Comments Add Comment

भारतमा रोकिएका नेपालीको बिहानैदेखि धमाधम उद्धार

तस्वीर सौजन्य : लोकेश साउद

१८ वैशाख, कैलाली । एक महिना भन्दा बढी समयदेखि स्वदेश फिर्तीको आशामा बसेका नेपाली नागरिक बिहीबार बैतडीको सीमा नाकाबाट घर फर्किन पाएका छन् ।

बैतडीको सीमा पारी रहेका नेपालीको बिहीबार विहानैदेखि उद्धार भइरहेको छ । भारतको पिथौरागड जिल्लामा करिब ८ सय नेपाली स्वदेश फिर्तीको प्रतीक्षामा रहेका जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै सरकारले १० चैतमा नेपाल– भारत सीमा बन्द गर्ने निर्णय गरेको थियो । त्यतिबेला भारतीय क्षेत्रमा करिब २ हजार जना नेपाली रोकिएका थिए ।

आफ्नो गाउँ आएपछि उनीहरुले स्थानीय तहले बनाएको क्वारेन्टाइनस्थलमा बस्नुपर्ने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र नेगीले बताए ।

‘बैतडीका सबैभन्दा धेरै नागरिक पारी (भारतमा) अलपत्र परेका छन्’ उनले भने, ‘उहाँहरुलाई उद्धार गरेर स्थानीय तह पठाउने काम भइरहेको छ ।’

केही स्थानीय तहका जनप्रतिनिधिनै सीमा क्षेत्रमा आफ्ना नागरिक लिन पुगेका छन् । बैतडीको सीमा नाकामा पुर्चाैडी नगरपालिकाले ५ वटा बस पठाएको छ । झुलाघाट सीमा पारी सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका साथै कर्णाली प्रदेशका पनि केही नागरिक स्वदेश फर्किने प्रतीक्षामा रहेका छन्।

नेपाल र भारत सरकारले सीमा क्षेत्रमा अलपत्र नागरिक जुन देशको भए पनि उनीहरु रहेकै देशको क्वारेन्टाइनमा राख्ने सहमति गरेका थिए । त्यसपछि भारतीय क्वारेन्टाइनमा दुई हप्ता समय बिताएका नेपाली स्वदेश फर्किन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment