Comments Add Comment

मुख्यमन्त्री गुरुङ भन्छन् – प्रधानमन्त्रीलाई पेल्न खोजिए पार्टी फुट्न सक्छ

‘जननिर्वाचित प्रधानमन्त्रीलाई कोठे बैठकले फाल्न सक्दैन’

१९ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ अहिलेको अवस्थामा सरकार ढाल्ने खेल उचित नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको दह्रो समर्थनमा उभिएका छन् । उनले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट जबरजस्ती हटाउन खोजे पार्टी फुट्ने चेतावनीसमेत दिएका छन् ।

मुख्यमन्त्री गुरुङले हिमालय टेलिभिजनसँग कुरा गर्दै माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउन नसकिने पनि बताए। विभिन्न कालखण्डमा टुटफुटको शृङ्खला व्यहोरेर आएका नेताहरू भएकाले त्यो दुर्घटना ननिम्त्याउन सबै नेताहरू जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्रीबाट कमजोरी भएको भए सच्चाउन आग्रह गर्नुको सट्टा पार्टीका नेताहरू गलहत्याउने खेलमा लागेको उनले गुनासो गरे ।

गुरुङले भने, ‘यो स्थितिमा प्रधानमन्त्री हटाउने खेलाँची कुरा होइन । संविधान निर्माण र नाकाबन्दीको सामना गर्ने कुरामा अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको अगुवाइले नेकपाले बहुमत ल्याएको हो । पार्टीले विधिवत दलको नेता चुनेर प्रधानमन्त्री भएको हो । यसरी संवैधानिकरुपमा निर्वाचित प्रधानमन्त्रीलाई एउटा कोठे बैठकले हटाउन सक्दैन । त्यस्तो गर्नु राजनीतिकरुपले गलत छ । दुनियाँलाई सोध्नुस्, नेपालमा कसैले पनि सरकार फेर्नुपर्छ भन्दैन ।’

उनी अगाडि थप्छन्, ‘प्रधानमन्त्री हटाउने हो भने अविश्वास प्रस्ताव ल्याउनुपर्ने होला । अविश्वास प्रस्ताव लैजाने हो भने वैकल्पिक प्रधानमन्त्रीको उम्मेदवार को हो ? फलानो हाम्रो प्रधानमन्त्री हो भन्नुपर्छ । अँध्यारोमा ढुंगा हानेर भएन । यो अराजनीतिक गठबन्धन भंग हुनुपर्छ ।’

बालुवाटालको निर्देशनमा हस्ताक्षर अभियान चलाइएकोप्रति गुरुङले भने, ‘अर्को पक्षले २/३ महिनादेखि हस्ताक्षर अभियान चलाइरहेका छन् । प्रधानमन्त्रीले चाहिँ गर्न नहुने ? मर्ता क्या नही कर्ता ? जबरजस्ती धकेल्न खोज्दाखेरि प्रतिरक्षा गर्नुपरेन ?’

पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली पूर्वसमूहहरूको महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएकाले माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउन नसकिने गुरुङले बताए ।

आन्तरिक शक्ति खलबलिएका बेला देशीविदेशी शक्तिले चलखेल गर्ने मौका पाएको गुरुङले बताए । ‘अध्यादेश एउटा बहाना मात्र थियो, त्यही बहानामा खेलेर प्रधानमन्त्री र पार्टी अध्यक्ष फेर्ने कुरा आएको हो, मुख्यमन्त्री गुरुङले भने, ‘अहिले जुंगाको लडाइँ मात्र हो।’

अध्यादेश ल्याउने बेला पर्याप्त छलफल नभए पनि सरकारलाई त्यो अधिकार भएको भन्दै उनले अहिले फिर्ता भइसकेको सन्दर्भमा त्यसलाई विवादको विषय बनाइरहन आवश्यक नरहेको तर्क गरे।

वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावका विषयमा गुरुङले यो अन्तिम विकल्प नभएको बताए । उनले भने, ‘सचिवालयमा नभएकाले कसले के बोल्यो भन्ने मलाई थाहा छैन । तपाईंहरूले जति सुन्नुभएको छ, मैले पनि त्यही हो । केपी कामरेडबाट प्रस्ताव आएको होला । तर, त्यही नै अन्तिम होइन । त्यसलाई पार्टी कमिटीले स्वामित्व लियो भने मात्रै त्यो अन्तिम हुने हो । मेरो विचारमा त्यतातर्फ जाँदैन ।’

उनले राज्य चलाउने व्यक्ति जनताबाट निर्वाचित हुनुपर्ने र पार्टी चलाउने पार्टी कार्यकर्ताबाट निर्वाचित हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री फेर्ने कुरा राजनीतिक, सैद्धान्तिक, व्यवहारिक सबै रुपले एक प्रतिशत पनि उपयुक्त नरहेको बताए।

पुरा भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment