
१८ वैशाख, वीरगञ्ज । वीरगञ्जमा राहत बाँड्न ल्याएको चामल गुणस्तरहीन भेटिएको बारे छानबिन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा सरोकारवाला निकायले छानबिन सुरु गरेका हुन् ।
बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत नेतृत्वको टोलीले चामल राखिएको वडा नं १४ को कार्यालय र उद्योगको गोदामको स्थलगत निरीक्षण गरेको छ ।
टोलीले चामलको गुणस्तर मापनका लागि विन्दबासिनीस्थित न्यु बोलबम राइस मिल र सुरज खाद्य उद्योगको एक/एक बोराबाट नमुनासमेत संकलन गरेको छ । संकलित नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरस्थित प्रयोगशालामा पठाइएको छ ।
बुधबार राहत वितरणका लागि पठाइएको चामल डल्ला परेको अवस्थामा पाइएको वडा अध्यक्ष भरत कुर्मीले गुनासो गरेका थिए । न्यू बोलबम राइस मिल र सुरज खाद्य उद्योग गरी दुईवटा उद्योगबाट ९ सय ५० किलो सोना मन्सुली चामल वडा कार्यालयमा प्राप्त भएको थियो ।
५० किलोको १३ बोरा र ३० किलोको १० बोरा चामल प्राप्त भएकोमा तीन वटा बोरा खोलेर हेर्दा डल्लो परेको अवस्थामा भेटिएको थियो । कतिपय बोरामा उल्लेखित तौल भन्दा कम चामल पाइएको थियो ।
अनुगमन टोलीले बिहिबार नै महानगरपालिकालाई चामल आपूर्ति गर्ने गर्ने जिम्मा पाएको विन्दबासिनी गाउँपालिका- २ स्थित सुरज खाद्य उद्योगको पनि अनुगमन गरेको छ । अनुगमनको क्रममा खाद्य उद्योगले बिक्रीका लागि प्याकिङ गरेर राखेको ३० किलोको पाँच वटा बोरा तौल गरिएको छ ।
त्यस क्रममा बोरामा ८० ग्रामदेखि २ सय ५० ग्रामसम्म कम चामल भर्ने गरेको पाइएको छ । टोलीले त्यसबारे विवरण संकलन गरेर ल्याएको छ । त्यस सम्बन्धमा गुणस्तर तथा नापतौल कार्यालयले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
‘गुनासोको आधारमा हामी अनुगमनमा गएका हौँ, दुईवटा फरक फरक बोराबाट चामलको नमुना संकलन गरेर परीक्षणका लागि पठाएका छौं’ सहायक प्रजिअ बस्नेतले भने ‘उद्योगमा उल्लेखित तौल भन्दा कम भर्ने गरेको पाईएको छ । नापतौल तथा गुणस्तर कार्यालयले आवश्यक कारबाही प्रक्रियाअघि बढाउँछ ।’
प्रतिक्रिया 4