Comments Add Comment

लकडाउनमा काठमाडौंमा एक लाखलाई खाना, ८० हजारलाई राहत

२० वैशाख, काठमाडौं । लकडाउन अवधि लम्बिएसँगै काठमाडौँ महानगरपालिकाले अतिविपन्न, असहाय र मजदुरलाई दैनिक खाना खुवाउने कार्यलाई निरन्तरता दिएको छ । महानगरपालिकाले आफ्नै स्रोत र विभिन्न सहयोगी संघ-संस्थाहरूको पहलमा अहिलेसम्म ८१ बढी हजारलाई राहत वितरण गरेको छ । त्यसैगरी, अहिलेसम्म करिब एक लाख जनालाई खाना खुवाएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

काठमाडौं‌ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले लकडाउनका कारण सिर्जना भएको जटिल परिस्थितिमा स्थानीय सरकारहरुले आ-आफ्नो क्षमताले भ्याएसम्म परिचालित भई राहत वितरण तथा खाना खुवाउनेलगायतका अन्य प्रयास गरिरहेको बताए ।

‘महानगरपालिका क्षेत्र भित्र रहेका असहाय, अतिविपन्न र बेरोजगारले खानाको अभावमा बस्नु नपरोस् भनेर राहत वितरणसँगै खाना खुवाउने कामलाई पनि निरन्तरता दिँदै आएका छौं,’ प्रमुख शाक्यले भने, ‘लकडाउनको अवधिमा कोही महानगरवासी भोकै परेको भए हामीलाई जानकारी दिनुहोला। हामी उहाँहरूको जिम्मेवारी लिन तयार छौ‌ँ ।’

उनले लकडाउनको अवधिमा कोही पनि भोकभोकै बस्नुपर्ने अवस्था नआओस् भनेर समस्यामा परेकाहरूलाई खानाको व्यवस्था गर्न केही परोपकारी संस्थासँग पनि सहकार्य गरेर खाना खुवाउने काम गरिरहेको जानकारी दिए ।

महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले पनि महानगरपालिका क्षेत्रभित्र कोही पनि भोकै नपरून् भन्ने उद्देश्यले राहत वितरणसँगै खाना खुवाउने कामलाई पनि निरन्तरता दिएको जानकारी दिए । ‘लकडाउन सुरु भएदेखि अहिलेसम्म महानगरपालिका आफैँ र विभिन्न सहयोगी दाताहरूको समन्वयमा करिब ८२ हजारलाई राहत वितरण गरेका छौँ,’ उनले भने, ‘अहिलेसम्म खाना खुवाएकाहरूको संख्या एक लाखको हाराहारी पुगेको छ ।  अधिकांश वडाले स्थानीय संघ-संस्था र सहयोगी दाताहरूसँग समन्वय गरेर खाना खुवाउने कामलाई निरन्तरता दिँदै आएका छन् ।’

केन्द्रलाई पठाएको तथ्यांकअनुसार अहिलेसम्म वडा नम्बर-६ ले मात्रै २५ हजार बढीलाई खाना खुवाएको छ। सिद्धार्थ हल कुमारीगाल, चुच्चेपाटीचोकलगायतका स्थानमा खानाको व्यवस्था गरिएको छ ।  त्यसैगरी वडा-१४ ले १९ हजार बढीलाई खाना खुवाएको छ । जागरणबस्ती सुधार संघ, सामुदायिक टोल सुधार समितिलगायतको समन्वयमा खाना खुवाउने काम भइरहेको वडाले जानकारी दिएको छ ।

वडा-३ ले पनि दैनिक दुई हजार बढीलाई खाना खुवाउँदै आएको जानकारी दिएको छ। वडासँग समन्वय गरे बोधिसतुवा बिहारले अव्यवस्थित बस्तीमा भएका परिवार, टिचिङ हस्पिटल महाराजगञ्ज र कान्ति बाल अस्पतालमा भर्ना भएका बिरामीका कुरुवालाई दैनिक खानाको व्यवस्था गर्दै आएको वडाध्यक्ष दीपक केसीले जानकारी दिए । त्यसैगरी, वडाकै समन्वयमा नारायण गोपाल चोकको एरिकल व्याङ्क्वेटको तर्फबाट होम बुढाथोकी र मेघा पार्टी प्यालेसले दैनिक खाना खुवाउने गरेका छन् । सामुदायिक सेवा केन्द्रबाट गंगालाल र न्युरो अस्पतालमा भर्ना भएका बिरामीका कुरुवाका लागि खानाको व्यवस्था गर्दै आएको छ ।

काठमाडौ‌ं महानगरपालिकाका प्रवक्ता समेत रहेका वडा-१५ का अध्यक्ष ईश्वरमान डंगोलले पनि आफ्नो वडामा दैनिक १६ सयको हाराहारीलाई एक छाक खानाको व्यवस्था गरेको जानकारी दिए । ‘अहिले वडा-१५ का भुइँखेल, चमती, बुद्धपार्क, जनगल्ली विजयश्वरी गरी चार ठाउँमा खाना खुवाउने काम भइरहेको छ,’ प्रवक्ता डंगोलले भने, ‘भोलिबाट अन्नपूर्ण चोक चक्रपथबाट सुरु गर्ने तयारी भएको छ । अहिले यी चार स्थानबाट लगभग १६ जनालाई दैनिक एक छाक खाना खुवाइरहेका छौँ।’ यी चार स्थानमा विभिन्न संघ-संस्थाले पनि खाना खुवाउनका लागि सहयोग गरिरहेको उनले जानकारी दिए ।

उनले वडाकै नेतृत्वमा धादिङ, मकवानपुरलगायतका स्थानबाट तरकारी ल्याएर उपभोक्तासम्म पुर्‍याउने काम भइरहेको पनि जानकारी दिए । ‘महानगरवासी कोही पनि भोकै नरहून् भनेर पहिलो चरणमा राहत वितरण गरेका थियौँ,’ उनले भने, ‘राहत वितरणमा भिडभाड हुनेलगायतका केही समस्या पनि भए । अब खान नपाउनेहरूलाई खाना पकाएर खुवाउने र सकेसम्म घर-घरमा प्याकिङ सिस्टमको व्यवस्था गर्नेसम्मका विषयमा पनि सोचिरहेका छौँ ।’

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा पनि महानगरपालिकाका विभिन्न स्थानमा सामूहिक मेस नै सञ्चालनमा रहेको छ । महानगरको वडा १६ अन्तर्गत बाइपासको तरुण मावि, गंगाहल नजिक होलीगार्डेन स्कुलसँगै, बाइसधारा स्विमिङ पुलको पछाडि बिहान बेलुकी खाना खुवाउने गरिएको छ । यस्तै, वनस्थली खरिबोट, सानोभर्‍याङ, म्हैपी मन्दिरको प्राङ्गण र नयाँबजारको सासा बैङ्क्विटमा बिहान बेलुकी नै खाना खुवाउने गरिएको मन्त्री मानन्धरले जानकारी दिए । महानगरको १७ नम्बर वडाको इन्द्रायणी मन्दिरमा पनि साँझको खाना खुवाउने गरिएको छ ।

वडा-१८ ले २ हजार र वडा-२७ ले ३ हजार बढीलाई खाना खुवाएको छ । वडा-५ ले पनि दुई हजार बढीलाई खाना खुवाएको जानकारी दिएको छ । वडा-८ ले पशुपति विकास कोषसँगको समन्वयमा ५ सय बढीलाई खाना खुवाएको छ ।  कोटेश्वर समाज सुधार युवा क्लव, सेती ओपी क्लब कोटेश्वरलगायतसँगको समन्वयमा वडा-३२ ले पनि ७ सय बढीलाई खाना खुवाएको जानकारी दिएको छ।  वडा-२२ ले पनि उपकार सेवा समितिको पहलमा न्युरोडमा एक सय बढीलाई खाना खुवाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment