बताए । ‘हाम्रा नागरिकलाई निकै समस्या परेको छ । भएको पैसा पनि रित्तियो भनेर फोन गर्छन्,’ उनले भने, ‘उनीहरुलाई हाम्रै ठाउँको क्वारेन्टाइनमा राख्छौं भनेर सीडीओलाई आग्रह गरिरहेका छौं ।’

मेयर विष्टसँगै सीडीओ कार्यालय पुग्ने बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष अक्कल बहादुर रानाले आफूहरुको मागप्रति प्रमुख जिल्ला अधिकारी सकारात्मक भएको बताए ।

यो पनि पढ्नुहोस महाकालीपारि २ हजार बढी नेपाली, उद्धारको आदेश कुर्दै प्रशासन

‘हामीले निरन्तर प्रमुख जिल्ला अधिकारीलाई भेटेर उद्धार गर्न आग्रह गरिरहेका छौं,’ उनले भने, ‘उहाँले एक-दुई दिनमै उद्धार गरिन्छ भन्नुभएको छ ।’

डिलासैनी गाउँपालिका भित्रका १६० जना भन्दा बढी नागरिक त्यहाँ अलपत्र परेको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले बताए । संघीय सरकारले उद्धारमा चासो नदिएपछि प्रवक्तालाई दार्चुला पठाएको उनले जानकारी दिए । ‘हाम्रा नागरिकहरु भोकभोकै छन् । संघीय सरकारले चासो नदिएपछि दबाव दिन उहाँलाई पठाइएको हो,’ उनले भने ।

पछिल्लो एक महिनादेखि दार्चुलापारि हजारभन्दा बढी नेपाली छन् । त्यतिकै संख्यामा बैतडीपारि पनि छन् । कञ्चनपुरको सीमापारि पनि दुई सय ५१ जना नेपाली अलपत्र छन् । कैलालीको त्रिनगर सीमापारि पनि १२० जना नेपाली अलपत्र छन् ।

उद्धारमा ढिलाइ हुँदा उनीहरुको घर परिवारमा निकै समस्या भएपछि प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्न पुगेको बैतडी पुर्चाैडी नगरपालिका ४ का अध्यक्ष शैलेन्द्र धानुकले बताए । ‘केन्द्र सरकारले चासो नदिएपछि हामीले पनि चासो नदिने भन्ने हुँदैन त्यसैले हामी यहाँ आएका हौं,’ उनले भने, ‘अलपत्र परेका परिवारमा समस्या बढिरहेको छ ।’

पुर्चाैडी नगरपालिका कार्यपालिका बैठकले उद्धारमा पहल गर्न प्रशासनलाई आग्रह गर्ने निर्णयसमेत गरेको उनले बताए । अध्यक्ष धानुकले तत्काल उद्धार नभए सशक्त रूपमा अघि बढ्ने चेतावनी दिए ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले भने उनीहरुलाई फर्काउने पहल भइरहेको बताए । ‘हामीले माथि कुरा गरिरहेका छौं,’ उनले भने, ‘गृह मन्त्रालयबाट निर्देशन आएलगत्तै उनीहरुको उद्धार हुन्छ ।’

यो पनि पढ्नुस्–

‘प्रवासीको भोट र नोट काम लाग्ने, आफू जोगिन छोरालाई पारि राख्ने ?’

धार्चुलामा अलपत्र नेपालीलाई उतै रोक्ने निर्णय, ३ जना महाकालीमा पौडिँदै आए

‘खेतीको बेला भयो, सरकारले कहिले बोलाउँछ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment