Comments Add Comment

कोरोना भाइरसको जोखिमका बेला दादुराको प्रकोप

१९ वैशाख, काठमाडौं । कोरोना संक्रमणको जोखिममा रहेकै बेला देशका विभिन्न स्थानमा दादुरा रोग फैलिएको छ । गत माघ महिनायता तीनवटा प्रदेशको सात जिल्लामा दादुरा रोगको प्रकोप देखिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार अहिलेसम्म झापा, सर्लाही, चितवन, काठमाडौँ, ललितपुर, धादिङ र गोरखामा गरी १८५ जनामा दादुरा संक्रमण देखिएको छ ।

झापाको दमकमा २१, सर्लाहीमा ६, ललितपुरको खोकनामा १८, धादिङको वेनिघाट र गजुरीमा गरी ११३, काठमाडौँको पेप्सीकोलामा १४, चितवनको राप्ती नगरपालिकामा ८ र गोरखाको गण्डकी गाँउपालिकामा ५ जनामा दादुरा देखिएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमले बताए । यीमध्ये धादिङमा दुई बालबालिकाको मृत्यु भएको छ ।

उनका अनुसार दादुराको संक्रमण देखिएकामध्ये ८५ प्रतिशत व्यक्तिले खोप पाएका छैनन् । बाँकी १५ प्रतिशत पनि पूर्ण खोपबाट बञ्चित छन् । तर संयोग यस्तो छ कि अहिले प्रकोप देखिएका सातवटै जिल्ला सरकारले पूर्ण खोप घोषणा गरेका जिल्ला हुन् ।

खोप शाखा प्रमुख डा. गौतमले ६ महिनादेखि ४० बर्षसम्मकोमा दादुरा देखिएको बताए ।

धादिङको बेनिघाट र गजुरीका विभिन्न स्थानमा यो भाइरसको प्रकोप देखिन थालेको तीन महिना भयो । एक ठाउँमा देखिएर नियन्त्रणमा नआउँदै अर्को ठाउँमा यसको प्रकोप देखिएको छ । गण्डकी गाउँपालिका ७ मा देखिएको संक्रमणमा ६ महिनादेखि १७ बर्षसम्मका बालबालिका परेका छन् । त्यसैले महामारीको रुप लिन सक्ने विज्ञहरुले बताइरहेका छन् ।

धादिङमा २० हजार बालबालिकालाई खोप दिइँदै

धादिङको बेनिघाट र गजुरीमा तीन महिनाको बीचमा तीन पटक प्रकोप देखिएपछि स्वास्थ्य सेवा विभागले विशेष खोप अभियान (आउटब्रेक रेस्पोन्स इमुनाइजेसन) शुरु गरेको छ ।

सो अभियान अन्तर्गत बेनिघाट र गजुरी गाउँपालिकाका ६ महिनादेखि १५ बर्ष उमेर समूहका २० हजार बालबालिकाहरुलाई मिजल्स र रुवेलाविरुद्धको खोप दिइन थालिएको छ । अभियानमा भिटामिन ए को औषधि समेत खुवाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment