Comments Add Comment

थलिएकाे सेयर बजारलाई कसरी उकास्ने ?

कोरोना भाइरस (कोभिड-१९) को महामारी सुरु भएसँगै सबै देशमा सञ्चालित सेयर कारोबारहरू ओरालो लाग्न थाले। कोरोनाको आतंक सामान्य अवस्थाबाट विश्वभरि जटिल बन्दै गएपछि विश्वका धेरै मुलुकहरूले लकडाउनको अस्त्र प्रयोग गरे । खोप पत्ता नलागिसकेको अवस्थामा संक्रमणबाट बच्न लकडाउन मात्रै एकमात्र विकल्प भएपछि विश्वका धेरै मुलुकहरूले नचाहेर पनि लकडाउनमा जाने निर्णय गर्यो ।

वस्तु ओसारपसार र मानिसको आवागमन ठप्प भएसँगै सेयर बजारले पनि अनिश्चितकालको लागि विश्राम लियो ।

नेपालमा चैत्र १० गतेबाट बन्द भएको सेयर बजार क्रमश: थपिदै वैशाख २५ गतेसम्म पुगिसकेको छ । ४५ दिन लगातार सेयर बजार बन्द हुँदैगर्दा लगानीकर्तामा छटपटी बढ्दै गएको छ । लकडाउनमा गएका कतिपय देशमा सेयर बजार खुल्न सुरु भएका छन् ।

नेपालको बन्द सेयर बजारप्रति अन्तर्राष्ट्रिय चासो पनि बढ्न थालेपछि लगानीकर्ता, ब्रोकर, नेप्से र नियामक निकाय पनि सक्रिय हुन थालेका छन् । सबैजसो सेयर बजार खोल्नुपर्छ भनी लबिङमा लागेको पाइन्छ ।

लगानीकर्ताको मानसिकता
सेयर बजारमा करिब-करिब १८ लाखभन्दा बढी सेयरधनीको लगानी छ । संख्याको हिसाबले ९० प्रतिशतभन्दा बढी साना लगानीकर्ताहरू छन् । साना-साना पुँजी सेयरमा लगानी गरी नाफा कमाउने र खाँचो परेको बेला बेचेर काम चलाउने प्रकृतिका लगानीकर्ता बढी छन् ।

पटक-पटकको लकडाउन थपिएसँगै तीनमा छटपटाहट बढ्दै गएको छ। उद्योग व्यवसाय सबै बन्द छन् । अधिकांश व्यवसायीको केही न केही सेयरमा लगानी छ । नगद प्रवाह नभएको अवस्थामा सोही सेयर बिक्रीगरी काम चलाउन खोज्नेको पनि हात बाँधिएको छ । त्यसैले सबैको ध्यान सेयर बजारतिर छ ।

अहिले सेयर बजार खोल्ने र नखोल्नेबीचको बहस व्यापक हुँदैगएको छ । सेयर बजारका पण्डितहरू, ब्रोकरहरू, ठूला लगानीकर्ताहरू कसैगरी पनि बजार खोल्नुपर्छ भन्ने लबिङमा छन् । फागुनमा इन्डेक्स १६३२ हुँदा सेयर बेचेर बसेकाहरू घटेको बजारमा किन्ने दाउमा छन् ।

कोरोनाको त्रासमा बजार लकडाउन अघि १२५१ पुगेको र खुलेपछि पुन: घट्ने अनुमान गरेकाहरू जसरी पनि बजार खोलाउन मरिहत्ते गरिरहेका छन् । ठूला लगानीकर्ता जो उद्योगी व्यवसायी पनि छन् तीचाहिँ बजार खुलेपछि सेयर बाँकी गरी आफ्नो खर्च धान्न र व्यवसायको चालू पुँजी जोहो गर्ने सुरमा छन्।

खरिद बिक्री दुवैमा कमिसन कमाउने ब्रोकरहरूको आम्दानी शून्य भएकोले उनीहरूलाई निन्द्रा लाग्न छोडेको छ । यस्तो अवस्थामा उनीहरू पनि कसैगरी बजार खोल्ने लबिङमा लाग्नु स्वभाविकै हो ।

ठूला लगानीकर्ता, सेयर पण्डित, ब्रोकर तथा अन्तर्राष्ट्रिय दबाबको अगाडि नेप्से र नियामक निकाय सरकारको स्पष्ट निर्देशन नआएका कारण असहाय देखिन्छन् । तर पनि फेस सेभिङका लागि बजार खोल्नेहरूको कित्तामा उभिएका छन् ।

तर, अर्कातिर रहेका लाखौं साना लगानीकर्ता जो जहिले पनि बढ्दो बजारको लोभमा परेर उच्च दरमा सेयर किन्ने गरेका छन्। ती सबै एकदम त्रासमा छन्।

देशको समग्र अर्थ व्‍यवस्था ध्वस्त भएको बेला बजार खुलेमा बढ्ने सम्भावनाप्रति विश्वस्त नभएका ती साना लगानीकर्ताहरू काहीँ बजार क्र्यास भएर आफ्नो पुँजी नै डुब्ने त हैन भन्नेमा भयभीत छन् । त्यसैले केही ठोस संकेत नआई लकडाउनभरि बजार खुल्नु हुँदैन भन्ने मानसिकतामा छन्।

बजार खोल्नुपर्छ भन्ने तर्कहरू:-
ठुला लगानिकर्ता,ब्रोकर, नेप्से, नियमक निकाय समेत बैशाख २५ पछि लकडाउन होस् या नहोस् जुन अवस्थामा भए पनि निम्न कारणले सेयर बजार खोल्नुपर्छ भनिरहेका छन् ।

१) बजार खुलेपछि संक्रमणको अवस्थामा पनि लगानी गर्ने उपयुक्त स्थान सेयर बजार नै भएकोले लगानीकर्ताहरू उच्च मनोबलका साथ खरिद बिक्रीमा लाग्ने।

२)विश्व परिवेशमा लकडाउनपछि खुलेका अधिकांश देशका सेयर बजार बढेको छ भने नेपालको बजार पनि बढ्‍ने सम्भावना देखिन्छ।

३)नेपालको सेयर कारोबारको ८० प्रतिशतभन्दा बढी हिस्सा बैङ्क, विकास बैङ्क, लघुवित्त, वित्त कम्पनी, बिमा कम्पनीहरूको रहेको छ । यी सबै नाफामा रहने भएकोले बजार घट्ने सम्भावना नरहेको देखिन्छ।

४) कोरोनाको प्रारम्भसँगै फागुनको मध्यतिर रहेको सेयर इन्डेक्स १६३२ र कारोबार रकम चार अर्ब ८४ करोड थियो । कोरोना असर बढ्दै जाँदा घटेर १२५१ र रकम १९ करोड ४६ लाख भइसकेकोले कोरोना करेक्सन पहिले नै भइसक्यो । अब पुन: घट्ने सम्भावना नरहेको ।

५) लकडाउन अवधिमा कर्जा प्रवाह नभई बैङ्कहरूमा तरलता बढ्ने र बढेको फण्ड सजिलो, छिटो र सुरक्षित तरिकाले कर्जा प्रवाह गर्ने क्षेत्र सेयर नै भएकोले थप कर्जा प्रवाह हुने ।

६) विगतको इतिहास हेर्दा पनि बियरिस ट्रेण्डपछि बुलिस ट्रेण्ड आउने भएकोले अब बजार बढने सम्भावना रहेको छ ।

७) अर्थतन्त्र सोचनीय अवस्थामा भएकोले सेयर बजारप्रति सरकारको पनि सकारात्मक प्रयास रहने र संस्थागत लगानीकर्ता पनि प्रवेशगरी बजारलाई तल आउन नदिने ।

बजार खोल्न हुन्न भन्नेपछिका तर्कहरू
कोरोना समस्याको प्रभावकारी र ठोस व्यवस्थापन नगरी बजार खोल्दा क्र्यास हुने सम्भावना र यसबाट लाखौं सोझासाझा लगानीकर्ताको लगानी डुब्ने डरलाई पनि विचार पुर्‍याउनु जरुरी छ ।

१) भारतलगायत विकसित देशको सेयर बजार पूर्णत: स्वचालित भई सकेको र घर-घरबाट कारोबार गर्नसक्ने भएकोले लकडाउनमा पनि कारोबार सञ्चालन गरेको पाइन्छ। हामी कहाँ सेयर अर्डर र इडिआईएसबाट सेयर ट्रान्सफरबाहेक सबै म्यानुअल तरिकाले सम्बन्धित कार्यालयमा गएर गर्नुपर्ने भएकोले लकडाउन हुन्जेल कारोबार गर्न गराउन सम्भव नै नहुने ।

२) अमेरिका भारतलगायत धेरै देशले कोरोनाका कारण ध्वस्त अर्थव्यवस्थालाई पुनरोत्थान गर्न राज्यको ढुकुटीबाट अर्बौं खर्बौं स्टिमुलस(नगद) लगानी गर्ने घोषणा गरे । लकडाउनपछि बजार खोल्दा इन्डेक्स बढेको देखियो । भारतीय रिजर्भ बैङ्कले ५० हजार करोड, अमेरिकाले एक खर्ब डलर, मलेसियाले ४.६ अर्ब डलर, टर्कीले १५.४ अर्ब डलर, इटालीले २७.३ अर्ब डलर जस्तै प्राय: धेरै देशले उद्योग व्यवसाय र बेरोजगारलाई राहत दिने भएका छन्।

हामी कहाँ लकडाउन भएको ४० दिन भइसक्दा पनि सरकार र केन्द्रीय बैङ्क उद्योग व्यवसायका साथै पीडित वर्गलाई बचाउन राहतको ठोस कार्यक्रम र थप लगानीको घोषणा गर्न सकेका छैनन् । अनि के आशमा बजार खुलेपछि बढने हो ? क्यास नै हुने धेरै सम्भावना रहेको देखिन्छ।

३) शेयर कारोबार पोर्टफोलियोको ८० प्रतिशत बैकं,बिकास बैकं, फाईनान्स कंपनि, लघु बित्त, र बीमा कंपनिक‍ो छ।अहिले सम्म हेर्दा सुरक्षित देखिन्छन।सबैको अनुमान बजार खुल्दा यी कंपनिको शेयर मूल्य घटदैन।११ चैत्रबाट लकडाउन भएकोले पहिलेको मुनाफा र प्रोभिजनमा चलखेल गरि तेश्रो क्वाटरको बैलेन्सिट राम्रो अाउला।तर ऋणको ब्याज दर कटौती, शून्य सावा ब्याज असुलि,अन्य जिरो अामदानी र लकडाउन पछिको चेन असरले २०७७ अाषाढमा प्रोभिजनमा चलखेल गरिएन भने सबैको बित्तिय अवस्था नाजुक हुने निश्तित छ।तेसैले २०७६ चैत्रको बासलात हेरि शेयर खरिद गर्ने सबै फस्ने पक्का छ।अनि खुलेको बजारमा टाठा बाठा बिक्रि गरि निस्कने र फस्ने चाहिँ उहीँ स‍ोझो साना लगानिकर्ता नै हुने ।

बजार खुलाउने र टिकाउने उपायहरु
सेयर बजारमा मागं र आपुर्तिले कारोबारको मात्रा र ईण्डेक्सलाई निर्धारण गर्ने हो । मांग राम्रो हुनलाई कम्पनीको परफरमेन्स,ईमेज र प्रतिफल राम्रो हुनु जरुरी छ । पुँजीं बजार प्रति नियमक र सरकारको सकारात्मक सोच र सोही अनुसार नीति र कार्यक्रम आउनु पर्छ ।

अनि समग्रमा देशको अर्थतन्त्रको भबिष्य राम्रो देखिनु पर्छ । बिकसित मुलुक जस्तो सेयर बजार हामी कहाँ अझै परिपक्व हुन सकेको छैन ।

नियमक निकाय र मन्त्रीहरुले न सोचेर जे पनि बोलिदिने, कम्पनीहरुको भित्रि सुचनाको गलत तरिकाले प्रयोग हुने,सेयर खेलाडिहरु नै संचार माध्यममा बनावटि समाचार निकाल्न लगाई सेयर कारोबारलाई प्रभावित गर्ने कार्य हामी कहाँ सामान्य कुरा भैसकेको छ ।

त्यसैले यी सबै कुराहरुलाई बिचार गरि लकडाउन खुले पछि मात्र निम्नानुसार वातावरण नि बनाउदै जाने र सुरुमा सिमित कारोबार गर्दै लगानिकर्ताको मनोबल बढाउदै कारोबार बृद्धि तर्फ लाग्नुमा नै सबैको हित छ ।

१) केन्द्रीय तथ्याकं विभागले हालै मात्र ८ प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष कोरोनाको कारण २.२७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । भन्नुको अर्थ कृषि बाहेक सबै क्षेत्र गंभिर संकटमा पर्ने देखिन्छ ।

कोरोना प्रभावित देशले अर्थतन्त्र उकास्न जिडिपिको १४ प्रतिशत सम्मको स्टिमुलस लगानि गरेका छन । नेपालले पनि कुल जिडिपि ३२ खर्ब ९ अर्बको ३ प्रतिशत बराबर १ खर्बको राहत प्याकेज बैंक, उद्योग ब्यवसाय, बेरोजगार ब्यक्ति,कृषक र श्रमिकको लागि घोषणा गर्नु पर्छ । यसले लकडाउन पछि खुल्ने सेयर बजारलाई उकास्न मद्दत गर्छ ।

२) सेयर कारोबार पुर्णत स्वचालित गर्ने भनेको पनि लामो समय भैसक्यो । अब निस्चित समय तोकेर बैंक, ब्रोकर, लगानिकर्ता, डिपि, सिडिएससि र क्लियरिङ बैंक खातासँगको ईन्ट्रेगेशन छिटो गर्ने र आईपियस भुक्तानिको सिमा बढाउन प्रयास गर्ने ।

३) सबै लगानिकर्ताको मेरो सेयरमा खाता खोल्न लगाउने र खाता हुनेको रु १०० लिएर गरिने नबिकरण यो पटकलाई स्वतःगर्ने वा आषाढ भित्र शुल्क लिने गरि गर्ने ।

४) सेयर कारोबार बढाउन बैंक कर्जाको ठूलो भुमिका हुन्छ । ६५ प्रतिशत सम्म कर्जा र २० प्रतिशत घटदा सम्म मार्जिन कल नगर्ने ब्यवस्था रहेको छ । सेयर कर्जाको जोखिममा बैंकलाई पनि सुरक्षित राख्ने गरि हालको सेयर मुल्यको रकममा सावा ब्याज गरि ८० प्रतिशत भित्र हुने गरि नबिकरणको सुबिधा दिनु पर्ने । थप सेयर कर्जा दिन नेराबैंकले सरल प्रक्रियाको निर्देशन जारि गर्नु पर्ने ।

५)बिकसित देशमा नगद लाभाशंले सेयर मूल्य बढछ भने हामी कहाँ बोनस सेयरले बजार बढाउछं । कोरोनाको असरबाट बैंकिङ क्षेत्रको वित्तीय संतुलन कायम राख्न तथा तरलताको कमि हुन नदिन भारतको केन्द्रीय बैंकले नगद लाभाशंमा रोक लगाई सक्यो ।

नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा, बीमा समितिले बीमा कम्पनीमा र सरकारले दुरसञ्चार, नागरिक लगानि कोष लगायतमा नगद लाभाशं बितरणमा रोक लगाउनु पर्छ । बोनस सेयरको आशामा बजार घट्न पाउदैन ।

६) लकडाउन पछि सेयर बजार पुर्ण रुपमा खोल्दा कोरोनाको भयावह असरको कारण अझै क्र्यास हुने ठूलो संभावना छ । संकटको अवस्थामा नियन्त्रित कारोबार गर्नु उत्तम हुन्छ । अतः पहिलो हप्ता १ घण्टा कारोबार समय र एक ब्यक्तिले प्रति कम्पनी ५०० कित्ता खरिद बिक्रि गर्ने, दोश्रो हप्ता २ घण्टा १००० कित्ता, तेश्रो हप्ता ३ घण्टा ३००० कित्ता र चौथो हप्ता देखि पुर्णकालिन खोल्दा असर कम हुँदै जान्छ र संभावित क्र्यासलाई रोक्न नि सकिन्छ । १० प्रतिशतको सर्किट ब्रेकरलाई केहि समय ५ प्रतिशतमा राखि अनुगमन र नियन्त्रण गर्न सकिने ।

७) सेयर बजारमा लगानिकर्ताको मनोबल उठाउन र बजारलाई गिर्नबाट जोगाउन संस्थागत लगानिकर्ता, डिलर, मार्केट मेकर, म्यचुअल फण्ड, बीमा कम्पनी,संचयकोष लगायतलाई लगानि गर्न प्रोत्साहन गर्ने तथा सरकार र राष्ट्र बैंकले नीति नियम बनाउदा सेयर बजारलाई सपोर्ट हुने गरि बनाउने र सकारात्मक रुपमा सार्बजनिक धारणाहरु राख्ने ।

८) सरकारको राजस्वको श्रोत कम हुँदै गएको छ । पुँजीगत लाभ कर घटाउन न सकिए पनि ब्यक्तिगत लगानिकर्ताको अग्रिम काटिएको करलाई अन्तिम मानिने ग्यारेन्टि गर्दा पनि लगानिकर्ताको मनोबल बढने देखिन्छ ।

यसरी समग्रमा भन्नु पर्दा देशको ढुकुटिबाट उद्योग ब्यवसाय, बैंक र अन्य क्षेत्रलाई ठोस राहतको घोषणा गरि शुरुको केही दिन नेप्सेमा नियन्त्रित कारोबार गरि क्रमशः बढाउदै लग्दा क्र्यास हुनबाट जोगांउछ र लगानिकर्ताको मनोबल पनि बढि सबैको हित हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment