Comments Add Comment

‘खेतीको बेला भयो, सरकारले कहिले बोलाउँछ ?’

उद्धारको याचना गर्दै महाकालीपारि अलपत्र नेपाली

१५ वैशाख, कैलाली । ‘हामीलाई सरकारले कहिले नेपाल आउन दिन्छ ?’ बझाङ बुंगल नगरपालिका ४ का वीरेन्द्र लोहारले सोमबार फोन गरेर सोधे ।

उनीसँगै एक हजारभन्दा बढी नेपाली अहिले दार्चुलापारि अलपत्र छन् । क्वारेन्टाइनमा बसेको ३० दिन पूरा भइसक्दा पनि उद्धारमा चासो नदिएको भन्दै पछिल्लो समय उनीहरुले स्थानीय प्रशासन, सञ्चारकर्मी र सरोकारवालाहरुलाई सम्पर्क गरेर आफूहरुको उद्धारमा पहल गरिदिन आग्रह गर्न थालेका छन् ।

‘एक-दुई हप्ता भन्दाभन्दै महिना दिनभन्दा बढी यहाँ राख्यो । अझै कति दिन यहाँ बस्नुपर्ने हो थाहा छैन,’ उनले भने ।

हामीले निरन्तर महाकालीपारि अलपत्र नागरिकहरुको रिपोर्टिङ गरिरहँदा उनीहरुले पनि पटक पटक हामीलाई सम्पर्क गरेर उद्धारमा पहल गर्न आग्रह गर्दै आएका छन् ।

‘घरमा सबै साना छन् । कहिले आउनु हुन्छ भनेर फोन गर्छन्,’ सोमबार उनले फोनबाटै सुनाए, ‘भोलि-भोलि भन्दाभन्दै महिना दिन पुग्यो ।’ उनले क्वारेन्टाइनमा बसेको एक महिना पुग्दा कसैलाई स्वास्थ्यमा समस्या नदेखिएको बताए ।

‘एक महिनादेखि हामी यहाँ छौँ । कोही बिरामी छैनन्,’ उनले भने, ‘यसले पनि पुगेन भने अझै क्वारेन्टाइनमा बस्न तयार छौँ । तर, पहिले हाम्रो उद्धार होस् ।’

लामो समयदेखि क्वारेन्टाइनमा बस्दा घर परिवारमा समस्या हुन थालेको उनले बताए । ‘अझै केही दिन हामी घर जान पाएनौँ भने भोकमरी हुन्छ,’ उनले सोधे, ‘घरमा केटाकेटी र मात्रै छन्, गहुँ काट्न सक्दैनन् । धान कसरी लगाउने, मकै कसरी छर्ने ?’
कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला गरी महाकालीपारि करिब २ हजार नेपाली अलपत्र छन् । रुपन्देही नाकाबाट नेपालीहरुको उद्धार भए पनि पश्चिमी सीमा नाकाबाट नेपालीहरुको उद्धार भने हुन सकेको छैन ।

विदेशबाट हवाईजहाज भाडामा ल्याएर उद्धार गरेको सरकारले आफूहरुलाई भने बेवास्ता गरेको उनीहरुको आरोप छ । दार्चुलापारि एक हजारभन्दा बढी, बैतडी पारी त्यति नै, कञ्चनपुरपारि २५१ जना र कैलालीपारि १२० जना नेपाली स्वदेश फर्किने दिन पर्खिरहेका छन् ।

बझाङका विक्रम विकले भारतको क्वारेन्टाइनमा बसेको एक महिना पुरा हुँदा पनि सरकारले नेपाल ल्याउन पहल नगरेको गुनासो गरे । ‘हामीले त खाइरहेका छौँ । बसिरहेका छौँ । घरमा समस्या छ,’ उनले भने, ‘खेती लगाउने बेला सुरु हुन थाल्यो । अझै यहाँ बसे भोकै मरिन्छ होला ।’ उनले पटक-पटक घरबाट आउन आग्रह गर्दै परिवारका सदस्यहरुले फोन गर्ने गरेको सुनाए ।

बैतडी पुर्चाैडी नगरपालिकाका करण जैगडीले पनि घरमा समस्या बढ्न थालेको भन्दै उद्धारको पहल गर्न आग्रह गरे । ‘घरमा सानो छोरा छ । फोन गरेर आउनुस् भन्छ । मैले हुन्छ, छिट्टै आउँछु भन्दै ढाँटिरहेको छु,’ उनले भने ।

बैतडी पुर्चाैडी-४ का हरिश धानुक पनि एक महिनादेखि बालुवागडाको क्वारेन्टाइनमा अलपत्र छन् । उनले क्वारेन्टाइन पनि अव्यवस्थित हुँदा समस्या परेको बताए । ‘न घर जान पाइएको छ, न यहाँ राम्रो व्यवस्था छ,’ उनले भने, ‘यसरी धेरै दिन त बस्न सकिँदैन ।’

एक महिनासम्म क्वारेन्टाइनमा बस्दा पनि सरकारले उद्धारको पहल नगरेको भन्दै उनले आक्रोश पोेखे । ‘क्वारेन्टाइन भन्दै ३० दिन बढी बस्यौँ,’ उनी भन्छन्, ‘निरोगी मान्छे पनि यहाँको व्यवस्थापनले रोगी हुन सक्छ । सरकारले हामीलाई कहिले बोलाउँछ ?’

यो पनि पढ्नुहोस ‘प्रवासीको भोट र नोट काम लाग्ने, आफू जोगिन छोरालाई पारि राख्ने ?’

‘गहुँ काट्न बाँकी छ । मकै पनि लगाउनु छ । घरमा काम गर्न सक्ने कोही छैनन् । त्यो लगाउन पाइएन भने त भोकै परिन्छ,’ उनी निराश भए ।

बझाङ बुंगल नगरपालिका-७ का मदनबहादुर बोहराले पनि आफू क्वारेन्टाइनमा अलपत्र पर्दा घरमा समस्या बढ्न थालेको बताए । ‘घरबाट दिनदिनै फोन आउँछ । मकै लगाउन छ, गहुँ काट्न छ छिटै आउनुस् भन्छन् । म केही दिन पर्ख भन्छु,’ उनले भने, ‘यसरी नै महिना दिन बितिसक्यो ।’

उनीहरु नियमित क्वारेन्टाइन बसेको महिना दिनसम्म पनि कसैलाई स्वास्थ्यमा समस्या नआउँदा अझै पनि राखिरहनुको अर्थ नरहेको बताउँछन् । ‘यो हामीलाई दुःख दिने बाटो मात्रै हो,’ बैतडी डिलासैनी ३ का शंकर बोहराले भने, ‘कोही बिरामी छैनौँ । एक महिना बस्यौँ । अझै किन बस्नुपर्ने हो र ?’

उनले एक महिनाको बसाइँ कष्टपूर्ण भएको बताउँदै उनी भन्छन्, ‘गेटभन्दा बाहिर जान पाइँदैन । पानी पनि अभाव छ । यहाँ त हामीलाई जेलमा बसेजस्तो भएको छ ।’

एक महिनासम्म पनि आफूहरुको उद्धारमा सरकार गम्भिर नभएको भन्दै उनीहरुले सरोकारवाला निकायहरुसँग गुहार मागीरहेका छन् । उनीहरुले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दार्चुलाका प्रतिनिधि नरेन्द्र कार्कीलाई पटक-पटक फोन गरेर तत्काल घर फर्किने पहल गरिदिन अनुरोध गर्दछन् । ‘मलाई सधैं फोन आइरहन्छ । आज पनि दुई जनाले फोन गर्नुभएको थियो । उहाँहरुले अर्काको देशमा बस्न कठिन भयो । घर फर्किने अवस्था मिलाइदिनुस् भन्नुहुन्छ । मैले पहल गरिरहेको छु भन्छु,’ कार्कीले सुनाए ।

कार्कीले यस विषयमा पटक पटक जिल्ला प्रशासन कार्यालयलाई र सांसदहरुलाई पनि जानकारी गराएको बताए । ‘सीडीओलाई पनि भनिरहेको छु । माननीयलाई पनि भनेको छु,’ उनले भने, ‘केही दिनमा उद्धार हुन्छ भन्ने सुनेको छु ।’

भारतमा अलपत्र परेकाहरुले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पनि सम्पर्क गरेर आफूहरुको उद्धार गरिदिन आग्रह गर्दै आएका छन् । गृह मन्त्रालयबाट निर्देशन नआउँदा उनीहरुको उद्धारमा ढिलाइ भइरहेको प्रमुख जिल्ला अधिकारीहरुको भनाइ छ ।

‘हामीले हाम्रो तयारी गरेका छौँ । तर, गृह मन्त्रालयबाट निर्देशन आउन बाँकी छ,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने, ‘मन्त्रालयले निर्देशन दिएलगत्तै उनीहरूको उद्धार हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment