Comments Add Comment

विश्व स्मार्टफोन बजारको प्रतिस्पर्धा : कोरोना महामारीका बीच एप्पलले बढायो बजार हिस्सा, सामसुङ पहिलो स्थानमा कायमै

कोरोना भाइरस महामारीले विश्व अर्थतन्त्रलाई थिलथिलो बनाइरहेको बेला स्मार्टफोन बजारमा नकारात्मक असर नपर्ने प्रश्नै भएन ।

इन्टरनेशनल डाटा कर्पोरेसनका अनुसार चालू वर्ष सन् २०२० को पहिलो त्रैमासिकमा विश्वमा स्मार्टफोनको बिक्रीमा गत वर्षको सोही अवधिको तुलनामा ११.७ प्रतिशतले गिरावट आएको छ ।

यद्यपि स्मार्टफोन बजारमा अग्रणी कम्पनीहरुको हिस्सेदारीको स्थान कायमै छ । तथापि पहिलो र दोश्रो स्थानमा रहेका सामसुङ र हुवावे कम्पनीले आफ्नो बजार हिस्साको केही प्रतिशत गुमाउनु परेको छ ।

आईडीसीको रिपोर्ट अनुसार विश्वको स्मार्टफोन बजारमा २१‍.१ प्रतिशत बजार हिस्सासहित सामसुङको पहिलो स्थान कायमै छ । जबकि सन् २०१९ को पहिलो त्रैमासिकमा सामसुङको बजार हिस्सा २३ प्रतिशत रहेको थियो ।

त्यस्तै दोश्रो स्थानमा रहेको हुवावेको बजार हिस्सा अहिले १७.८ प्रतिशत रहेको छ जुन गत वर्ष १८ दशमलब ९ प्रतिशत थियो ।

उता अमेरिकी कम्पनी एप्पलचाहिँ कोरोना महामारीका बीचमा विश्वको स्मार्टफोन बजारमा आफ्नो हिस्सेदारीलाई बढाउन सफल भएको छ । अहिले तेश्रो स्थानमा रहेको एप्पलको बजार हिस्सा १३.३ प्रतिशत रहेको छ । जबकी गत वर्ष एप्पलको बजार हिस्सा ११.८ प्रतिशत रहेको थियो ।

गत वर्षभन्दा बजार हिस्सामा बढोत्तरी गर्न सफल भएको अर्को चिनिया कम्पनी शाओमी चौथो स्थानमा रहेको छ । गत वर्ष शाओमीको मार्केट शेयर ८.९ प्रतिशत रहेकोमा यो वर्ष १०.७ प्रतिशत पुगेको छ ।

अर्को महत्वपूर्ण तथ्य के भने यो पटक चिनिया स्मार्टफोन ब्राण्ड भिभो पहिलोपटक टप फाइभमा पर्न सफल भएको छ । भिभोले विश्व स्मार्टफोन बजारमा आफ्नो हिस्सा ९ प्रतिशत पुर्‍याएको छ । जबकि अघिल्लो वर्ष उसको हिस्सेदारी जम्मा ७.४ प्रतिशत रहेको थियो ।

यी बाहेक अन्य विभिन्न ब्राण्डका स्मार्टफोनहरुले समग्रमा २८.१ प्रतिशत हिस्सा ओगटेका छन् ।

रिपोर्ट अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा सामसुङले कूल ५ करोड ८३ लाख गोटा स्मार्टफोन बिक्री गरेको छ । गत वर्षको सोही अवधिमा सामसुङले ७ करोड १९ लाख गोटा स्मार्टफोन बेचेको थियो । यस आधारमा सामसुङका स्मार्टफोनको बिक्रीमा यो त्रैमासिकमा १८.९ प्रतिशतले गिरावट आएको छ ।

त्यस्तै गत वर्षभन्दा १७.१ प्रतिशतको गिरावट व्यहोरेको हुवावेले यो त्रैमासिकमा ४ करोड ९० लाख स्मार्टफोन बिक्रि गरेको छ । गत वर्ष उसले ५ करोड ९१ लाख गोटा स्मार्टफोन बेचेको छ ।

स्मार्टफोनको बजार हिस्सा बढाउन सफल एप्पलले सन् २०२० को त्रैमासिकमा झण्डै गत वर्षको सोही अवधिमा जत्तिकै स्मार्टफोन बिक्रि गर्न सफल भयो । सन् २०१९ को पहिलो त्रैमासिकमा ३ करोड ६८ लाख स्मार्टफोन बेचेको एप्पलले यो वर्षको सोही अवधिमा ३ करोड ६७ लाख स्मार्टफोन बेचेकेा छ । अन्य ब्राण्डका स्मार्टफोनको बिक्रीमा यस अवधिमा भारी गिरावट आएको बेला एप्पलका स्मार्टफोनको बिक्रिमा चाहीँ जम्मा ०.४ प्रतिशतले गिरावट आएको छ ।

यस त्रैमासिकमा शाओमीले २ करोड ९५ लाख तथा भिभोले २ करोड ४८ लाख गोटा स्मार्टफोन बिक्रि गरेका छन् । उल्लेखनीय त के भने यी दुई चिनिया कम्पनीले यस अवधिमा गत वर्षको पहिलो त्रैमासिकमा भन्दा बढि स्मार्टफोन बेच्न सफल भएका छन् । गत वर्षको पहिलो त्रैमासिकमा भन्दा यो पटक शाओमीको बिक्रि ६.१ प्रतिशत तथा भिभोको बिक्री ७ प्रतिशतले बढेको छ ।

त्यस्तै अन्य विभिन्न ब्राण्डका गरी यस त्रैमासिकमा कूल ७ करोड ७५ लाख थान स्मार्टफोन बिक्रि भएको तथ्यांक छ ।

यसैगरी फाइभ जी स्मार्टफोन बजारमा समेत सामसुङ पहिलो स्थानमा रहन सफल भएको छ । रिपोर्ट अनुसार सन् २०२० को पहिलो त्रैमासिक सम्ममा सामसुङको फाइभ जी स्मार्टफोन बिक्रिको संख्या २ करोड ४० लाख पुगेको छ ।

क्तचबतभनथ ब्बिगितष्अक ले तयार पारेको रिपोर्ट अनुसार गत वर्षको तुलनामा यस त्रैमासिकमा फाइभ जी डिभाइसको माग अत्यधिक बढेको छ । चीनमा फाइभ जी स्मार्टफोनको माग सबैभन्दा धेरै रहेको बताइएको छ । फाइभ जी स्मार्टफोनको बजारमा समेत सामसुङ पछि दोश्रो स्थानमा चिनिया कम्पनी हुवावे रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment