Comments Add Comment

किट सकिएपछि रुपन्देहीको कोरोना परीक्षण काठमाडौंमा

२२ वैशाख, बुटवल । किट अभावमा भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आइतबारदेखि कोरोनाको प्रयोगशाला परीक्षण रोकिएपछि स्वाब संकलन गरेर काठमाडौं पठाउन थालिएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख डा. उमाशंकर चौधरीले स्वाब संकलन गरेर काठमाडौं पठाइएको बताए ।

‘भेरी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रयोगशालामा किट सकिएको छैन, भैरहवाको मात्रै सकिएको हो’ उनले भने, ‘भैरहवामा किट नभए पनि थ्रोट स्वाब लिने काम रोकेका छैनौं, संकलित स्वाब काठमाडौं पठाएर परीक्षण भइरहेको छ ।’

डा. चौधरीले भैरहवाका लागि केन्द्रसँग एक हजार थान किट माग गरिएको र आज-भोलिमै आइपुग्ने दाबी गरे । प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले भने छिटोभन्दा छिटो किट पठाइदिन केन्द्रमा पहल भएको तर यकिनका साथ कहिले आउँछ भन्न नसकिने बताए ।

‘हामीले पहल गरिराखेका छौं तर बजारमा अभाव छ,बाहिरबाट आउने हो’ डा. गिरीले भने । कोरोना भाइरस जाँचका लागि आवश्यक पर्ने ‘आरएनए एक्स्ट्रयाक्सन’ किट सकिएपछि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आइतबारदेखि पीसीआर जाँच रोकिएको हो ।

शनिबार मात्रै रुपन्देहीको कोटहीमाई-१ का कोरोना संक्रमित युवकको दाइ र साथीको परिवारका १० जनाको पीसीआर जाँच गरेसँगै किट सकिएको थियो ।

चैत २३ गतेदेखि सञ्चालनमा आएको प्रयोगशालामा एक महिनामै किट सकिएको हो । यो प्रयोगशालामा हालसम्म तीन सय ३४ जनाको कोरोना परीक्षण भएको छ ।

विश्वव्यापी कोरोनाको संक्रमण फैलिएसँगै प्रदेश ५ मा भारतसहित विभिन्न मुलुकबाट दुई लाखभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । उनीहरूमध्ये साढे दुई प्रतिशतको मात्रै कोरोना परीक्षण गरिएको र पाँच प्रतिशत अर्थात् करिब १२ हजार मात्रै क्वारेन्टाइनमा बसेका छन् ।

हालसम्म प्रदेशमा पीसीआर र आरडीटी गरी ५ हजार जनामा परीक्षण गरिएको चौधरीले बताए । जोखिमयुक्त मुलुकबाट आएकाले स्वदेश फर्केका सबैको कोरोना परीक्षण गर्नुपर्ने हुन्छ । तर, किट अभावमा परीक्षणको अवस्था नाजुक रहेको सरकारी अधिकारी नै स्वीकार्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment