Comments Add Comment

सिमेन्ट उद्योगीको दाबी : २२ अर्ब बढीको कारोबार गुम्यो

१७ वैशाख, काठमाडौं । लकडाउनका कारण अहिले निर्माणको काम लगभग ठप्प छ । जसका कारण छड सिमेन्ट जस्तापातालगायतका निर्माण सामग्रीको उत्पादन, बिक्री वितरण ठप्प छ। सिमेन्ट उत्पादक संघले पाँच हप्तामा २२ अर्बभन्दा धेरै कारोबार क्षति ब्यहोर्नुपरेको जनाएको छ ।

देशभरका सिमेन्ट उद्योगबाट हुनै दैनिक व्यापार हुने सिमेन्टको आँकाडाको आधारमा प्रारम्भिक कारोबार क्षति आकलन गरिएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले बताए । ‘लकडाउन पछिको हरेक दिनमा उद्योगीले दैनिक सरदर ६० करोडका दरले कारोबार गुमाएको छ,’ अध्यक्ष थापाले भने ।

नेपालभर लकडान अवधिसम्म ६१ वटा सिमेन्ट उद्योग सञ्चालनमा थिए । जसबाट दैनिक १६ मिलियन टन दैनिक सिमेन्ट उत्पादन हुने गरेको संघले जनाएको छ । कोरोना असर बढ्दै गए उद्योगहरूको संकट थप भयवह हुँदै जाने संघका अध्यक्ष थापा बताउँछन् ।

लकडाउनका कारण मुलुकभरका सबै सिमेन्ट उद्योगमा अहिले ताला लागेको छ । उद्योगहरू बन्द भएसँगै उद्योगमा प्रत्यक्ष आश्रित १६ हजारभन्दा बढी र तीनका सहायक आश्रितसमेत गरेर एक लाखभन्दा बढी मानिसले रोजीरोटी गुमाउने अवस्था आएको संघले जनाएको छ ।

खानी सञ्चालन गर्न देऊ
सिमेन्ट उद्योगीहरूले सुरक्षाको उपाय अपनाउँदै चुनढुंगा खानी सञ्चालन गर्न अनुमति दिन सरकारलाई आग्रह गरेका छन् । जेठ पहिलो हप्तासम्म उद्योगले खानी सञ्चालन गर्न सकेनन् भने सिमेन्ट उद्योग आगामी मंसिरसम्म बन्द हुनसक्ने नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले बताए ।

कच्चा पदार्थको तयारी अवस्थामा राख्नका लागि खानी चलाउने अनिवार्य भएको सिमेन्ट उद्योग संघका अध्यक्ष थापाको भनाइ छ। ‘कच्चा पदार्थ उद्योगमा ल्याउन सक्यौँ भने सरकारले खोल भनेको भोली पल्टनै उद्योग चल्न सक्छ नत्र सबै एउटै जहाजमा डुब्न सक्छौँ,’ थापाले भने ।

बर्षायाममा खानी चल्न नसक्ने भएकाले तत्काल खानीबाट चुनढुंगा झिकेर उद्योगमा सञ्चयको वातावरण बनाउन उद्योग र गृह मन्त्रालयलाई आग्रह गरिएको उनले बताए ।

राहत प्याकेजको माग
कोरोना रोकथामका लागि लकडाउन थप लम्बिँदै गए सिमेन्ट उद्योग उठ्नै नसक्नेगरी शिथिल बन्ने नेपाल उद्योग परिसंघका अध्यक्ष तथा सतिस मोर बताउँछन् ।  ‘राज्य वा उद्योगी कसैले नसोचेको परिस्थिति अपर्झट आयो । सबै जना मारमा परेका छौँ, अब सबै मिलेर समाधान खोजौँ,’ उनले भने ।

बैङ्कबाट ठूलो ऋण लगानीमा चलेका उद्योगहरूलाई अहिले नै ऋणको ब्याजको भार कम गरौं बन्न थालेको संघका अध्यक्ष थापा बताउँछन् ।  ‘सिमेन्ट उद्योग मात्रै नभएर सबै क्षेत्रमा राज्यले हृदय फुकाएर राहत घोषणा नगरे हामी कोल्याप्सको अवस्थामा जान्छौँ,’ थापाले भने ।

लकडाउनको चौतर्फी असरका बाबजुत कम महत्वका पूर्वाधारको बजेट रकमान्तर गरेर भए पनि राहत प्याकेज नल्याए उद्योग क्षेत्रले इतिहासकै गम्भीर नोक्सानी ब्यहोर्नु पर्ने उद्योगीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment